पहिलो महिला डोजर चालकः जसले २० वर्ष अघि धर्ती मात्रै भत्काइनन्, भत्काइन् सामाजिक कुरीति पनि !

१७ वर्षकै उमेरमा डोजर चालक बनेकी मुनाको एउटा रामकहानी !
निर्माण सञ्चार, काठमाडौँ | महिलाहरु कमजोर हुन्छन्, यिनीहरु दोस्रो दर्जाका हुन् र पुरुषकै सेवाका लागि जन्म लिएका हुन् भन्ने मान्यता राख्ने समाज आजको २१ औं शताब्दीमा पनि मौजुदा नै छ ।

अवसर पाए महिलाले पनि पुरुष सरह उचाइ लिन सक्छन् भन्ने मानसिकता अझै हटिसकेको छैन ।

पहिलेको समयभन्दा पछिल्लो परिवेशमा भने महिलालाई हरेक क्षेत्रमा गरिने व्यवहारमा सुधार हुँदै आएको उदाहरण हो महिलाले पनि डोजर चलाएको ।

महिलालाई हेर्ने त्यही पुरातनवादी सोच हटिनसकेकै समयमा पनि हेभी इक्विपमेन्ट अपरेटरजस्तो जोखिमपूर्ण व्यवसायमा आउन अठोट राख्ने पहिलो महिला हेभी उपकरण (डोजर) चालक बन्न कसरी पुगिन् मुना घिमिरे श्रेष्ठ ।

हाल सडक डिभिजन कार्यलयमा सिनियर अपरेटरका रुपमा अबद्ध श्रेष्ठसँग निर्माण सञ्चारले गरेको कुराकानी–

कति वर्षको उमेरमा यो पेसामा लाग्नुभयो ?

म १७ वर्षको हुँदा यो पेसामा छिरको थिए ।

२०५६ सालदेखि आवद्ध रहेको यो पेसामा निरन्तर लागिपरेको १८ वर्ष पुरा भइसकेको छ ।

१७ वर्षकै उमेरमा हेभी इक्विपमेन्ट अपरपेटरजस्तो जोखिमपूर्ण व्यवसायमा आउनुभयो, कस्ता कस्ता चुनौतीको सामना गर्नुभयो ?

हरेक क्षेत्रमा काम गर्दा चुनौतीहरु त आइपर्छन् नै ।

मैले अँगालेको व्यवसायमा त झन् धेरै चुनौतीहरु आए । त्यो बेलाको समय नै यस्तो थियो जतिबेला महिलाहरु घर बाहिर निस्कने बित्तिकै फलाना छोरी बिग्रई, नाक काटी जस्ता कुरा आउँथे ।

घरपरिवारबाट पनि यस्तो जोखिमपूर्ण काम कहाँ गर्न सक्छौँ भन्ने धारणा आउथ्यो ।

यति हुँदाहुँदै मैले साहस गरेर एकदिन सफल हुन्छु भन्ने विश्वास लिएर आफूले रोजेको बाटो छोड्दै छोडिन ।

व्यवसायमा छिरेपछि पनि निकै समस्या झेल्नुपर्यो । एउटी केटिले कहाँ यस्तो काम गर्न सक्छ भनेर विश्वास नगर्ने, काम नदिने जस्ता समस्या पनि आए ।

महिलाको हिसाबमा यो पेसा अपनाउँदा कतिको सुरक्षा थियो ?

हाल महिला सशक्तीकरण, महिला अधिकारलगायतका विषयमा धेरै सुधार आइसकेको छ ।

त्यो समयमा भने महिलाहरुलाई यस्ता काम गर्न धेरै कठिन थियो । महिलालाई हेर्ने पुरुषहरुको कुदृष्टि, महिला कमजोर हुन्छन् भन्ने आम मानिसको सोचले काम गर्न निकै ग्राहो थियो ।

तर, म सानैदेखि नै नडराउने स्वभावको भएको हुँदा यस्तो अवस्था आइपर्दा पनि नडराइ हिम्मत गरेर अगाडी बढे ।

यसले गर्न सक्दिन भनेर हेप्न खोज्नेलाई पछाडि फर्केर कहिले हेरिन, मात्रै एकिदन सफल हुन्छु भन्ने दृढता बोकेर हिँडे ।

हामी महिला हरेक कुरामा कमजोर बनेर हैन आफ्नो सुरक्षा आफैँ गरेर हिँड्नसक्नुपर्छ ।

 १९ वर्षको अनुभव कस्तो रह्यो ?

१९ वर्षको अवधिमा यो क्षेत्रमा धेरै कुराको अनुभव भयो ।

हेभी औजार लिएर निकै कठिन ठाउँमा जोखिमपूर्ण तवरले काम गरियो ।

आँट गर्यो भने हामीले जस्तो परिस्थितीसँग पनि लड्न सक्ने रहेछौँ भन्ने कुरा मेरो १९ वर्षको लगातारको कडा परिश्रमले सिकायो ।

आफ्नो कमाइप्रति सन्तुष्ट हुनुहुन्छ ?

जति कमाए पनि पुग्दैन, जति नकमाएपनि पुग्छ भनेझैँ काठमाडौँमा १५ हजार कमाई हुनेले छोराछोरि पढाएर घर खर्च धानेका हुन्छन् भने ५० हजार कमाउनेले पैसा नै पुग्दैन भन्ने पनि भेटिन्छन् । यसकारण मेरो क्षमताअनुसार जति पारिश्रमिक पाउँछु, त्यतीमै म सन्तुष्ट हुन्छु ।

मलाईँ आफ्नो कमाईँले आफ्नो जिवन धान्न सहज भएको छ । आफ्नो कामलाई माया गरेर निरन्तर लागेमा जुनसुकै पेसा अँगाले पनि सफल बन्न सकिन्छ ।

आजको नारी दिवसलाई कसरी हेर्नुहुन्छ ?

अन्तराष्ट्रिस्तरमा मनाइने नारी दिवस गलत पक्कै होइन ।

म यसलाई सकरात्मक ढंगले हेर्छु तर एकदिन नारी दिवस मनाएर ३६४ दिन चहीँ नारी वलत्कृत भएको समाचार आइरहनु कतिको सहज होला ?

अहिलेको परिवेशमा पनि छाउपडि प्रथाबाट वर्षेनि सयौँ महिलाको मृत्यु हुन्छ, दाइजो प्रथाबाटै सयौँ महिलालाई जलाइन्छ, हत्या गरिन्छ, शिक्षाबाट वञ्चित गरिन्छ ।

नारी दिवस मनाइन्छ, नारीका अधिकार, हकहितका विषय उठान हुन्छन् तर, हाम्रो समाज परिवर्तन हुन त सकेको छैन ?

यसकारण यी सबै कुरामा आम नारीलाई प्रत्याभूति दिलाउन सके मात्रै नारी दिवसले पूर्ण रुपमा सार्थकता पाउँछ ।

महिलाहरुले पनि आफू सक्षम छु, म  जुनुसुकै परिस्थीतिमा पनि लड्न सक्छु भन्ने आत्मविश्वास लिएर अगाडी बढ्नै पर्छ । 

...

बुधबार २३ फागुन २०७४ 

प्रतिक्रिया

Related