अब ७५ मेगावाटमै निर्माण हुने भो त्रिशूली–गल्छी आयोजना

चिनियाँ कम्पनीले लगानी गर्नेः १७ अर्ब २६ करोड लागत अनुमान
निर्माण सञ्चार, काठमाडौँ | सिद्धकाली पावर लिमिटेडले अघि बढाएको ७५ मेगावाटको त्रिशूली–गल्छी जलविद्युत आयोजना पूर्ण क्षमतामै निर्माण गर्ने योजना लिइएको छ ।

उक्त आयोजनामा चिनियाँ कम्पनीले लगानी गर्ने सुनिश्चित भएपछि क्षमता नघटाउने निर्णय भएको छ । चिनको कुन कम्पनीले लगानी गर्ने भन्नेबारे भने प्रष्ट छैन ।

यसअघि लगानी अभावका कारण आयोजनाको पुरा क्षमता घटाएर ३२ मेगावाट कायम गर्ने निर्णय भएको थियो । हाल कम्पनीले विद्युत विकास विभागबाट ७५ मेगावाटकै अनुमति लिइसकेको छ ।

त्रिशूली–गल्छी जलविद्युत आयोजना कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपानेका अनुसार आवश्यक लगानी जुटेकाले आयोजनाको पूरा क्षमतामै निर्माण हुने भएको हो ।

चिनियाँ कम्पनीले इन्जिनियरिङ प्रोक्योरमेन्ट कन्सट्रक्सन फाइनान्स (इपिसी–एफ) मोडलमा निर्माण गर्नेबारे प्रक्रिया अन्तिम चरणमा पुगेको अध्यक्ष न्यौपानेले जानकारी दिए ।

ठेक्का पाउने कम्पनीले पनि लगानी गर्ने उनको भनाइ छ ।

स्वदेशी बैंक लगानी गर्न अग्रसर

उक्त आयोजनामा चिनियाँ कम्पनी सहित स्वदेशी बैंक समेत लगानी गर्न अग्रसर भएका छन् । आयोजनाको लागत भने झण्डै १७ अर्ब २६ करोड रुपियाँ अनुमान गरिएको न्यौपानेले बताए ।

सोही रकम अभाव हुँदा आयोजनाको पुरा क्षमता घटाएर ३२ मेगावाट कायम गरिएको थियो ।

 के हुँदैछ आयोजनाको काम ?

अहिले आयोजनास्थलमा आवास गृह, सडकलगायत पूर्वाधार निर्माणधिन छन् ।

कम्पनीका अनुसार आयोजना निर्माणकार्य आउँदो वैशाखबाट थालनी गरेर ३६ महिनामा पूरा गर्ने लक्ष्य लिइएको छ ।

...

मंगलबार, २९ फागुन २०७४ 

प्रतिक्रिया

Related