कसरी बनाउने भूकम्प प्रतिरोधात्मक घर ?

के हो रेट्रोफिटिंग ? के हो ब्याण्ड प्रयोग ?
निर्माण सञ्चार, काठमाडौँ | भूकम्पको उच्च जोखिममा रहेको देश हो, नेपाल । ठूला–ठूला भूकम्पको चपेटामा परिसकेको नेपालमा भौतिक तथा मानवीय क्षति तीव्र रपमा भएको छ ।

यसको प्रमुख कारण भनेकैै भूकम्पलाई थेग्न नसक्ने कमसल संरचनाहरु नै हुन् ।

सोहीकारण जुनसुकै संरचना निर्माण गर्नुपूर्व भवितव्य घटनालाई सोचेर भूकम्प प्रतिरोधात्मक बनाउन आवश्यक छ ।

यस्ता घर भूकम्पको झट्कालाई सहेर धेरै समयसम्म पनि नढली अडिन सक्छ ।

यसले भविष्यमा हुने घटना न्यूनीकरण गर्न मद्दत गर्छ । गुणस्तरीय घर निर्माण नहुँदा भूकम्पबाट घरले नै पुरिएर धैरैको ज्यान जान जानुका साथै भौतिक क्षति हुन्छ ।

भूकम्प प्रतिरोधात्मक घर बनाउन के गर्ने ?

भूकम्प प्रतिरोधात्मक घर निर्माण गर्नका लागि जग्गा छनोट देखि छाना बनाउँदासम्म संवेदनशील हुन जरुरी हुन्छ । पटक–पटक घर बनाइनरहने हुँदा एउटै घर मजबुद/दिगो बनाउँनु अति आवश्यक छ ।

स्थान छनौट कसरी गर्ने ?

घर बनाउने स्थानको माटो गुणस्तरीय हुनुका साथै जग्गा भिरालो नभएर सम्म हुनुपर्छ । भूकम्पको जोखिम घर बनेको स्थानको आधारमा पनि हुने हुँदा स्थानको छनौट उचित तरिकाले गर्नुपर्छ ।

विशेषगरी समतल भूभाग, दलदल नभएको स्थान, कडा चट्टान भएको, नदीबाट टाढाको जग्गा छान्नु उपयुक्त हुन्छ । चौडा बाटो तथा खुला चौर नजिक घर बनाउँदा अझै उपयुक्त हुने इन्जिनियरहरु बताउँछन् ।

 यस्तो हुनुपर्छ घरको आकार

घर बनाउँदा सोच्नुपर्ने अर्को महत्वपूण विषय हुन घरको आकार । अनियमित आकारका घर बनाउनु अनुचित हुन्छ ।

यसकारण घरको आकार मुख्यगरी वर्गाकार, गोलाकार र आयातकार हुनुपर्छ । यस्ता बनावटका घर भूकम्प आउँदा पनि टिकेर रहनसक्छ ।

यसैगरी, घरको उचाइ र लम्बाइ भने घरको चौडाइको ३ गुणाभन्दा बढी हुनुहुँदैन । हरेको कोठाको लम्बाइ १५ फिटभन्दा कम हुनु आवश्यक छ ।

भूकम्प प्रतिरोधात्मक घर बनाउदा घरको बनोटको र आकारको विशेष ख्याल गर्नु पर्छ।

घरको आकार सकेसम्म वर्गाकार, आयातकार र गोलाकार हुनुपर्छ भने अनियमित आकारहरुको घर चाहिँ बनाउनु हुँदैन ।

कस्तो हुनुपर्छ जग र डि.पि.सि. लेभल ?

घर बनाउँदा जग मजबुत बनाउनपर्छ ।

जगअनुसार घरको दिगोपनको निर्धारण हुन्छ । घर कतिको अग्लो बनाउने हो, सोहीआधारमा जगको गहिराई मापन गरिन्छ ।

घरका सबै जग एकै तहमा राख्नुपर्छ भने सम्पूर्ण पिलरको जगमा हात्तिपाइने ढलान गर्नुपर्छ ।

यस हात्तिपाइलेको जाली, बिम र घरको पिलरमा १२ मिमिको छड राख्नुपर्छ । यस्तै, रिंगको लागि कम्तिमा ५ मिमिको छड प्रयोग गर्नुपर्छ ।

डिपिसि लेभल पुरानै जमिनको सतहभन्दा कम्तिमा पनि १.५ फिट माथि हुनपर्ने बताइएको छ । साथै ९ इन्च १२ इन्च साइजका टाइ बिम राख्नुपर्छ ।

यसैगरी, घरको सबै पिलरहरुलार्य सोही तहमा आर.सी.सी. ढलान टाइ बिमले जोड्नुपर्छ ।

१२/१२ इन्च हुनपर्छ पिलर

घर लाई नै पिलर र बिमले अडाएको हुदाँ पिलर/बिम बलियो हुनुपर्छ ।

मजबुद घर निर्माणका लागि १२–१२ इन्चको पिलर हुन आवश्यक छ ।

यो भन्दा साना पिलरले घर कमजोर हुने हुँदा भूकम्पले घर सजिलै ढाल्छ । बिमको भन्दा पिलरको चौडाइ ३ इन्चले बढी हुनैपर्छ । पिलरभित्रबाटै सम्पूर्ण छडहरु बिममा जानुपर्छ ।

बिमको अन्त्यमा भने पिलभित्र छड आकारमै राखिनुपर्छ ।

यसैगरी, बिम तथा पिलरका डण्डीहरु जोड्दा छडको मोटाइको कम्तिमा ६० गुणा खप्टिने गरी जोड्न जरुरी हुन्छ ।

घरको भित्ता, ढोका र झ्याल कस्तो बनाउने ?

