अब होला त दुर्घटना कम ? कर्णाली प्रदेशमा एकैसाथ सडक सुरक्षा कार्यक्रम

‘सम्वृद्धिको लागि सुरक्षा अभियान’ नारासहित साइरन जडान
निर्माण सञ्चार, जुम्ला | कर्णाली प्रदेशलाई सुरक्षित प्रदेश निर्माण गर्न १० वटै जिल्लामा एकैसाथ सडक सुरक्षा कार्यक्रम सञ्चालन गरिएको छ ।

भौगोलिक विकटता र भोकमरीको चपेटाबाट मुक्त हुन नसकेको गरिब प्रदेशका रुपमा चिनिएको कर्णाली प्रदेशको सुरक्षालाई ध्यानमा राखि कार्यक्रमको आयोजना गरिएको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा प्रदेशभरी नै एकैसाथ कार्यक्रम गरिएको प्रदेश प्रहरी प्रमुख एआईजी रणबहादुर चन्दले बताएका छन् ।

‘सम्वृद्धिको लागि सुरक्षा अभियान’ भन्ने मुल नाराका साथ कर्णाली प्रदेशका १० जिल्लाका सम्पुर्ण प्रहरी चौकीहरुमा सडक सुरक्षा कार्यक्रम गरिएको हो ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहिले रिबन काटेर कार्यक्रमको उद्घाटन गरेका थिए । शाहीले सुकिला मुकिला भएर हिँड्दैमा र आदेश दिँदैमा प्रदेशको परिभाषा बदल्न नसकिने भएकोले आवश्यकता अनुसार सबै काम गर्न तयार हुनुपर्ने बताए ।

उनले भने ‘आदेश मात्रै दिएर प्रदेश विकास हुँदैन, प्रत्यक्ष रुपमा जनतासँग सहकार्य गर्नसक्ने क्षमता नेतृत्व तहमा पुगेकाले गर्न सक्नुपर्दछ ।’

आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले अब प्रदेशका जनताको सुरक्षाको ग्यारेण्टी हुनुपर्ने बताएका छन् ।

कर्णाली प्रदेश देशकै नमुना र मोडल बनाउने संकल्पका साथ कर्णाली राजमार्गमा हुने सडक दुर्घटना रोक्न साईरन जडान गरिएको बताए । यसले कर्णाली राजमार्गमा हुने सवारी दुर्घटना कम गर्न निकै राहात पुर्याउने कर्णालीबासीको आकलन छ ।

कार्यक्रममा सुर्खेत–जुम्ला सडक खण्डका सवारी चालक कृष्णबहादुर बुढाले आवश्यक कागजपत्र बोकेर हिंड्दा पनि विभिन्न बाहनामा ट्राफिक प्रहरीले दुःख दिने गरेको गुनासो गरेका थिए ।

उनले भने ‘मैले सवारी चालकको रुपमा काम गर्न थालेको १० वर्ष भयो । हालसम्म नियम उल्लंघन गरेको आरोपमा कुनै फाइन तिरेकोे छैन । तर मेरो गल्ती नदेखेपछि विभिन्न बाहनामा प्रहरीले दुःख दिन्छ ।’

जनतालाई दुःख दिने प्रहरीको व्यवहार परिवर्तन गर्न पनि उनले आग्रह गरे ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले कर्णाली प्रदेशलाई सुरक्षित प्रदेश निर्माणका लागि ४० बुँदे कार्ययोजना यसअघि नै सार्वजनिक गरिसकेको छ ।

सो ४० बुँदे मागमध्ये साईरन जडान कार्यलाई पहिलो प्रथामिकताका साथ आन्तरिक मामिला तथा कानुन मन्त्रालयलले लिएको हो ।

कर्णाली प्रदेशमा एकैसाथ सडक सुरक्षा कार्यक्रम संचालन भएपनि सबै ठाउँमा संचारको पहुँचमा नभएकाले हाललाई सुचना लिन निकै गाह्रो हुने अनुमान गरिएको छ ।

कर्णाली प्रदेशले कर्णाली राजमार्गका विभिन्न क्षेत्रमा चाडो टावर विस्तारको कामलाई पनि प्रथामिकता दिए साईरन जडान कार्यक्रम निकै प्रभावकारी हुने देखिन्छ ।

अब कर्णाली राजमार्गमा हुने सवारी दुर्घटना कम होला त ? त्यो भने हर्न बाँकी रहेको स्थानीय बताउँछन् ।

जुम्लाबाट सागर परियारको रिपोर्ट


...
आइतबार २० फागुन २०७४

 

प्रतिक्रिया

Related