युरो–३ का गाडीलाई लाग्दै प्रतिबन्ध, युरोपले ६ स्टेन्डर लिँदापनि नेपालमा भर्खर ४

यस्तो छ युरोको मापदण्ड, यो मापदण्ड पुरा नहुने गाडी चल्न नपाउने
निर्माण सञ्चार, काठमाडौँ । सरकारले अब युरो–४ मापदण्डका मात्रै गाडी आयात र दर्ता गर्ने तयारी शुरु गरेको छ । अहिले सवारी साधन आयात गर्दा युरो–३ मापदण्ड अनिवार्य छ ।

विकसित मुलुकहरुले भने युरो–६ को मापदण्ड लागु गरिसकेका छन् भने नेपालले अझै युरो–३ कै गाडी सञ्चालन गरिरहेको छ ।

युरो–४ मापदण्डका सवारी युरो–३ का अनुपातमा वातावरणीय दृष्टिकोणले उत्कृष्ट मानिन्छन् । वातावरण मन्त्री लालबाबु पण्डितले युरो–४ मापदण्ड लागु गर्न निर्देशन दिएका छन् ।

त्यसअनुसार मन्त्रालयले विभिन्न सरोकारवाला निकाय र विज्ञसँग छलफल थालेको छ । सरकारले मन्त्रिस्तरीय निर्णय गरेर मापदण्ड तोक्न सक्छ ।

युरो–४ का गाडीले युरो–३ को भन्दा कम विषाक्त ग्यास फाल्छन् । आयल निगमले गत वर्षबाटै युरो–४ मापदण्डको तेल भित्र्याउन थालेको थियो ।

सवारी साधन भने एक तह मुनिका आयात हुने तर इन्धन भने युरो—४ को भित्रिनुले कुनै अर्थ राख्न सकेको थिएन । काठमाडौंको वायु प्रदुषणको कारण मुख्य सवारीसाधनले फाल्ने धुवाँबाट भएको भन्दै मन्त्री पण्डितले एक वर्षभित्रै यहाँ मास्क नलगाइ हिँड्न सक्ने अवस्था बनाउने घोषणा गरिसकेका छन् ।

आयात भइसकेका सवारीबाट हुने प्रदुषणको जाँचलाई कडाइ तथा अब भित्रिने गाडीमा नयाँ प्रदुषण मापदण्ड लगाउने मन्त्री पण्डितले योजना बनाएका छन् ।

पण्डितले भने, ‘अब पुरानै प्रविधिका गाडी भित्रिन दिनुहुँदैन । कम धुवाँ फाल्ने, वातावरणलाई कम असर पर्ने मापदण्डका गाडी भित्र्याउनुपर्छ । पुराना प्रविधिका गाडी आयातमा रोक लगाइन्छ ।’

अटो मोबाइल व्यवसायीहरुले युरो–४ कै यातायात भारतबाट भित्रिरहेको दाबी गरेपनि सरकार यसमा विश्वस्त हुन सकेको छैन । युरो–३ को इन्जिन राखेर सवारीसाधन निर्माण गर्दा सस्तो पर्ने भएकोले युरो–३ कै गाडी नेपाल भित्रिरहेको वातावरण मन्त्रालयका एक अधिकारीले बताए ।

भारतमा युरो–४ भन्दा कम मापदण्डका सवारीको दर्तामा रोकलगाएपछि उत्पादन भइसकेका ८ लाख भन्दा बढी सवारी नेपालमा भित्रिरहेको आशंका सरकारी अधिकारीहरुको छ । 

के हो युरोको स्केल ?

यो युरोपेली उत्सर्जन मापदण्डको एउटा तह हो । यसले सवारी साधनले कतिसम्मको हानिकारक ग्यास उत्सर्जन गर्छन भन्ने मापदण्डका आधारमा वर्गीकरण गरिएको हुन्छ । अहिले यो मापदण्डलाई युरोपबाहेकका महादेशमा पनि अपनाउँदै आएका छन् ।

यस अन्तर्गत युरो–१ देखि ६ सम्मको तह निर्धारण गरिएको छ । 

युरो–१ः हल्का ट्रक र यात्रुवाहक कार

युरो–२ः यात्रुवाहक कार र मोटरसाइकल

युरो–३ः मोटरसाइकलसहित सबै सवारी साधन

युरो–४ः सबै सवारीसाधनमा लागु हुन्छ

युरो–५ र ६ः व्यवसायीक तथा हल्का यात्रुवाहक हल्का सवारी

भारतमा युरो–४ नभएका सवारीको दर्ता रोकेपछि आठ लाखभन्दा बढी गाडी थन्किएका थिए । अहिले तिनै इन्जिनहरु नेपाल भित्रिने सवारी साधनमा प्रयोग भइरहेको सरकारी अधिकारीहरुको आशंका छ ।

कुन तहका सवारीले कति ग्यास उत्सर्जन गर्ने भन्ने सवारीअनुसार फरक हुन्छ । युरो–१ को यात्रुवाहक कारबाट दुई दशमलव ७२ ग्राम प्रतिकिलोमिटर कार्बनडाइअक्साइड ग्यास उत्सर्जन हुने गर्छ ।

सोही वर्गको डिजेलबाट चल्ने सवारीले पाँच दशमलव १७ ग्राम प्रतिकिमि कार्बनडाइअक्साइड फाल्नुपर्ने हुन्छ । युरो–४ मापदण्ड सन् २००५ देखि लागू भएको हो ।

यसको यात्रीवाहक कार (डिजेल)ले प्रतिकिमि शून्य दशमलव ५० ग्राम कार्बनमोनो अक्साइड र शुन्य दशमलव २५ ग्राम नाइट्रोजन अक्साइड उत्सर्जन गर्छ ।

यस्तै, पेट्रोल इन्जिनयुक्त कारले प्रतिकिमि एक ग्राम कार्बनमोनो अक्साइड फाल्छ । यस्ता धेरै विषाक्त ग्यासहरुको उत्सर्जन युरो–४ मापदण्डले कम मात्रामा गर्छ ।

अन्य देशहरु युरो–६ मा जाँदैछन् हामी भने बल्ल युरो–४ का लागि छलफल गर्दै गरेको मन्त्रालयका एक उच्च अधिकारीले बताए ।

प्रदुषण कम गर्न उपत्यकामा विद्युतीय सवारी भित्र्याइने

काठमाडौं उपत्यका लगायत देशका मुख्य सहर प्रदुषित हुँदै गएपछि सरकारले विद्युतीय सवारी आयातलाई उच्च प्राथमिकता दिने भएको छ । विद्युतीय सवारी आयात प्राथमिकतामा राख्दै २० वर्ष पुराना सार्वजनिक गाडी हटाइने तयारी भएको मन्त्रालयले बताएको छ ।

२० वर्ष पुराना ट्याक्सी र विद्युतीय सवारी साधन भने गुड्न पाउनेछन् । यातायात व्यवस्था विभागले २० वर्ष नाघेका सार्वजनिक यातायात आगामी चैत १ गतेपछि गुडेमा नियन्त्रणमा लिइ लिलाम गर्ने यातायात विभागले चेतावनी दिएको छ ।

विभागले फागुन मसान्तसम्म २० वर्ष पुराना सार्वजनिक सवारीको ‘इञ्जिन नम्बर’ र ‘चेसिस नम्बर’ बुझाउन सवारी धनीलाई निर्देशन दिएको छ ।

...

बुधबार १६ फागुन ०७४

प्रतिक्रिया

Related