दुई करोड लगानीमा जुम्लामा देशकै ठूलो अर्गानिक मदिरा उद्योग !

पाँच वर्षको अवधिमा पाँच गुणा पुँजी वृद्धि, सिजनमा एकसय बढिलाई रोजगारी
‘आठ वर्ष पहिले २ करोडको लगानीमा संचालन भएको अर्गानिक उद्योगबाट अहिले वार्षिक करोड मुनाफा गरिएको छ’  ‘जुम्लामा रहेको एपी ब्रान्डी उद्योग अर्गानिक कच्चा पर्दाथबाट मदिरा उत्पादन गर्ने देशको एक मात्र हो ।’

निर्माण सञ्चार, जुम्ला | सडकको पहुँचले कच्चा पदार्थको सहज आपूर्ति र उत्पादित वस्तुको सहजै निर्यात गर्नसक्ने भएपछि पछिल्लो समय कर्णालीमा उद्योग स्थापना हुने क्रम बढिरहेको छ ।

कर्णालीका सम्भवाना लाई रोजगारीमा बदल्न उद्योग धन्दा विस्तार आजको आवश्यकता पनि हो ।

कर्णालीमा नै पाईने विभिन्न कच्चा पर्दाथको सदुपयोग गरी रोजगारी सृजनाका साथै मुनाफा कमाउन सजिलै सकिने विज्ञहरुले बताएका छन् ।

कर्णालीमा पाईने जडिबुटी, स्याउ, सिमी, ओखरको व्यवसायीकता बल्ल हुन थालेको छ साथै सडकसंजाल कर्णालीमा जोडिएपछि उद्योग धन्दा विस्तारले बढुवा पाएको छ ।

सयौँको संख्यामा कुटानी पिसानी मिल, नेपालकै पहिलो यार्सा मिनिरल वाटर, एपी ब्रान्डी अर्गानिक मदिरा उद्योग कर्णालीका नमुना उद्योगहरु हुन् । जसले रोजगारी सृजनाका साथै आर्थिक मुनाफा लिदै आएका छन् । सोहीक्रममा देशकै ठूलो अर्गानिक मदिरा उद्योग एपी ब्रान्डी जुम्लामा सञ्चालनमा आएको हो ।

मदिरा उत्पादनको क्षेत्रमा भए पनि कर्णालीमा देशकै सबैभन्दा ठूलो अर्गानिक मदिरा उद्योग जुम्लामा सञ्चालनमा आएको छ ।

अर्गानिक फलफूलबाट प्रशोधित मदिरा उत्पादन गर्ने एपी ब्रान्डी देशभरिकै एकमात्र स्थापित अर्गानिक मदिरा उद्योग हो ।

पाँच वर्षअघि दुई करोडको लगानीमा स्थापना भएको उक्त उद्योगले व्यवसायीमा तिव्रता लिँदै गएको छ । सडक सञ्जालको पहुँच पुगेसँगै कर्णालीमा ठूला लगानीका उद्योग स्थापना हुन थालेका छन् ।

यातायातको सहज पहुँच भएसँगै कर्णालीका विभिन्न जिल्लामा स्थानीय उत्पादनका साना–ठूला उद्योग स्थापना हुन थालेका हुन् ।

कुनैबेला सामान्य तयारी वस्तुसमेत बाहिरबाट ल्याउनुपर्ने कर्णालीमा अहिले आन्तरिक उत्पादन निर्यात हुन थालेको छ ।

दुर्गम जिल्ला कर्णालीमा यति ठूलो लगानीमा उद्योग स्थापना गरी सञ्चालनमा ल्याउन सकिन्छ भनेर सोच्नसमेत डराउनेका लागि उक्त एपी ब्रान्डी उद्योग एक उदाहरणीय बन्दै गएको छ ।

प्रविधिको सहज पहुँच नभएको जुम्लामा स्थापित उद्योगले पाँच वर्षको अवधिमा पाँच गुणा पुँजी वृद्धि गरेको छ ।

‘हामीले २०६८ सालमा दुई करोडको लगानीमा उद्योग स्थापना गरेका हौँ’ एपी ब्रान्डी उद्योगका निर्देशक प्रेम महतले भने, ‘हाम्रो मेहनत र धैर्यताका कारण पाँच वर्षमा १० करोडको पुँजी पुर्याउन सफल भयौँ ।’

यसको बजारीकरण शसक्त भएको कारण वार्षिक १ करोडको नाफा हुने गरेको उनको भनाई छ । विभिन्न खर्च छुटाएर देश विदेशको रकमलाई जोडी झण्डै १ करोड बराबर आम्दानी हुने गरेको छ ।

अझै यसको माग बढ्दो क्रममा रहेकाले खर्च सँगै आम्दानी पनि बढ्न सक्ने अनुमान गरिएको छ ।

राजधानीमा विज्ञान विषय अध्ययन गर्न गएका व्यवसायी महतले जुम्लामा पनि अर्गा्निक वस्तु उत्पादन गर्ने विभिन्न उद्योग स्थापना गर्न सकिन्छ भन्ने सोच राखेको बताए ।

 तीन प्रकारका मदिरा उत्पादन

एपी ब्रान्ड उद्योगमा अहिले तीन प्रकारका मदिरा उत्पादन हुने गरेको छ । स्याऊको जुसबाटै निर्मित स्पाइनी बेब्लर, टर्बो र साइडर गरी तीन प्रकारका अर्गानिक मदिरा उत्पादन भइरहेका छन् ।

