सहकारीलाई पनि प्रतित पत्रको व्यवस्था गर्ने मन्त्री खतिवडाको उद्घोष

निर्माण सञ्चार, काठमाडौँ । वस्तु निर्यात गर्न सक्ने सहकारीलाई प्रतित पत्र खोल्न सक्ने सुविधा दिने सरकारले योजना अघि बढाउँदै गरेको अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

खतिवडाले भने, ‘निर्यात गर्न सक्ने सहकारीलाई अगाडी बढाउनै पर्ने भएको छ । सहकारी ऐनलाई पुनः परिभाषित गरेर उनीहरुले पनि प्रतित पत्र खोल्ने व्यवस्था गर्नुपर्ने भएको छ ।’

साना किसान लघुवित्त विकास बैंकको १७ औं वार्षिक साधारण सभामा उनले यस्तो बताएका हुन् । आयात नियातका काममा व्यवसायीहरुको भुक्तानीको लागि एउटा देशको वित्तीय संस्थाले अर्को देशको वित्तीय संस्थालाई भुक्तानी सुनिश्चतता प्रदान गर्न प्रतित पत्र जारी गरिदिन्छन् ।

निर्यात बढाउन सहकारीबीच सञ्जालीकरणको काम पनि सुरुवात गर्ने रणनीति अर्थमन्त्रीको रहेको छ । उनले सहकारीबाट मात्र किसानमा लगानी गर्न सक्ने अवस्था नबनेमा अन्य बाहिरी प्रणालीबाट लगानी बढाउने बताए । ‘यो किसानहरुको सरकार हो, आवश्यकता अनुसार किसानमा लगानी बढाउन आफ्नै संरचना समेत बनाउनेछौं,’ खतिवडाले उल्लेख गरे ।

किसान र बजार मूल्य श्रंखलालाई जोड्ने प्रयास पनि गरिने खतिवडाले घोषणा गरेका छन् । साना किसान सहकारीबाट व्यवसाय विस्तार गरिररहेकाहरुलाई ऋणको सीमाले समस्या पर्न थालेकोमा यसबारे पनि सोच्नु पर्ने पुर्व गभर्नर तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष दिपेन्द्रबहादुर क्षेत्रीले बताएका छन् ।

साना किसान लघुवित्त विकास बैंकले सहकारीहरु मार्फत थोकमा कर्जा लगानी गर्दै आएको छ । हाल बैंकले १५ अर्ब रुपियाँ बराबरको ऋण जारी गरेको छ ।

संस्थाले जारी गरेको भाका नाघेको ऋणको हिस्सा एक प्रतिशतभन्दा पनि कम छ । साना किसान लघुवित्तमा कृषि विकास बैंक, नेपाल बैंक, नबिल बैंक, साना किसान कृषि सहकारी र सर्वसाधारणको सेयर लगानी छ ।

...

सोमबार २८, फागुन ०७४

प्रतिक्रिया

Related