यसरी सुरुभयो नवलपरासीमा फोहोरबाट ग्यास उत्पादन

दैनिक २ सय सिलिन्डर उत्पादन, एलपी ग्यासभन्दा १७ प्रतिशत सस्तो पर्ने सञ्चालकको दाबी
निर्माण सञ्चार, काठमाडौँ । नवलपरासीमा फोहरबाट बायो ग्यास उत्पादन सुरु भएको छ । वैकल्पिक ऊर्जाको प्राविधिक र अनुदान सहयोगमा इन्भीपावर इनर्जी एण्ड फर्टिलाइजर कम्पनीले नवलपरासीमा बायो ग्यास उत्पादन सुरु गरेको हो ।

भैरहवादेखि करिब २५ किलोमिटरभित्र बन्जरियामा दुई जना युवा मिलेर २२ करोडको लगानीमा बायो ग्यास उत्पादन सुरु भएको हो ।

फोहर पदार्थ र गोबरबाट ग्याससहित कम्पोस्ट मल, बिजुली बनाउन सकिन्छ । इन्भीपावर इनर्जीका प्रबन्ध निर्देशक सन्दिपकुमार अग्रवालले भने, ‘हाम्रो मुख्य उत्पादन बायो ग्यास र प्रारम्भिक मल हो । हामीले कच्चा पदार्थमा पशुपालनको मल, पोइट्री फर्मको सुली, खाना बनाउँदा निस्किने कुहिने प्रकृतिका फोहर र कुहिने पात पतिङ्गरलाई प्रयोग गर्न सकिन्छ ।’

नेपालमा इन्भीपावर कम्पनीले बायो ग्यास प्रविधिलाई भित्र्याएको हो । नेपालका अन्य शहरहरुमा पनि बायो प्लान खोल्ने तयारी भइरहेको अग्रवालले जानकारी दिए ।

दैनिक २ सय सिलिन्डर ग्यास उत्पादन, ४५ कर्मचारीले प्रत्यक्ष रोजगारी

ग्यासको उत्पादन सुरु गरेका इन्भीपावरले अहिले नजिकको होटललाई ग्यास बिक्रि गरिरहेको छ । ४००० घन मिटर क्षमताको बायो ग्यासले दैनिक ३८०० किलो ग्यास (२०० सिलिन्डर एलपी ग्यास), २५ टन जैविक मल र बिजुली उत्पादन गर्दै आएको छ ।

उत्पादन भएको बिजुली अहिले आफ्नै कम्पनीमा प्रयोग गर्ने गरिएको अग्रवालले बताए । २०० सिलिन्डर ग्यास उत्पादनका लागि दैनिक ३५ देखि ४० टन कच्चा पदार्थ लाग्ने र कच्चा पदार्थमा स्थानीय स्तरमा पाइने गाईबस्तुको मल, चिनीमिलबाट निस्किएको फोहरको प्रयोग गरिने गरिएको अग्रवालले बताए ।

के फरक छ एलपी ग्यास र बायो ग्यासमा

तापको भ्यालु बढी हुनेभएकोले जाडोको समयमा पनि जम्दैन । एलपी ग्यास प्रतिकेजी ९५ छ भने हामीले ९० रुपियाँले बेचिरहेका छौँ ।

स्थानीयमा राहतको महसुस

कम्पनीले स्थानीय ४५ जनालाई रोजगारी, प्लान्टमा इन्जिनियर, बायोलोजिष्ट, इलेक्टोनिक इन्जिनियरले समेत रोजगारी दिएको छ । यसैगरी, प्लान्ट सञ्चालनमा आएपछि घर गोठबाट निस्किएको फोहर प्रतिकिलो २ रुपियाँ ५० पैसाका दरले कच्चा पदार्थ बिक्री हुने गरेकोले स्थानीयले राहत महसुस गरेका छन् । 

सरकारको सहभागिता

सरकारी स्तरबाट जनसंख्या तथा वातावरण मन्त्रालयका सचिव प्रकाश माथेमा, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धिताल तथा वैकल्पिक ऊर्जाका प्राविधिकसहित ७ जनाको टोलीले प्लान्टको स्थलगत निरीक्षण गरे ।

वैकल्पिक ऊर्जा प्रबद्र्धन केन्द्रले गोबर ग्यास, बायो ग्यास, हावाबाट बिजुली, पानी घट्टबाट बिजुली, माइक्रो हाइड्रो, सौर्य ऊर्जाबाट बिजुली, बायोमासजस्ता वैकल्पिक ऊर्जाका स्रोतका लागि अनुदानसमेत दिँदै आएको कार्यकारी निर्देशक राम धितालले जानकारी दिए ।

वेस्ट इनर्जी (फालिएको कुहिने फोहोरबाट निस्किने ऊर्जा) को रूपमा शहर बजारबाट निस्केका कुहिने फोहोर, गाइबस्तुको गोबर, चिनी मिलबाट निस्कने फोहोर आदिलाई ऊर्जाकोरूपमा विकास गर्नका लागि केन्द्रले ठूलो परियोजना अघि बढाइरहेको छ ।

यस्तो छ प्रक्रिया

यो वातावरणमा रहेका कुहिने बस्तुलाई कुहाएर त्यसबाट ऊर्जा उत्पादन गर्ने प्रक्रिया हो । यो मेम्रेन टोक्नोलोजीमा आधारित छ । कच्चा पदार्थलाई एकै ठाउँमा जम्मा गरी ठूलो डाइजस्टरमा राखिन्छ र त्यसले ग्यास तथा मल निकाल्दछ ।

यसरी निस्किने ग्यासलाई माथि बेलुनमा जम्मा गरिन्छ । त्यसपछि ग्यासलाई हाई कम्प्रेस गरी सिलिण्डरमा भरिन्छ ।

वातावरणमैत्री बायो ग्यास

बायो ग्यासबाट निकस्ने ग्यास वातावरणीय हिसाबले पनि राम्रो हुने र नेपालजस्तो कृषि प्रधान मुलुकमा कृषिमा व्यवसायिकता ल्याउन सहयोग पुग्छ । फोहरलाई कच्चा पदार्थमा प्रयोग गर्ने हुँदा यसबाट वातावरण प्रदुषण नियन्त्रणमा सहयोग पुग्छ ।

यो प्लान्ट मेमरेन टेक्नोलोजीबाट सन्चालन हुन्छ । यो टेक्नोलोजी इन्भीपावरले दक्षिण एसियामा पहिलो पटक भित्राएको हो । स्काज नामक सफ्टवेयरबाट सञ्चालन हुने यो प्रविधिले कच्चा पदार्थबाट ९५ प्रतिशत ग्यास उत्पादन हुन्छ ।

...

मंगलबार २२ फागुन ०७४

प्रतिक्रिया

Related