१० वर्षमा १० हजार मेगावाट कसरी सम्भव छ ?

सडक सञ्जाल र जलाशय आयोजनामा सामाञ्जस्यता नभए सडक डुबानमा पर्छन्ः इपान पूर्व अध्यक्ष खड्गबहादुर बिस्ट
निर्माण सञ्चार, काठमाडौँ । निजी क्षेत्रको उत्साहप्रद उपस्थितिले नेपालको जलविद्युत् क्षेत्रमा नयाँ आयाम नै थपेको छ विशेष गरी यो पछिल्लो दशकको परिणाम हेर्दा । हिउँद याममा पनि लोडसेडिङको अन्त्य हुने उचाइसम्म प्राधिकरणलाई प्राधिकरणले पुराएको हैन, निजी क्षेत्रले नै हो ।

यद्यपि अबका केही महिना हुँदै वर्षभित्र भित्रिने माथिल्लो तामाकोसी लगायत योजनाहरुले खपत वृद्धि गर्ने हैसियतसम्म नेपाली विद्युत् उद्योगलाई पुराउने निश्चित छ । लोडसेडिङ व्यवस्थापनले मात्रै उद्योग, व्यापारदेखि सर्वसाधारणको जीवन पनि ‘इनर्जी’ बेगर सम्भव छैन भन्ने पुष्टि गरिदिएको छ ।

राज्यको वार्षिक प्रतिव्यक्ति आय बढाउने लक्ष्यदेखि, औद्योगिक क्षेत्रबाट जिडिपीमा योगदान थप्ने जस्ता विकासका इन्डिकेटरहरुको उचाइ पनि ‘इनर्जी’ बेगर अब सम्भव रहेछ भन्ने व्यवहारले पुष्टि भएको दशकका रुपमा यो दशक गणना हुन्छ ।

नेपालको विद्युत् अब ‘स्वर्णयुगतिर’ संक्रमित भइरहेको छ । १० वर्षमा १० हजारदेखि १७ हजार मेगावाटसम्मको सपना जागेका यी वर्षहरुले ऊर्जा खपत, ऊर्जा व्यापार जस्ता कन्सेप्ट सतहमा ल्याएको छ । यी सबै योजना एउटै भिजनबाट गाइडेड हुने खाका हो ‘ऊर्जा सुरक्षा’ । यसबारे इप्पानका पूर्व अध्यक्ष तथा विद्युत् उत्पादक साथै विद्युत्विद् बिस्टको भनाइ छ–

ऊर्जा सुरक्षा भनेको धेरैका धेरै थरी व्याख्या हुन सक्छन्, तर नेपालका हकमा भन्नुपर्दा ३/४ आयामबाट सोच्नु पर्ने हुन्छ ।

पहिलो, जलविद्युत्को प्रचुर उत्पादन, दोस्रो, विद्युतीय ऊर्जाबाट आयातीयत पेट्रोलियमको सकेसम्मको दरमा प्रतिस्थापन, इनर्जी भण्डारण अर्थात् पेट्रोलियमको कम्तीमा ३ महिनासम्म थेग्ने भण्डारण जस्ता कोणहरुबाट हेरिनु पर्छ ।

पेट्रोलियम आयात पनि अब एक मुलुकभन्दा बढी मुलुकबाट हुनु पर्छ भन्ने कुरा यहाँ छुट्नु हुँदैन ।

नेपालका लागि ऊर्जा सुरक्षाका प्रमुख पक्षहरु यिनै हुन् ।

१० वर्षमा १० मेगावाट कसरी सम्भव छ ?

सन् ०१५ को नाकाबन्दी, इप्पानको जोडदार आवाज र ऊर्जा मन्त्रालयको नेतृत्वमा ०७२ फागुनमा ऊर्जा सुरक्षा अवधारणामा आधारित १० वर्षीय कार्यक्रम आएको छ ।

पछि कसैले १७ हजार त कसैले २० हजार भनेपनि, १० हजारको खाका नै आजका दिनसम्म उत्पादन हुन सक्ने सबैभन्दा पूर्णता पाएको खाका हो ।

जहाँसम्म सम्भव कसरी भन्ने प्रश्न छ, अहिले ३५ सय मेगावाटको निर्माण भइरहेको प्र्रगति, पाइपलाइनमा रहेका अन्य योजनाहरु हेर्दा सम्भव देखिन्छ ।

बूढीगण्डकी, भेरी, नलगाड जस्ता आयोजना निर्माणमा गएभने यसले जलाशयमा पनि फड्को मार्ने छ र यो सम्भव छ ।

जलाशययुक्त आयोजनाको दीर्घकालीन कार्यान्वयनमा तपाईंको भिजन के हो ?

सन् ०३० सम्म उत्पादनको करिब आधा हिस्सा जलाशयले ओगट्न पर्छ । जलविद्युत आयोजना र सडक सञ्जाल विस्तार योजनामा सामाञ्जस्यता नभएकाले अब बन्ने जलाशयले सडक डुबानमा पार्ने छन् ।

तर, ऊर्जा सुरक्षा र राष्ट्रका लागि यो निर्णय लिन अब जरुरी देखिन्छ । किनकि अब फेरि पनि ऊर्जा नाकाबन्दी हामी सहन सक्तैनौं । गृहकार्य जरुरी छ ।

ऊर्जा पूर्वाधार निर्माणमा नेपालको निर्माण जगत्को हैसियत कस्तो देखिन्छ ?

आजसम्मको अवस्था हेर्दा नेपालको निर्माण जगत्ले ठिकै खालको प्रस्तुति दिन सकेको छ । १०० मेगावाट र त्यो भन्दा ठूलो आयोजना बनाउन अन्तर्राष्ट्रिय स्तरका निर्माण कम्पनी नै चाहिने अवस्था छ ।

नेपालले आफ्नै क्षमता बढाउन जरुरी छ त्यसका लागि विदेशी र स्वदेशी कम्पनी साझेदारीलाई बाध्यात्मक नै बनाउनु पर्छ ।

निर्माण क्षेत्रमा हुर्किरहेको गुणगिरी र अपराधलाई इ–बिडिङ र अरु प्रविधिले निराकरण गर्न सक्नु पर्छ । नेपालमा १० वर्षमा १० हजार मेगावाट विद्युत् सम्भव छ ।

 

साभारः निर्माण बिम्ब राष्टिय मासिकबाट

...

बुधबार ९, फागुन ०७४

 

प्रतिक्रिया

Related