घर निर्माण गर्ने क्रममा घरका सबै भित्ताहरु इट्टाको ९ इन्च गारोले बनाउँनुपर्छ ।

भित्रि गारो भने कम्तिमा ४ इन्च गारोले बनाउनुपर्छ । ९ इन्चकको गारोको लागि मसला बनाउँदा १ भाग सिमेन्ट र ६ भाग बालुवा हुनुपर्छ । ४ इन्चको गारोको लागि भने १ भाग सिमेन्ट र ४ भाग बालुवा हुनुपर्छ ।

मसला बनाइसकेको डेढ घण्टासम्ममा प्रयोग गरिसक्नुपर्छ । प्रतिदिन ५ फिटभन्दा अग्लो गारो लगाउन नहुने बताइएको छ ।

यसैगरी, झ्याल र ढोका बिचका दुरी २/२ फिटको हुनुपर्छ ।

घरका प्रत्येक तलामा एक/एक ओटा ढोका, झ्याल राख्नैपर्छ ।

ती ढोका बाहिर तानेर खोल्न मिल्ने गरी बनाउनुपर्ने इन्जिनिएर सञ्जिव रोकाहाले बताए । सबै ढोका, झ्यालमा सिसाको मात्रा कम गर्नुपर्छ ।

सिसाको प्रयोग भएको ठाउँमा भने प्लाष्टिकको लेमिनेशन गर्नुपर्ने बताइएको छ ।

यस्तो हुनपर्छ छतको बनावट

घरको छत हाल्दा छतको मोटाइ ४ इन्चभन्दा माथि नै हुनुपर्छ ।

ढलान गर्ने समयमा भने बिम र स्ल्याबको ढलान एकैपटक गर्नुपर्छ । हरेक घरका सबै छतमा डबल जालिका लागि ५ मिमिको डण्डी ६ इन्चको दूरीमा राख्नुपर्छ ।

छतको ढलान गरेको २४ घण्टापछि १४ दिन पानिले भिजाइरहनुपर्छ ।

कति हुनपर्छ ढलान मसलाको मात्रा ?

घर ढलानका लागि मसला बनाउँदा १ भाग सिमेन्टमा १.५ भाग बालुवा र ३ भाग गिट्टी मिसाउनु पर्छ । एक बोरा सिमेन्टको लागि २० लिटर पानि जरुरत पर्छ । मसला बनाउन मिक्सर मेसिनको प्रयोग गरिन्छ ।

बनाएको मसला उक्त मेसिनमा २ मिनेटसम्म घोल्नुपर्छ ।

गुणस्तरीय निर्माण समाग्रीको प्रयोग

ढलान गर्दा गुणस्तरीय सिमेन्ट र खस्रो बालुवाको प्रयोग गुर्नपर्छ । यसैगरी, कडा खस्रा गिट्टि र बंग्याउँदा पनि नबङ्ग्याउँदा खिया नलागेको छडको प्रयोग गर्नुपर्छ ।

राम्रो सँग पाकेको चिल्लो सतह भएका इट्टाको प्रयोग गरे मात्रै घर मजबुद बनाउन सकिन्छ । गुणस्तरीय इट्टा ३ फिटको उचाइबाट खसाल्दा पनि फुट्दैन ।

ढलानका लागि फोहोर पानि प्रयोग गर्नु उचित नुहने हुँदा सफा पानीकै प्रयोग गर्नुपर्छ ।

के हो रेट्रोफिटिंग ?

संरचना बनाउन प्रयोग हुने बैज्ञानिक तरिकालाई रेट्रोफिटिंग भनिन्छ ।

यो भूकम्प प्रतिरोधात्मक घर बनाउने सबैभन्दा सस्तो र छिटो तरिका हो । यस तरिकाबाट घरका सबै भागहरु एकआपसमा राम्रोसँग मिलेको हुन्छन् ।

कुनाकुना बलियो बनाउने, पर्खाललाई बलियो बनाउनेदेखि छत ट्रसको पर्खालहरुसँग जोड्न र पर्खालको खुला भागलाई रडले घेर्न यसको प्रयोग गरिन्छ ।

के हो ब्याण्ड प्रयोग ?

ब्याण्ड भन्नाले घर संरचना गर्दा प्रयोग गरिने कंक्रिट र रडको मोटो र बलियो प्लेटलाई बुझिन्छ । घरको पर्खाल र छतमा उक्त ब्याण्ड फिट गर्दा घर बलियो हुन्छ ।

...

मंगलबार, २९ फागुन २०७४ 

प्रतिक्रिया

Related