मंगलसेन आक्रमणको १६ वर्ष, उकुच पल्टिएको घाउ, धकेलियो अछाम ५० वर्ष पछाडि

जनप्रतिनिधि वाचा गर्छन् काम पूरा गर्दैनन्– खण्डहर छन् संरचना, उठ्ने कहिले ?
शसस्त्र द्वन्द्वको समयमा अछामको मंगलसेन र साँफेबगरमा २०५८ फागुन ४ गते माओवादीले एकैसाथ आक्रमण गरेको थियो । उक्त स्थानमा आक्रमण भएको अहिले १६ वर्ष पूरा भइसकेको छ ।

मुलुक संघीयतामा गइसकेको छ । मुलुकले पाएको सफलता अहिलेसम्म अछामको मंगलसेन र साँफेबगरले अनुभूति गर्न पाएको छैन ।

अछाममा ध्वस्त भएको विमानस्थल, पुरातत्व दरबार, त्यहाँका भौतिक संरचनाले अझै जिवन्त पाउने छाँटछन्द अझै छैन । अछाम विकास निर्माणको चरणमा ५० वर्ष पछाडि धकेलिदिएको छ ।

विनास भएको अछामका संरचना र त्यस हिंसात्मक गतिविधिबाट स्थानीयमा परेको क्षतीको जवाफ अझै राज्यले दिन सकेको छैन ।

क्षति भएका दरबार उस्तै

आक्रमणबाट ऐतिहासिक अछाम दरबारसहित सम्पूर्ण सरकारी कार्यालय ध्वस्त भएका थिए भने ध्वस्त बनेको १६ वर्ष पुगेको छ ।

पुनर्निर्माण कार्य सुरु भएको पनि १० वर्ष भयो तर अहिलेसम्म दरबार निर्माणको काम अधुरै रहेको छ । त्यहाँ पुग्ने जो कोही खिन्न मन लिएर फर्कन्छन् ।

पुरानै स्वरूपमा पुनर्निर्माण गर्ने भनी काम थालिएको भए पनि जिम्मा लिने ठेकेदारको चरम लापरबाहीका कारणले दरबार अझैँ अधुरै छ । 

प्रजिअसहितले यसरी ज्यान गुमाए

अछाम दरबारमा सुरुमा जिल्ला प्रशासन कार्यालय, तात्कालीन जिल्ला पञ्चायत कार्यालय, मालपोत कार्यालय, जिल्ला अदालत लगायतका कार्यालय सञ्चालन हुँदै आए पनि सदरमुकाम आक्रमण भएको बेला भने त्यहाँ जिल्ला प्रशासन कार्यालय मात्र सञ्चालनमा रहेको थियो ।

आक्रमणमा परि प्रमुख जिल्ला अधिकारी मोहनसिंह खत्री मारिएका थिए । पत्नीसहित राष्ट्रिय अनुसन्धानका निरीक्षक समेतको मृत्यु भएको थियो । नेपाली सेनाका क्याप्टेनसहित तात्कालीन शाही नेपाली सेनाको मंगलसेन गुल्म धोस्त भएको थियो ।

क्याप्टेनसहित ५५ जना सेना सोही आक्रमणमा मारिए । ७७ प्रहरी, ३ निजामती कर्मचारी र दुई सर्वसाधारण गरी मंगलसेनमा एक सय १३७ जनाले ज्यान गुमाए । माओवादीले साँफेबगरमा समेत सोही रात आक्रमण गरेको थियो । विमानस्थल सुरक्षा गार्ड साँफेबगरमा कार्यरत २७ जना प्रहरी पनि त्यही रात मारिएका थिए ।

जनयुद्धको उच्च विजयः माओवादी

तत्कालीन माओवादीले जनयुद्धकै सबैभन्दा ठूलो सफलताको रुपमा मंगलसेन र साँफेबगर आक्रमणलाई लिदै आएको छ ।

जनयुद्धकै ठूलो क्षति र माओवादीको सफल आक्रमणको रुपमा लिएको मंगलसेन र साँफेबगर आक्रमण आज एउटा इतिहास बनेको छ तर त्यही घटनाले क्षति भएको संरचना अझै निर्माण हुन नसक्दा युद्धको भय स्थानीयमा उस्तै छ ।

दरबार निर्मांणमा बाहाना

राजेन्द्र, साउद, तुल्छीदुर्गा, बडीमालीका र कुँवर गरी पाँचवटा निर्माण कम्पनीले दुई करोड २५ लाखमा दरबार निर्माणको ठेक्का लिएका थिए । सुरुमा मीनबहादुर कुँवरको नाममा अख्तियारी आएपछि काम गर्न नसक्दा अरू निर्माण कम्पनी केही रकम लिएर बाहिरियो ।

हाल निर्माणको जिम्मा राजेन्द्र र साउद कन्स्ट्रक्सनले लिएको छ । पुरानै संरचनाअनुसार दरबार निर्माण गर्नुपर्ने हुँदा सालको काठको अभाव हुँदा समयमा निर्माण सम्पन्न हुन नसकेको भन्दै साउद कन्स्ट्रक्सनका सञ्चालक जयबहादुर साउद पन्छिएका छन् ।

बर्सेनी सालको काठ अछामबाट बाहिर निकासी हुने तर त्यहीँ दरबार निर्माणको लागि काठ नभएको बहाना बनाएको भन्दै स्थानीय आक्रोशित भएका छन् ।

