कसरी बनाउने सुरक्षित घर ?

थाहा छ कसरी हुन्छ नक्सा पास ? जग हाल्न कस्तो कुरामा दिनुपर्छ ध्यान ?
निर्माण सञ्चार, काठमाडौँ | भूकम्प गएको झण्डै ३ वर्ष भइसकेको छ । तर, भूकम्पपीडित भने कसरी सुरक्षित घर बनाउने, जग कसरी हाल्ने भन्ने विषयमा अझै अन्योलमै देखिन्छन् ।

अधिकांश पीडितले सरकारले दिएको अनुदान सोही समस्याले गर्दा घर बनाउनका लागि खर्च गर्न सकिरहेका छैनन् ।

बिना जानकार घर बनाउँदा कतै ०७२ वैशाखकै अवस्था दोहोरिने त हैन भन्ने पीडितलाई लागेको छ । यसकारण प्राविधिक रूपमा सन्तुलित, बलियो र सुरक्षित घर निर्माण गर्नेतर्फ सबैको चासो बढेको छ ।

सरकारले दस वर्ष अघि नै भवन संहिता लागू गरेता पनि अत्यन्त थोरै मानिसले मात्रै सो संहिता कार्यान्वयन गरेको पाइन्छ । त्यसपछि, सरकारले भूकम्पलगत्तै नयाँ भवन संहिता लागू गरेको छ ।

भवन निर्माण गर्दा भवन संहिताका शर्तहरू पालना गरेर घर बनाउनु अनिवार्य समेत गरिएको छ । नयाँ संहिता लागू भएपछि पनि आम मानिस अझै यस विषयमा अनविज्ञ छन् ।

दुरदराजका गाउँठाउँमा भने प्राविधिक अनुगमनका लागि इन्जिनियरहरु समेत नपुगेको अवस्था छ ।

यी कारणले गर्दा पीडितहरुमा कसरी जग्गा छनोट गर्ने, नक्सा कसरी पास गर्ने, जग कसरी हाल्ने भन्ने विषयमा अन्योलता रहेको छ । प्राविधिक सल्लाहसहित मापदण्डअनुसारको आवास बनाउन अति आवश्यक हुन्छ ।

घर पटक–पटक बनाइ नरहने हुँदा लामो समयसम्म टिकाउ हुने बलियो जग, गाह्रो भएको घर बनाउन सक्नुपर्दछ ।

 कसरी बनाउने सुरक्षित घर ?

सर्वप्रथम घरको नक्सा बनाउँदा लम्बाइ, चौडाइ र उचाइको अनुपात मिलाउनुपर्छ । थोरै जग्गामा अग्ला घर बनायो भने भुइँचालोको सानो झट्काले पनि भत्किन सक्छ ।

मापदण्डअनुसार कुनै ठाउँमा पनि घरको चौडाइको साढे दुई गुणाभन्दा ठूलो घर बनाउन पाइन्न ।

सो नियमअनुसार जतिसुकै बलियो संरचना बनाए पनि १२ फिट चौडाइ जग्गा छ भने तीनतलेभन्दा ठूलो बनाउनु पनि धरापै हुन्छ । नगरपालिकाले उक्त प्रवृत्तिमा बन्देज लगायता पनि कार्यान्वयन भने हुन छैन ।

घरमा कम्तीमा दुईवटा मूलढोका हुनुपर्छ । त्यहाँसम्म पुग्ने बाटो फराकिलो र सुरक्षित हुन जरुरी छ । भर्याङ जहिल्यै फराकिलो र बलियो बनाउनुपर्छ ।

 कस्तो बनाउने जग ?

के–के कुरामा हुनुपर्छ ध्यान ? जग बलियो हुनुपर्छ भन्ने विषयको ज्ञान सबैलाई छ । तर, कस्तो जग बलियो भन्ने विषय अतयन्तै जटिल छ ।

पिलर सिस्टमको घरमा कति गहिरो जग बनाउने, कत्रो हात्तिपाइले (पिलर सिस्टम) बनाउने डन्डी कसरी बाँध्नेजस्ता निर्णय असाध्यै जटिल छ । हचुवा भरमा गहिराइ, लम्बाइ, चौडाइबारे भन्न सकिन्न ।

जग खन्दा भेटिने माटोको प्रकार, घरको तल्ला, पिलरको आकार, लम्बाइ, चौडाइको आधारमा गहिराइ निर्धारण हुन्छ । घरको प्रयोजन के हो त्यसलाई पनि ध्यान दिनुपर्छ ।

उत्रै आकारप्रकारको आवासीय घर र विद्यालय भवनको जगको गहिराइ तथा अरू सामान भिन्न हुन्छ ।

आवासीय प्रयोजनका लागि बनाइने दुईतले घरको जग माटोको प्रकारअनुसार ३ देखि ५ फिटसम्म भए पुग्छ ।

पिलर सिस्टमको घरको जग हात्तीपाइले हो । डन्डीको जाली बुनेर ढलाइ गरेर हात्तीपाइले बनाइन्छ। हात्तीपाइलेको लेभल जहिले पनि एक सय असी डिग्रीमै हुनु आवश्यक छ ।

कस्तो जमिनमा बनाउने घर ?

