वर्षौपछि हेलिकप्टरबाट झारियो हुम्लामा गाडी ! दङ्ग स्थानीय

सिमिकोट गाडी पुर्याउँदा ३६ लाख ५० हजार खर्च, ढुवानी गर्न लाग्यो ३ महिना
निर्माण सञ्चार, जुम्ला | कर्णालीका पाँच जिल्ला मध्ये डोल्पा र हुम्ला जिल्ला अहिलेसम्म राष्ट्रिय सडक संजालमा जोडिएका छैनन् ।

विकासको पहिलो आधार मानिने सडक संजाल अझैसम्म नपुगेपनि वर्षौपछि गाडी चड्ने सपना पुरा भएकोमा हुम्लाबसी दङ्ग छन् । सबै क्षेत्रमा गाडी नपुगेपनि ११ किलो मिटर भित्र पर्ने स्थानीयहरुलाई भने सहज हुने भएको हो ।

जील्ला भरि नै गाडी नपुगेपनि सदरमुकाम आसपासका क्षेत्रमा आवतजावत गर्न सहज हुने भएको भन्दै स्थानीयले खुसी व्यक्त गरे ।

गत हप्ता सुर्खेत विमानस्थलबाट सेनाको हेलिकप्टर चार्टर गरेर सिमिकोट विमानस्थलमा गाडी ओरालिएको थियो । व्यवसायी चिना रावतले सुर्खेतबाट सेनाको हेलिकप्टररमा महिन्द्राको बोलेरो जिप ल्याएका हुन् ।

सदरमुकाममा सञ्चालनका लागि जिप ल्याएको व्यवसायी रावतले बताए । रावतका अनुसार सिमिकोट गाडी पुर्याउँदासम्म ३६ लाख ५० हजार रुपियाँ खर्च भएको छ ।

अर्का व्यवसायी विजय लामाले पनि सेनाको हेलिकप्टररबाटै बुधबार गाडी ल्याएका छन् । उनले सुर्खेत विमानस्थलबाट हेलिकप्टर चार्टर गरेरै सिमिकोटमा गाडी ओरालेका हुन् ।

यी दुईसँगै सिमिकोटमा चल्ने गाडीको संख्या पाँच पुगेको छ । यसअघि लोकजंग शाही र सरोज रावतका तीनवटा गाडी चल्दै आएका थिए ।

सिमिकोटमा ११ किलोमिटर सडक

हुम्ला सदरमुकाम सिमिकोटलाई कालिकोटबाट कर्णाली राजमार्ग र चीनको तिब्बतस्थित हिल्साबाट सीमा सडकले जोड्दै छ । उत्तरतिर हिल्साबाट नाम्खा गाउँपालिकाको ओखरथलासम्म ७१ किलोमिटर सडक बनेको छ ।

९५ किमि लामो यो सडकले सिमिकोट जोड्न अझै २४ किमि बाँकी छ । सुर्खेतबाट सिमिकोटसम्म दुई सय ९० किलोमिटर कर्णाली राजमार्ग निर्माणाधीन छ ।

जसअन्तर्गत कालिकोटको लालुबाट बाजुरा हुँदै हुम्लाको सिमिकोटसम्म एक सय ९६ किलोमिटर सडकको ट्रयाक खोल्ने काम भइरहेको छ । साथै सिमिकोटबाट दक्षिणतिर खार्पुनाथसम्म भने ११ किमि सडक बनेको छ ।

सोही सिमिकोट–खार्पुनाथ सडकमा हाल गाडी चल्ने गरेका छन् ।

उक्त गाडी चढ्दा तीन सय ५० रुपियाँ भाडा लाग्ने लाग्छ ।

 तीन महिना लाग्यो गाडी ढुवानी गर्न

सुर्खेत विमानस्थलबाट सिमिकोट विमानस्थल पुग्न एक घन्टा लाग्छ । तर, व्यवसायीहरूलाई सुर्खेतबाट सिमिकोटसम्म गाडी ढुवानी गर्न भने तीन महिना लागेको छ ।

‘सुर्खेत विमानस्थलबाट सिमिकोट पुर्याउन तीन महिना लाग्यो,’ व्यवसायी चिना रावतले भने ।

उनको गाडी मंसिरमा नै सुर्खेत विमानस्थल पुगेको थियो । रावतले सोही समयमा हेलिकप्टरर चार्टरका लागि सेनालाई निवेदन दिएका थिए ।

सेनाको मुख्यालय हुँदै राष्ट्रपति कार्यालयबाट स्वीकृति पाउन तीन महिना लागेको उनले बताए ।

अर्का व्यवसायी बुदे बुढाको गाडी पनि सुर्खेत विमानस्थल पुगेको छ । उनले पनि हेलिकप्टर चार्टरका लागि नेपाली सेनालाई निवेदन दिएका छन् ।

निवेदनसँगै ११ लाख ५० हजार भाडा पनि बुझाइसकेका छन् । उनले भने, ‘कहिले मिल्छ थाहा छैन, काठमाडौँबाटै हेलिकप्टरर आउने भएकाले एक लाख रुपियाँ बढी तिरेको हुँ ।’

जुम्लाबाट सागर परियारको रिपोर्ट

...

सोमबार २१, फागुन ०७४ 

प्रतिक्रिया

Related