सबै गुमाए अछामीले मंगसेन र साँफेबगआक्रमणमा

बैंकमा राखेको जायजेथासहित सम्पूर्ण सम्पत्ति अछामीले गुमाए । पहुँच भएकाले बैंकमा राखेको नगद र गरगहना फिर्ता पाए पनि कतिपय सर्वसाधारणले अझै फिर्ता नपाएको गुनासो गरिरहेका छन् ।

साँफेबगरको विमानस्थल अझै बन्द

बडीमालिका, खप्तड र रामारोशनको केन्द्र भागमा पर्ने साँफेबगर एयरपोर्ट अझै सञ्चालनमा आउन नसक्दा त्यस क्षेत्रमा आर्थिक, सामाजिक र पर्यटन विकासमा बाधा पुगेको स्थानीयको गुनासो छ ।

सदरमुकाको मुहार केही फेरियो तर साँफेउस्तै

१५ वर्षको अवधिमा मंगलसेनको भौतिक स्वरूप फेरिए पनि शिक्षा कार्यालयबाट प्रशासन पुग्न घन्टौं हिँड्नुपर्ने अवस्थाबाट सर्वसाधारण आक्रोशित छन् ।

यसैगरी मुख्य आकर्षणका रूपमा रहेको दरबारको पुनर्निर्माण अलपत्र छ । साँफेबगरबाट विस्थापित कार्यालय पुनः स्थापित हुन सकेका छैनन् ।

विकासको बाधक अछाम

आक्रमण नै अछाम र अछामीको प्रगतिको मुख्य बाधक हो । घटनापछि आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक रूपमा महत्त्व राख्ने अधिकांश मानिस विस्थापित भएर जिल्लाबाहिर गएकाले जिल्लाको सम्वृद्धि पछडि धकेलिएको स्थानीयको बुझाइ छ ।

अछामीले विषेश योजना नपाएका र पाएको योजनामा पनि अनियमितता भएको स्थानीयले आरोप लगाएका छन् । जिल्ला प्रशासन कार्यालयको चुहिने भवन, छत भत्किने डरले प्रजिअ कक्षको बीचबाट टेको दिएर अड्याइएका छन् ।

ठेकेदारहरु निर्माणको ठेक्का हात पार्न मरिहत्ते गर्ने तर पाएको निर्माण कार्य समयमा सम्पन्न गर्न नसक्दा जिल्लाका अधिकांश योजना निर्माणको काममा ढिलाइ हुने गरेको छ । 

५० बर्षपछि धकेलियो अछाम सदरमुकाम

ध्यवस्त भएपछि ५० वर्ष पछाडि धकेलिएको अछामका विकासप्रेमीहरुको बुझाइ छ । अछाम दरबार झन्डै डेढ सय वर्षअघि मंगलसेनका तात्कालीन राजा टीकाभुक शाहको पालामा निर्माण सुरु भई उनका छोरा दलबहादुर शाहको पालामा १९३५ मा निर्माण सम्पन्न भएको हो भन्ने इतिहास छ ।

सरकारले २०२९ सालमा अछामी राजाका सन्तान योगेन्द्रबहादुर शाहबाट ९० हजारमा उक्त दरबार किनेको अछामी इतिहासका ज्ञाता तथा जानकार सुरतबहादुर शाह बताउछन् ।

योगेन्द्रबहादुरका भाइ तपेन्द्रबहादुर शाह सेनाका जर्नेल रहेकाले उनैले सरकारसँग दरबार बिक्रीको व्यवस्था मिलाएको थियो । तीनतले दरबारमा ३० कोठा रहेको थियो ।

२०१४ सालअघि पूर्वी अछामले दैलेख र पश्चिमी अछामले डोटीमा मालपोत बुझाउनुपर्ने व्यवस्था रहेको थियो ।

तात्कालीन राजा महेन्द्र डोटी आउँदा अछामीले अछाममै मालपोत बुझाउन पाउनुपर्ने माग गर्दै दिलबहादुर बुढ्थापाको नेतृत्वकाे टोलीले राजाको घोडा रोकेपछि राजाले मालपोत बुझाउने व्यवस्था अछाममै मिलाइदिएकाे इतिहास रहेकाे स्थानीय लोक बहादुर के.सीले जानकारी दिए ।

त्यसबेला तत्काल अछामको रिडिकोट बयलपाटामा जिल्ला सदरमुकाम कायम गरिए पनि पछि त्यहाँ भौतिक संरचना नहुँदा सदरमुकाम दरबार भएकै कारणले मंगलसेनमा सरेको केसीको भनाइ छ ।

जनप्रतिनिधीको आश्वासन मात्रै सुन्नु परेको अछामीको गुनासो

देश एकात्मक राज्य व्यवस्थाबाट संघात्मक राज्य व्यवस्थामा रुपान्तर भएसँगै अछामी जनताले विकासको अपेक्षा गरेका छन् । स्थानीय तहको निर्वाचन जिते २०७५ सालमै निर्माण सम्पन्न गर्ने भनेर बाचा गरेका थिए । तर, दरबारको कामले अझै निरन्तरता पाउन नसक्दा अछामी जनतामा निराशा थपिएको छ ।

 

अछामबाट: गोविन्द कुँवर

...

शनिबार २६, फागुन ०७४

प्रतिक्रिया

Related