मेलम्ची आयोजनाको कुरा धेर काम थोरः वैशाखमा पनि आउँदैन पानी

दुई दशकसम्म नसकिएको मेलम्चीलाई लाजै लाग्ने गरि भेरि बबईले गर्यो प्रगति
निर्माण सञ्चार, काठमाडौँ  | लामो समयदेखि निर्माणधिन अवस्थामा रहेको मेलम्ची खानेपानी आयोजनाको सुरुङमार्ग निर्माण कार्यमा ढिलासुस्ती देखिएको छ ।

आयोजनाले आगामी चैतको दोस्रो सातासम्म सुरुङको काम पूरा गर्ने गरी राजधानीमा खानेपानि भित्राइने बताएको थियो । तर, निर्माण कम्पनी भने कुनै दिन कामै नगर्ने, कुनै दिन एकदमै कम काम गर्ने गरेको मेलम्ची खानेपानी विकास समितिका सिनियर इञ्जिनियर एवं सूचना अधिकारी राजेन्द्र पन्तले बताए ।

उनले भने ‘कम्पनीले काम गरेको दिनमा पनि ६ देखि ८ मिटर मात्रै सुरुङ खन्ने गरेकाले काममा सुस्तता आएको हो ।’

निर्माण कम्पनीले भने निर्माण सामग्रीको अभावका कारण काममा गति दिन नसकिएको बताएको छ ।

निर्माण कम्पनीको ढिलासुस्तीले राजधानीमा चैतसम्म पानि पुर्याइसक्ने भनिएको पानि आउँदो वैशाखमा पनि आइनपुग्ने देखिन्छ ।

यता भेरी बबई डाइभर्सन आयोजनाले भने मेलम्ची आयोजनालाई नै चुनैति दिँदै दुई मिहनामै झन्डै दुई किलोमिटर छिचोलिसकेको छ ।

चिनियाँ कम्पनीबाट भित्राइएको टिबिएम प्रविधिबाट उक्त आयोजनाको तीव्र रुपमा काम अघि बढाएर प्रगति गरिरहेको छ ।

कति सकियो मेलम्ची आयोजनाको काम ?

मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्यअनुसार ग्यालथुम–सिन्धुखण्डमा २२३ मिटर र ग्यालथुम अडिटको जङसनमा ५० मिटरसहित २७३ मिटर खन्न बाँकी रहेको छ ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित मुहान रहेको अम्बाथानदेखि सुन्दरीजलसम्मको २७.५ किमी सुरुङमध्ये हालसम्म २७.२२७ किमी सुरुङ सम्पन्न भइसकेको इञ्जिनियर पन्तले जानकारी दिए ।

उनकाअनुसार उक्त खण्डको सबैभन्दा लामो सिन्धु अडिटबाट सुन्दरीजलसम्मको ९.५ किमी सुरुङ गत वर्षनै सम्पन्न भइसकेको छ । साथै अम्बाथानदेखि ग्यालथुमखण्डको ७.५ किमी सुरुङ गएको पुस १४ गते मध्यरातमा सम्पन्न भएको थियो ।

आयोजनाका अनुसार निर्माण कम्पनीले इन्धन, सिमेन्टलगायतका निर्माण सामग्रीको अभाव तथा रकमको अभाव लगायतका समस्या देखाएर काममा ढिलाइ गरिरहेको छ ।

सन् २००९ मा चिनियाँ कम्पनी १५ रेलबे ब्यूरोसँग भएको सम्झौता अनुसार यस आयोजनाको सन्तोषजनक काम नभएको भन्दै चार वर्षपछि ठेक्का रद्द गरिएको थियो ।

सन् २०१३ जुलाइमा भने इटालीको को–अपरेटिभ मुरातोरी सिमेन्टिक डि रेभेना सिएम्सीसँग सम्झौता गरिएको थियो ।

यस कम्पनीलाई पनि पटकपटक म्याद थप गरी अन्तिम अवधि आउँदो मार्चसम्म कायम गरिएको छ । उक्त आयोजनाको ७ अर्ब ७२ करोड रुपियाँ लागतमा सिएम्सीसँग सम्झौता गरिएको थियो ।

...

शुक्रबार, ११ फागुन २०७४

प्रतिक्रिया

Related