टाक्सियो पुनर्निर्माणको काम, समयमै पैसा नपाएपछि उठ्नै मुस्किल भयो भूकम्प पीडितलाई

भूकम्प पीडितलाई लाग्यो ऋण ! ढुकुटी रित्तिएपछि प्राधिकरणलाई किस्ता दिन धौ धौ
निर्माण सञ्चार, सिन्धुपाल्चोक | सरकारले भूकम्पपीडितलाई दोस्रो किस्ताको रकम केही स्थानमा दिएता पनि बाँकी रकम रोकेपछि पीडित मारमा परेका छन् ।

सरकारले समयमै अनुदान दिए आवास निर्माणमा केही सहुलियत हुने उनीहरुको गुनासो रहेको छ ।

सरकारले तोकेको पूरै अनुदान दिएपनि रकम अपुग हुने बताउँने स्थानीय हाल ऋण खोजेरै घर बनाइरहेका छन् ।

निर्माण सामग्रीको आकासिएको मूल्य सहित ढुवानी खर्च बढी लाग्ने हुँदा आवास बनाउन समस्या परेको सिन्धुपाल्चोकबासी बताउँछन् ।

सिन्धुबासी प्रकाश चौँलागाईले भने ‘प्रति इँटा १२ रुपियाँ छ, बाँकी निर्माण सामाग्रीको मूल्य पनि छोइनसक्नु छ, सरकराले दिएको रकमले मात्रै त पुरै घरको कल्पना पनि गर्न सकिदैन ।’

निर्माण सञ्चारले गरेको भूकम्पीडितका निर्माणधीन निजि आवासको निरिक्षणमा अधिकांस पीडितको गुनासो एउटै थियो ।

निर्माण सामग्रीको अत्याधिक मूल्यवृद्धिका कारण बाह्र÷बाह्र घर निर्माण सम्पन्न गर्न छ देखि आठ लाखसम्म लाग्ने पीडित बताउँछन् ।

यसकारण सरकारले दिने अनुदान आवास निर्माणमा अपुग त हुन्छ नै तर दिने पैसा पनि समयमा नदिँदा पूनर्निमाण टाक्सिएको पिडितको भनाई छ ।

स्थानीय रोशन दाहाल भन्छन् ‘समयमै पैसा नपाएपछि घरको जग उठाउनै मुस्किल भएको छ, सरकारले अनुदान दिए केही राहत हुन्थ्यो, अब ऋण खोजेरै जग उठाउन पर्ने भयो ।’

अनुदान पाउन नसकेपछि निर्माणाधीन अवस्थामा रहेका जिल्लाका अधिकांस निजी आवासले पूर्णता पाउन सकेका छैनन् ।

अनुदान प्रक्रियालाई अघि बढाएपनि गरेन रकम निकास

पुनर्निर्माण प्राधिकरणले यसअघि समयसीमा तोकेर अनुदान प्रक्रियालाई अघि बढाएपछि सिन्धुपाल्चोकमा निजि आवास निर्माणले तीव्र रुप पाएको थियो ।

प्राधिकरणले प्रक्रिया अघि बढाएपनि अनुदान बापतको रकम निकासा नगरेपछि पीडित मारमा परेका हुन् ।

ढुकुटी रित्तिएपछि प्राधिकरणलाई किस्ता दिन धौ धौँ ?

दोस्रो र तेस्रो किस्ताको लागि शहरी बिकास तथा भवन डिभिजन कार्यालयले दैनिक ५० बढी लाभग्राहीको फाइल भुक्तानीका लागि जिल्ला समन्वय समितिमा पठाउने गरेको छ ।

समन्वय समितिको खातामा भने रकम नभएपछि भुक्तानीका लागि आएका सबै फाइलहरु रोकिएको जिल्ला समन्वय अधिकारी जगन्नाथ पन्तको भनाइ छ ।

समितिले भुक्तानीका लागि कोष तथा लेखा नियन्त्रण कार्यालयमा पठाएका फाइलहरु पनि अडिकएको छ ।

पन्तले भने ‘पुरानै लाभग्राहीहरुलाई रकम अभावमा भुक्तानी गर्न सकिएको छैन, नयाँ फाइलहरुको ठुलै चाङ लागेको छ ।’

केही दिनअघि मात्रै जिल्ला समन्वय समितिले रकम सकिएपछि पुननिर्माण प्राधिकरणमा १ अर्ब ८० करोड ४४ लाख रुपियाँ माग गरेको थियो ।

प्राधिरणले भने जम्मा ५० करोड मात्रै पठाएको र त्यो रकम पनि सकिएको पन्तले जानकारी दिए । ढुकुटी रित्तिएपछि प्राधिकरणलाई किस्ता दिन धौ धौँ परेको छ ।

पन्तले भने धेरै फाइलहरु पाइप लाइनमा रहेका बताए ।

उनीलाई मात्रै भुक्तानी गर्ने हो भने पनि १ अर्ब ३१ करोड रुपियाँ आवश्यक पर्ने पन्तको दाबी छ ।

तेस्रो किस्ता लिने प्रक्रिया पनि थालनी भइसकेकाले अब रकम धेरै चाहिन्छ । पन्तकाअनुसार प्राधिकरणमा सम्पर्क गर्दा रकम नै नभएको कुरा आएको छ ।

फागुन र चैत महिनाका लागि मात्रै सिन्धुपाल्चोकमा ५ अर्ब बढी रकम आवश्यक हुने जिल्ला समन्वय समितिले बताएको छ । तत्काल रकम निकासा गर्न पत्राचार गरीएकोे पन्तले जानकारी दिए ।

 सबैभन्द बढी लाभग्राही सिन्धुपाल्चोकबासी !

हालसम्म भुकम्प प्रभावित १४ जिल्ला मध्ये सबैभन्दा बढी लाभग्राही भएको जिल्ला सिन्धुपाल्चोक हो । यहाँ ८३ हजार ६ सय ६३ कुल लाभग्राही मध्ये ७८ हजार ५३५ ले अनुदान सम्झौता गरिसकेका छन् ।

ती मध्ये ४२ हजार ८४५ ले दोस्रो किस्ता लिइसकेका छन् ।

यस्तै, ५ हजार ८०४ लाभग्राहीले भने तेस्रो किस्ता प्राप्त गरिसकेका छन् ।

भूकम्पले तहसनहस बनाएको मेलम्ची नगरपालिका भोटचौर २ मा गरिएको निरिक्षणअनुसार पुराना आवास भन्दा फरक ढाँचाका आवास निर्माणधीन अवस्थामा रहेका छन् ।

यसले भूकम्प अघिको गाउँको मुहार र हालको अवस्था एकदमै फरक देखाएको छ ।

भूकम्पपछि उठ्दैँछन् यस्ता घर ?

...

बुधबार, २३ फागुन २०७४

प्रतिक्रिया

Related