कस्तो छ माथिल्लो तामाकोशीको उन्नति विवरण ?

जग्गा अधिग्रहणमा विरोध हुँदा सवस्टेशन र प्रशारण लाइन निर्माण प्रभावित
निर्माण सञ्चार, काठमाडौँ । ४५६ मेगावाट क्षमताको माथिल्लो तामकोशी जलविद्युत आयोजनाको खर्च चालु आर्थिक वर्षको ६ महिनामा ३३.३३ प्रतिशत पुगेको छ।

समग्र खर्च १८ प्रतिशत मात्रै भैरहेका बेला माथिल्लो तामाकोशीको खर्च प्रगति झण्डै दोब्बर रहेको छ । चालु आर्थिक वर्षमा ५० करोड रुपियाँ बजेट छुट्ट्याएकोमा ६ महिनाको समीक्षा अवधिसम्म १६ करोड ६७ लाख ६७ हजार रुपियाँ खर्च भएको छ ।

गत वर्षको पहिलो ६ महिनामा पनि उक्त आयोजनाको खर्च ३३.३३ प्रतिशत नै रहेको थियो। निर्माण सम्बन्धी कार्यहरुमा सिभिल निर्माण, हाइड्रो तथा इलेक्ट्रोमेकानिकल कार्यहरुमा सन्तोषजनक प्रगति भएपनि सवस्टेशन र प्रशारण लाइन निर्माणमा जग्गा अधिग्रहणमा स्थानीयको विरोध, वन क्षेत्रको रुख कटानमा समस्या लगायतका कारणले प्रगति हुन नसकेको हो।

२०७५ असारसम्म एउटा युनिट सञ्चालनमा ल्याउने र बाँकी सबै युनिट २०७५ पुससम्म सञ्चालनमा ल्याउने गरी काम भइरहेको समीक्षामा उल्लेख छ। राष्ट्रिय गौरवका २१ वटा आयोजनाका लागि छुट्ट्याईएको बजेटमा ६ महिनाको अवधिमा १८ प्रतिशत मात्रै खर्च भएको छ ।

चालु आर्थिक वर्षको लागि उक्त आयोजनाहरुमामा ६३ अर्ब ७० करोड ५४ लाख ४४ हजार रुपियाँ बजेट छुट्ट्याएकोमा ६ महिनामा १२ अर्ब ५ करोड ३५ लाख ६७ हजार रुपियाँ मात्रै खर्च भएको अर्थ मन्त्रालयको अर्धवार्षिक बजेट समीक्षामा उल्लेख छ।

...

बिहीबार २४ फागुन ०७४

प्रतिक्रिया

Related