तीनै प्रकारका मदिरा हाल राजधानी लगायत नेपालका विभिन्न शहर र विदेशमा समेत निर्यात हुँदै आएको छ ।

दैनिक एक हजार लिटर उत्पादन क्षमता भएको उक्त कम्पनीले देशभरका विभिन्न बजारमा पठाउने र आन्तरिक उत्पादनलाई वृद्धि गर्ने योजना बनाएको निर्देशक महतले बताए ।

‘हेर्दा मदिरा उद्योग भएकाले नराम्रो सोच जाग्न सक्छ’ व्यवसायी महतले थपे, ‘जुम्लाका उत्पादित स्याउले बजार भाउ नपाएको अवस्थामा स्याउ खरिद गरी किसानलाई राहत दिन सफल भएको छ ।’

स्याउबाटै तीन प्ररकारका मदिरा उत्पादन गर्दा बजार नपाएका कृर्ष लाई निकै सहज भएको उनको भनाई छ । जिल्लाका दुई÷तीन सय जना किसानको स्याउ खरिद गरी मदिरा उत्पादन गर्ने गरिएको छ ।

जुम्लाको अर्गानिक स्याउबाट उत्पादित भएकाले स्वास्थ्यका लागि निकै लाभदायिक हुने धेरैको अनुभव छ ।

एपी ब्रान्डीको जुम्लामा भन्दा बाहिर जिल्लामा माग बढ्दो छ । जिल्लामा केही सरकारी कार्यालय, केही बरिष्ठहरुले बढी प्रयोग गर्छन् । एक वोतलको कम्तीमा ४ हजार भन्दा माथी पर्दछ ।

सिजनमा एकसय बढिलाई रोजगारी

एपी ब्रान्ड उद्योगमा सिजन अनुसार कर्मचारीको आवश्यक पर्छ । स्याउ टिप्ने समयमा झण्डै एक सय बढी युवाहरुलाई रोजगारी मिल्छ ।

किसानकै बँगैचामा पुगेर स्याउ टिप्ने उद्योगमा पुर्याउने लगायतका काममा युवाले रोजगार पाउँछन् ।

हाल पनि दैनिक रुपमा ७० जना बढी युवाले दैनिक रोजगार पाएका छन् ।

उद्योगी महतले सोही उद्योग सञ्चालनका लागि आफ्नो शिक्षण पेसा समेत त्याग्नुपरेको बताए ।

दुर्गम क्षेत्र भएता पनि उद्योगमा राम्रै कमाई हुने सम्भावना देखेपछि क्याम्पस पढाउने जागिर छोडेर पूर्ण रूपमा उद्योगमा समर्पित भएका हुन्, उद्योगी महत ।

कर्णालीका बेरोजगार युवाहरुलाई रोजगारी दिने सकल्पका साथ खोलिएको उनको कथन छ । उद्योगको क्षमताले धान्ने गरी नै बेरोजगार युवाहरुलाई रोजगारी दिइएको छ ।

विज्ञान विषयमा स्नातकोत्तर गरेका व्यवसायी महतले कर्णालीमा पनि ठूलो लगानीको सम्भावना देखाउनकै लागि आफूले जागिर छोडेर व्यवसायमा लागेको बताए ।

कर्णालीमा उद्योग स्थापनाका लागि थुप्रै लगानीकर्ता उत्सुक भए पनि सबै ठाउँमा सडक सञ्जाल नपुगेकाले समस्या देखिएको छ ।

‘हामीले स्याउ प्रशोधन, जडीबुटीलगायत यहाँको स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न लगानी गर्ने सोच बनाएका छौँ’, अर्का व्यवसायी गणेश रोकायाले भने, ‘तर सबै ठाउँमा सडकको पहुँच पुगेको छैन ।’ साथै दक्ष जनशक्ति पाउनसमेत कठिन छ ।

सरकारले दुर्गम क्षेत्रमा लगानी गर्नका लागि आवश्यक क्षेत्र पहिचान गरी आन्तरिक तथा बाह्य लगानी भित्राउने आकर्षक योजना ल्याउनुपर्ने कर्णाली व्यवसायीको माग छ ।

 यार्सा मिनिरल वाटर उत्पादन हुँदै

कर्णालीमा शुद्ध खानेपानी आपूर्तिका लागि स्थापना गरिएको पानी प्रशोधन उद्योगले पनि गति लिएको छ ।

६ जना व्यवसायीले मिलेर स्थापना गरिएको उद्योगमा एक करोड १० लाखभन्दा बढीको लगानी रहेको व्यवसायी रोकायाले बताए ।

सुर्खेतमा पनि मिनरल वाटरको उत्पादन भई नसकेका बेला कर्णालीमा उत्पादन हुने यार्सा मिनरल वाटरले नेपालगन्ज सुर्खेतलगायत बजारमा व्यवसाय विस्तार गरिसकेको छ ।

पटमाराको उर्थुमा स्थापना गरेको ‘यार्सा’ पानी उद्योगले राजधानीको अन्तराष्ट्रिय विमानस्थलमासमेत पानी निर्यात हुने गरेको छ ।

सोलारबाट सञ्चालन गरिएको उद्योगले बजार लिँदै गर्दा विभिन्न समस्या समेत देखा परेका छन् ।

उद्योगका लागि आवश्यक इन्धनको पर्याप्तता नभएका कारण कर्णालीमा स्थापना हुँदै गरेका स्थानीय उद्योगलाई मुख्य चुनौती बन्दै गएको छ ।

 

सागर परियार, जुम्ला

...

आइतबार, २७ फागुन २०७४

प्रतिक्रिया

Related