भुँइचालोले जमिन नै थरकाउने भएकाले जमिन नै बलियो हुन जरुरी छ । आफूले आवास निर्माण गर्न लागिएको जमिन कतिको बलियो छ, कस्तो ठाउँमा छ, यस्ता कुरा थाहा पाउन अत्यन्त्रै जरुरी हुन्छ ।

जमिन फरक– फरक किसिमका हुने हुँदा पानि नजम्ने जग्गा हुनुपर्ने बताउँछन्, स्ट्रक्चरल इन्जिनियर सञ्जीव रोकाहा

भिरालो, पहिरो जाने खालका जग्गा तथा खोलका बगरमा घर बनाउनु अनुपयुक्त हुने भन्दै रोकाहाले जग्गाका आधारमा जग बलियो हुने/नहुने निर्धारण हुने बताए ।

 कस्तो छ कृषकको बुझाइ ?

घर कसरी बनाउने भन्ने प्रश्नमा काभ्रे पाँचखालका हिरानाथ अधिकारी भन्छन्, ‘पहिला जगको लम्बाइ नट गरेर ३/३ फिट राखेर सिमेन्टले प्लास्टर गरी फलामको अंकुसे पारेर तारले बाँधी डिबिसि गनुपर्छ ।’

त्यसपछि २/२ वटा फलाम तेर्साएर बिचमा फलाम अंकुसे पारेर राख्नुपर्छ र ठाडो पारेर रड हाली माथि मुसी/घ्याल्चीलाई क्याप्चर गरेर गेयर गनुपर्छ ।

‘ढोकालाई पनि फलाम अंकुसे पारेर बलियो गरेर बाँध्नुपर्छ’ अधिकारिले भने ‘यसो नगरिए कमजोर भएर ढोका/झ्याल खस्ने सम्भावना रहन्छ ।’

२ फिट गारो लगाइसकेपछि राखिएको ढोका नजिकै झ्याल नराख्न उनको सुझाव छ । अधिकारी भन्छन्,‘ ढोकाभन्दा ३ फिट पर झ्याल राख्नु पर्छ र ढोका ६/७ फिट अग्लो हुनुपर्छ ।’

घरको छानो छाउँदा मुसी/घ्याल्चीसहित राख्दा घर बलियो हुने, हुरी बतासले नउँडाउने उनको दाबी छ । छनोट गरिएको जमिनमा घर बनाउनु पूर्व दक्ष प्राविधिकको सल्लाह लिनु पर्ने बताउँछन् उनी ।

यस गर्दा भविष्यमा आइपर्ने खतराबाट पनि बच्न सकिने र कित्ता कट्न समेत सहज हुने उनको भनाइ छ । यसैगरी, भवनको नक्सा पास पनि एक महत्वपूर्ण विषय हो ।

जसको प्रक्रिया देशभर स्थानीय स्वायत्त ऐन २०५५ अनुसार लागू हुन्छ ।

केके हुन् आवासीय तथा व्यापारिक प्रयोजनका भवन निर्माण गर्दा अपनाउनुपर्ने प्रक्रिया ?

१. अमिनबाट बाटो वा प्रस्तावित बाटो र जीएलडी (गाइडेड ल्यान्ड डेभलपमेन्ट) जाँच गर्ने

२. इन्जिनियरबाट नक्सा जाँच तथा दस्तुर निर्धारण गराउने

३. भवन संहिताले निर्देशित गरेअनुसारका शर्त पालना गरेर भूकम्पबाट सुरक्षित किसिमले घरको नक्सा डिजाइन भएको छ छैन भन्ने कम्प्युटर जाँच गराउने

४. इन्जिनियरबाट सोको नक्सा पुनः जाँच गराउने

५. शुल्क बुझाउने (शुल्क प्रति वर्गफिटआवासीय भवनलाई २५ रुपियाँ र व्यापारिक प्रयोजनका भवनमा ३५ रुपियाँ लाग्छ ।)

