रानीपोखरी भूकम्प अघिको अवस्थामा बनाइने पुरातत्त्वको निर्णय

स्वीकृती बिना महानगरले निर्माण गरेको कंक्रिट संरचना पुरातत्त्वले हटाउने
निर्माण सञ्चार, काठमाडौँ । रानीपोखरीलाई २०७२ को भूकम्प अघि रहेको अवस्थामा फर्काइने पुरातत्त्व विभागले निर्णय गरेको छ ।

यस अघि प्रताप मल्लकालीन शैलीमा फर्काउनुपर्ने सुझाव विज्ञहरुले दिएका थिए । रानीपोखरी पुनर्निर्माणमा कंक्रिट प्रयोग भएको भन्दै विरोध भएपछि काठमाडौं महानगरपालिकाले बनाएको विज्ञ टोलीले मल्लकालीन शैलीमै बनाउन सिफारिस गरेको थियो । तर, पुरातत्व विभागले विज्ञ समूहको प्रतिवेदन कार्यान्वयन गर्न नसकिने बताएको थियो ।

सर्वोच्च अदालतको आदेशको पालना गर्दै भूकम्पअघिकै अवस्थामा फर्काउने निर्णय गरिएको महानिर्देशक भेषनारायण दाहालले जानकारी दिए ।

सर्वोच्चले २ माघमा रानीपोखरी मन्दिरको पुनर्निर्माण रोक्नु नपर्ने र प्रत्येक महिना भएको प्रगतिको विवरण अदालतमा पेश गर्न आदेश दिएको छ ।

बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण पुरातात्विक मर्म विपरित भइरहेको भन्दै रिट परेको थियो । तर, सर्वोच्चले पुनर्निर्माण रोक्नु नपर्ने आदेश दिएको छ ।

महानिर्देशक दाहालले भने, ‘सर्वोच्चले हामीलाई ‘गो अहेड’ भनेको छ । हामीले रानीपोखरीलाई भूकम्पपूर्वको अवस्थामा फर्काउछौँ ।’

पुरातत्वकै पूर्वप्रमुख विष्णुराज कार्की नेतृत्वको विज्ञ समूहले मन्दिरलाई ग्रन्थकुट शैलीमा निर्माण गर्न सिफारिस गरेको थियो ।

सुरुमा रानीपोखरीसँगै मन्दिर महानगरपालिकाले बनाउने जिम्मा पाएको थियो । तर, कंक्रिट प्रयोग भएको भन्दै विरोध भएपछि मन्दिर पुरातत्व आफैंले बनाउने भएको छ ।

पुरातत्त्वले भूकम्पअघिको जस्तै ‘गुम्बज शैली’ मा निर्माण गरिरहेको छ । असारसम्म ठेकेदारले गुम्बज शैलीमै मन्दिर बनाएर पुरातत्त्व विभागलाई हस्तान्तरण गर्ने दाहालले जानकारी दिए ।

महानगरले आफ्नो स्वीकृती बेगेर निर्माण गरेको कंक्रिट संरचना हटाइने पुरातत्वले बताएको छ ।

...

शुक्रबार, २५ फागुन ०७४

प्रतिक्रिया

Related