अनुदान दिएन भारतले, दर्जन सर्त तेर्साएर ७५ अर्व ऋण

भारतका सबै सर्त मानेर रकम ल्याउन तयार प्राधिकरण !
निर्माण सञ्चार, काठमाडौँ | २०७२ वैशाख १२ को महाभूकम्पपछि भारतले अनुदानस्वरुप दिने भनेको रकम नेपालले अझै पाएको छैन ।

भारतले १ खर्ब मध्ये अनुदान स्वरुप उपलब्ध गराउने भनिएको २५ अर्ब रुपियाँ नदिएको हो ।

प्राधिकरणले २५ अर्ब मध्ये पहिलो किस्तामा ४ अर्ब उपलब्ध गराउन अनुरोध गरेको छ ।

रकम भने हालसम्म सरकारी ढुकुटीमा आइनसकेको पुनर्निर्माण प्राधिकरणका प्रवक्ता यमलाल भुसालले जानकारी दिए ।

के छ प्राधिकरणको योजना ?

भारतले अनुदानस्वरुप रकम दिएमा प्राधिकरणले गोरखा र नुवकोटमा ५० हजार घर निर्माणका लागि उपयोग गर्ने योजना लिएको छ । तर, भारतले अनुदान रकम आवासका साथै विद्यालय, स्वास्थ्य चौकी र स–सना पुनर्निर्माणका कार्यमा उपयोग गर्न आग्रह गरेको छ ।

भारतले दिएन अनुदान, सहुलियत ऋण प्रक्रिया अगाडि !

भारतले बोलेको अनुदानस्वरुपको रकम नदिएर पुनर्निर्माणका लागि ७५ अर्ब रुपियाँ सहुलियत ऋण दिने प्रक्रिया भने अघि बढाएको छ । तर, भारतले सो रकममा सर्त नै सर्त राखेको छ ।

उक्त रकमको ठूलो हिस्सा ठूला परियोजनामा खर्च गर्नुपर्नेदेखि ठेकेदार भारतीय हुनुपर्ने तथा निर्माण सामाग्री आफ्नो देशबाट आयात गर्नुपर्ने लगायतका सर्तहरु राखेको छ, भारतले ।

समान्यतया एक्जिम बैंकले गर्ने लगानीमा हुने शर्तहरु नै पुनर्निर्माणका लागि पनि राखिएको छ । भूकम्पपछि काठमाडौंमा भएको दाता सम्मेलनमा भारतले १ खर्ब दिने बाचा गरेको थियो ।

जसमध्ये ७५ अर्ब ऋण एक्जिम बैंकमार्फत लिन नेपाल सरकारलाई अनुरोध गरेको छ ।

एक्जिम बैंकले भारतीय सरकारको जमानीमा नेपाललाई वाषिर्क १ प्रतिशत ब्याजदरमा ऋण दिने छ ।

 यस्ता छन् भारतको सर्त

२० वर्षमा तिर्नुपर्ने गरी दिन लागेको सहुलियत ऋण नेपालको आवश्यकता भन्दा भारतले चाहेको ठाउँमा खर्च गर्नुपर्नेगरी उसले सर्त राखेको छ ।

आफूले दिन लागेको रकम ठूला पुनर्निर्माण परियोजनामा खर्च गर्नपर्ने भन्दै भारतले प्रस्ताव गरेको छ ।

जसमध्ये मुख्य रुपमा ऐतिहासिक महत्वका पुरातात्विक सम्पदाहरु पुनर्निर्माणमा लगाउन भारतले प्राधिकरणसमक्ष पटक–पटक अनुरोध गरेको बताइएको छ ।

यसैगरी, उसको ऋण लिएर सञ्चालन गर्ने परियोजनामा प्रयोग हुने समाग्री समेत आफ्नै देशले आयात गरेको हुनुपर्नेलगायतका सर्त राखेको छ ।

सबै सर्त मानेर रकम ल्याउन तयार प्राधिकरण !

देशलाई नै असर पर्नेगरी भारतले राखेका सबै सर्त पुनर्निर्माण प्राधिकरण भने सहमति जनाएको देखिएको छ ।

प्राधिकरणका प्रवक्ता यमलाल भुसालले एक्जिम बैंकले अन्य देशमा पनि ऋण लगानी गर्दा लगाउने सर्तहरु नेपालको हकमा पनि लगाएको बताए ।

भारतबाट ल्याइने रकम कहाँ–कहाँ खर्च गर्ने भन्ने निष्कर्ष निकालिसकेपछि पुनर्निर्माण प्राधिकरण, एक्जिम बैंक र सम्बिन्धत परियोजनाबीच त्रिपक्षीय सम्झौताहरु गरिने प्रवक्ता भुसालले जानकारी दिए ।

...

बुधबार, २३ फागुन २०७४

प्रतिक्रिया

Related