बन्ने भाे काठमाडौँ–वीरगंज रेलमार्ग, परामर्शदाता छनाेट अन्तिम चरणमा

उच्चतम् प्राविधिक क्षमता र न्यूनतम आर्थिक लागतको आधारमा परामर्शदाता छनोट हुने
निर्माण सञ्चार, काठमाडौँ । काठमाडौँ–वीरगंज रेलमार्ग निर्माण प्रक्रियाको लागि सम्भाव्यता अध्ययन गर्ने परामर्शदाता कम्पनी छनोटको काम अन्तिम चरणमा पुगेको छ ।

१५ दिनभित्र छनोट प्रक्रिया सक्ने रेल विभागले जानकारी दिएको छ । गत ०७३ मंसिरमा रेल विभागले काठमाडौ–वीरगञ्जमा विद्युतीय रेलमार्गको सम्भाव्यता अध्ययन गर्नका लागि ग्लोवल टेण्डर आव्हान गरेको थियो ।

टेण्डरमा पहिलो चरणमा १५ भन्दा बढी कम्पनीले आवेदन दिएकोमा दोस्रो चरणमा विभागको प्रारम्भिक छनोटमा ६ वटा कम्पनी परेका छन् ।

छनोटमा पर्ने ती ६ वटा कम्पनीहरुले पेस गरेको प्राविधिक प्रस्तावको अध्ययन पछि आर्थिक प्रस्ताव माग गरी मूल्याङ्कन गरिने रेल विभागका सूचना अधिकारी प्रकाशभक्त उपाध्यायले जानकारी दिए ।

उपाध्यायले भने, ‘पहिलो चरणमा १५ वटा कम्पनीको निवेदन परेको थियो । प्रारम्भिक अध्ययनबाट ६ वटा कम्पनी छनोटमा परेका छन् । अब यी ६ वटा कम्पनी मध्ये उत्कृष्ट एक कम्पनी परामर्शदाताको रुपमा छानिने छ ।’ प्रविधिमा उच्चता र न्यूनतम आर्थिक लागतलाई आधार मानेर छनोट गरिने उपाध्यायले बताए ।

उनले भने, ‘हामीले सम्भाव्यता अध्ययनको लागि उच्च प्रविधिको प्रयोग गर्न सक्ने क्षमता, न्यूनतम लागत र अहिलेसम्म काम गरेको अनुभवलाई आधार मानेर परामर्शदाता छान्ने गरेका छौँ ।’

प्रारम्भिक छनोटमा परेका ६ कम्पनीले दिएको प्राविधिक प्रस्तावको अध्ययन–मूल्याङकन गरेर आर्थिक प्रस्ताव माग गर्ने तयारी भइरहेको छ ।

१५ दिन भित्रमा छनोटको प्रक्रिया सकेर काम सुरु गर्ने र काम सुरु गरेको ६ महिना भित्रमा अध्ययन प्रतिवेदन बुझाउनु पर्ने प्रावधान छ ।

अध्ययन प्रतिवेदन बुझाइसकेपछि निर्माणको काम सुरु गरिने उपाध्यायले बताए । रेल विभागले उक्त रेलमार्ग एक सय किलोमिटर लामो हुने अनुमान गरेको छ ।

...

बुधबार २३ फागुन ०७४

प्रतिक्रिया

Related