निर्माण सम्पन्न भएका दर्जनौ ठेक्कावापत अझै भएन अर्वौको भुक्तानी, निर्माण व्यवसायी मर्कामा

अर्थमन्त्रालयको गल्तीले भुक्तानी रोकिदा देशैभरको निर्माणकार्य प्रभावित भएको नेपाल निर्माण व्यवसायी महासंघको दाबी
निर्माण सञ्चार, काठमाडौँ | देशभर सम्पन्न भइसकेका विभिन्न विकास निर्माण कार्यको करिब ४२ अर्ब रुपियाँ भुक्तानी निर्माण व्यवसायीले नपाएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ ।

सम्झौता अनुसार निर्माण सम्पन्न भएको निर्माण कार्यको भुक्तानी नपाउँदा निर्माण व्यवसायी बिचल्लीमा परेको व्यवसायीको गुनासो बढीरहेको छ ।

देशैभरिका निर्माण कार्यको भुक्तानी रोकिँदा निर्माण व्यवसायी मर्कामा परेको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष विष्णुभाइ श्रेष्ठले बताए ।

उनले भने, ‘देशै भरिका निर्माण सम्पन्न भएका, आंशीक रुपमा पुरा भएको कामको बजेट व्यवसायीलाई नदिइँदा निर्माण कार्यलाई अगाडि बढाउन नसक्ने अवस्थामा पुगेका छौँ । यस्तो अवस्थामा निर्माण व्यवसायीलाई मात्र दोष थोपर्ने परिपाटी गलत छ ।’

व्यवसायीका अनुसार सम्पन्न भइसकेका सडक, मोटरेबल पुल, जल उत्पन्न प्रकोप लगायतको भुक्तानी रोकिएको छ।

सडक र जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय अन्तर्गतका निर्माण परियोजनाको करिब ४२ अर्ब रुपियाँ भुक्तानी नपाएको महासंघका महासचिव रामशरण देउजाले बताए ।

० सडकको बजेट शीर्षक नम्बर नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रामशरण देउजाका अनुसार बजेट शीर्षक नम्बर १२९ (स्थानीय शहरी सडक) लगभग ११/१२ अरब भुक्तानी लिन बाँकी छ ।

१२३, १४७ र १४८ शीर्षकको बजेट ७ अर्ब ७८ करोड भुक्तानी बाँकी

महासंघका महासचिव देउजाका अनुसार बजेट शीर्षक नम्बर १२३ (स्थानीय शहरी सडक) पर्दछन् ।

यसको बजेट नहेरी स्थानीय स्तरबाटै बजेट वितरण गर्ने भनेर बजेट निकासी भएपनि वितरणको व्यवस्था नहुँदा भुक्तानी पाउन सकिएको छैन ।

बजेट शीर्षक नम्बर १४७/१४८ (सांसद विकास कोष) काम पर्दछन् । पुरानो सांसदमा खर्च नगर्नु भनेर अदालतले ‘स्टे’ अर्डर गरेर भुक्तानी रोकेकोले यस शीर्षकको भुक्तानी हुन नसकेको देउजाले बताए ।

महासंघका अनुसार १५७ शीर्षकको पुलमा करिब २१ अर्ब भुक्तानी बाँकी छ । यसरी अर्थ मन्त्रालयले निकासा नदिँदा देशैभरका निर्माण कार्य प्रभावित भएको छ ।

पटकपटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको भन्दै निर्माण व्यवसायीले आक्रोश व्यक्त गरेका छन् ।

‘अर्थ मन्त्रालयबाट बजेट सुनिश्चितताको सैद्धान्तिक सहमति पाएपछि सडक विभागले बोलपत्र आह्वान गरेर सम्झौता भएका आयोजनाको काम भएता पनि भुक्तानी नभएपछि हामीले पटक–पटक ध्यानाकर्षण गराए पनि सुनुवाइ नभएको हो’ देउजाले गुनासो गरे ।

बजेट सुनिश्चितताको स्वीकृति दिएर टेन्डर भई बहुवर्षे ठेक्का पाएका देशभरका अरबौका योजनामा सरकारले बजेट भुक्तानी दिन सकेको छैन।

काम गरे अनुसार भुक्तानी नपाउँदा व्यवसाय डुब्ने अवस्थामा आएको निर्माण व्यवसायीको दुखेसो छ । 

व्यवसायीले भुक्तानी नपाउँदा कामदारलाई ज्याला दिन नसकेको, बैंकको ब्याज, उपकरणको किस्ता बुझाउन कठिनाइ भएको बताएका छन्।

नवलपरासीको कावासोती तरुवाबरुवा, कावासोती नमस्ते चोक, अमरापुरी–बुद्धचोक सडक निर्माण सम्पन्न भएको करिब पाँच महिना भयो ।

सडक निर्माण सम्पन्न गरेको नविन कन्स्ट्रक्सनले भुक्तानी पाएको छैन ।

निर्माण सम्पन्नको प्रतिवेदन सडक डिभिजन कार्यालयले तयार गरेर विभागमा सिफारिस गरे पनि रकम नपाएको नविन कन्स्ट्रक्सनका नविन ज्ञवालीले जानकारी दिए ।

विराटनगरको सडकमा पनि भौतिक प्रगति अनुसार करिब ५० करोड रुपियाँको बिल पेन्डिङमा छ । उत्तर–दक्षिण करिडोरको मुस्ताङ खण्डमा करिब ३० करोड रुपियाँ भुक्तानी दिन सकेको छैन।

अर्थ मन्त्रालयबाट बहुवर्षीय ठेक्काको लागि सहमति लिएर निर्माण व्यवसायीले काम गरेको सडक विभागका महानिर्देशक गोपाल सिग्देलले बताए ।

विभिन्न शीर्षकको अरवौँ रुपियाँ भुक्तानी गर्न नसकेको महानिर्देशक सिग्देलले स्वीकारेका छन् ।

...

बुधबार १६ फागुन ०७४ 

प्रतिक्रिया

Related