६. नक्सा पुनः जाँच र शुल्क भुक्तानीको बेहोरा कम्प्युटरमा दर्ता गराउने

७. वडाबाट सर्जिमन सूचना टासँका लागि सम्बन्धित वडामा नक्सा फाइल दर्ता गराउने

८. वडा कार्यालयबाट सर्जिमनको सूचना टाँस

९. सूचना टाँस गरेको १५ दिनपछि सर्जिमन वडा कार्यालयका प्राविधिकबाट स्थान निरीक्षण प्रमाणित गर्ने

१०. वडा प्रमुख वा प्रशासकीय प्रमुखबाट शहरी विकास विभागमा सक्कलै फाइल पठाउने

११. वडा कार्यालयबाट ल्याएको फाइल नगरपालिकाको शहरी विकास विभागको सम्बन्धित फाटँमा बुझाउने तथा दर्ता गर्ने

१२. सम्बन्धित वडाको जिम्मेवारी तोकिएको इन्जिनियरले फाइल जाँच गर्ने

१३. जाँच गरेको फाइल स्वीकृत गर्ने अधिकारी समक्ष पेश गर्ने

१४. प्लिन्थ लेबल (डीपीसी)सम्मको निर्माण कार्य सम्पन्न गरिसकेपछि सो कार्यको स्थलगत जाँच हुने

१५. प्लिन्थ लेबल स्थलगत जाँच रिपोर्ट पेशपश्चात् इन्जिनियरबाट नक्सा जाँच गराई स्वीकृतिका लागि महाशाखा प्रमुख वा विभागीय प्रमुखसमक्ष पेश गर्ने

१६. स्थायी नक्सा पास गरेर कम्प्युटरमा दर्ता गराउने

१७. स्थायी इजाजत पत्र प्राप्त

यी हुन् भवन नक्सा पास गर्नका लागि चाहिने आवश्यक कागजात

– सम्बन्धित व्यक्तिको नागरिकताको प्रतिलिपि

– कित्ता नापी नक्सा

– जग्गाको मालपोत तिरेको प्रमाणपत्र समेत सम्बन्धित कार्यालयमा पेश गर्नुपर्नेछ

– चारकिल्ला स्पस्ट पारिएको कागजात

आवासीय भवनको नक्सा पास हुन तथा निर्माण स्वीकृति पाउन सरकारले तोकेको आधारभूत शर्त

– सडकको चौडाइ न्यूनतम ६ मिटर र न्यूनतम सेडब्याक सडक किनाराबाट १.५ मिटर छोडिएको हुनुपर्ने

– सेटब्याक छाडेर मात्र पर्खाल लगाउन पाइने । पर्खालको उचाइ बढीमा ४ फिट र त्योभन्दा माथि ३ फिट तारको जाली राख्न सकिने

– पर्खाल, सेफ्टी ट्याङ्कीसमेतको नक्सा पास गर्नुपर्ने

– सडकको क्षेत्राधिकार र सेड ब्याकभित्र टप, बार्दली, छज्जी आदि कुनै पनि संरचनाहरू बनाउन नपाइने । भवन निर्माण क्षेत्रभित्र पनि एक मिटरभन्दा बढीको टप, बार्दली, छज्जी निकाल्न नपाइने

– निर्माण सम्पन्न प्रमाणपत्रविना भवनको बैङ्किङ र बीमा कारोबार गर्न नसकिने

– ३० डिग्रीभन्दा भिरालो जमीनमा भवन बनाउन नपाइने

– खानी तथा भूगर्भ विभाग र जिल्ला दैवी प्रकोप उद्धार समितिले निषेध गरेको स्थानमा भवन बनाउन नपाइने

– २५० वर्गमिटरसम्मको क्षेत्रमा घर बनाउँदा २० प्रतिशत र सोभन्दा बढीमा ४० प्रतिशत जमीन खाली राखेर भवन निर्माण गरिनुपर्ने

– विमानस्थलको धावनमार्ग आसपास भवन बनाउन लागिएको अवस्थामा नागरिक उड्डयन प्राधिकरणले तोकेको मापदण्ड पूरा गरेको हुनुपर्ने । धावनमार्गको बाहिरी सीमाबाट ५०० मिटर आसापस १७ मिटरभन्दा अग्लो भवन निर्माण गर्नुपर्दा नागरिक उड्डयन प्राधिकरणबाट अनिवार्य रूपमा स्वीकृति लिएको हुनुपर्ने

– उपत्यकाबाहिरका नगरपालिकाहरूले शहरी विकास मन्त्रालयले तयार पारेको भवन निर्माणसम्बन्धी मार्गदर्शन २०७२ लाई पालना गर्नुपर्ने

...

आइतबार १३, फागुन ०७४

प्रतिक्रिया

Related