कर्णालीमा अझै हटेन हवाईयात्राको समस्या, मारमा स्थानीय

कर्णाली प्रदेशमा आन्तरिक उडानको मागः मौन सरोकारवाला
निर्माण सञ्चार, काठमाडौँ | कर्णाली बासीले सदियौदेखि हवाई यात्रामा निकै सास्ती झेल्दै आएका छन् । तर, यस विषयमा नत पहिले केन्द्र सरकारले चासो राख्यो न अहिले प्रदेश सरकाले ।

आखिर कहिलेसम्म हवाई यात्रामा कर्णाली बासीले सास्ती भोगीराख्ने भन्दै कर्णाली बासी बारम्बार गुनासो गरिरहेका छन् ।

निर्माण सञ्चार, जुम्ला | यसै त कर्णाली क्षेत्र रोग, भोक, अशिक्षा, अज्ञानता, गरिबीको चपेटामा छ । त्यसमा पनि कर्णाली प्रदेशको आन्तरिक उडान नहुँदा कर्णालीबासीले निकै सास्ती पाएको अबस्था छ ।

कर्णालीका जुम्ला, मुगु, हुम्ला, डोल्पा र कालिकोटका स्थानीयको घरघडेरी प्रायः सुर्खेतमा नै छ । पहिलेदेखि हालसम्म काम पर्दा हवाई यात्राबाट सहजै कर्णाली प्रदेशको राजधानी सुर्खेतमा झर्न पाएको अबस्था छैन ।

सिंजाका मोती दमाईको सुर्खेतमा घर छ । उनि प्राय आउँदा जाँदा हवाई यात्रा गर्छन् ।

सुर्खेत जानको लागि ५ नम्बर प्रदेशको नेपालगन्ज हुँदै आउनेपर्ने समस्या रहेको उनको गुनासो छ ।

गाडीबाट जाँदा काम भेटाउनपर्ने, हवाई यात्राबाट जाँदा पुरै नेपालगन्ज घुमेर उल्टो आउनुपर्ने भएकाले खर्च व्यवस्थापनमा पनि गाह्रो हुने गरेको मोती दमाई बताउँछन् ।

पहिले सुर्खेतबाट जुम्ला हवाई यात्राका लागि झण्डै ५ हजार माथि आउँदा र ३ हजार २ सय जाँदाको भाडा थियो ।

तर, बिचमा सुर्खेत जिल्लामा हवाई यात्रा बन्द भएपछि अहिले सुर्खेत आउन नेपागन्जको टिकट काट्नुको विकल्प नरहेको स्थानीय हर्ष नेपालीले बताए ।

मारमा जनप्रतिनिधि

कर्णाली प्रदेशभित्र आन्तरिक उडान नहुँदा यहाँका नागरिसहित कर्णाली क्षेत्रका जनप्रतिनिधिहरु झनै मारमा परेका छन् ।

प्रदेश स्तरमा भईरहने विभिन्न बैठकमा उपस्थिती हुन आउँदा गाडिको भर नहुने, हवाई यात्रा गरेपछि घुम्नु पर्ने हुँदा समयमै नपुगिने तिला गाउँपालिका उपप्रमुख विष्णु बुढाले बताइन् ।

उनले भनिन, ‘आन्तरिक उडान नहुँदा अधिंकाश बैठकहरुमा कर्णालीका जनप्रतिनिधि उपस्थिती पनि हुन सकेनन् ।’

प्रदेशस्तरका बैठकमा अनिवार्य आउन पत्रचार गरेपनि गाडीको यात्रा भरपर्दो नहुने तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले भने ।

केही स्थानीय तथा जनप्रतिनिधिहरु आन्तरिक उडान नहुँदा समस्या परेका प्रतिनिधि पात्रहरु हुन । कर्णाली प्रदेशको राजधानी सुर्खेत जान प्रदेश ५ को नेपालगन्ज हुँदै जानु पर्ने बाध्यता यहाँ सबैलाई छ । त्यो बाहेक अरु विकल्प पनि छैन ।

आन्तरिक उडानको माग

कर्णाली क्षेत्रका नागरिकले सबै जिल्लाबाट प्रदेश राजधानी सुर्खेतसम्म सिधा उडान हुनुपर्ने माग गरेका छन् । करिब एक वर्षदेखि जुम्ला–सुर्खेत हवाई सेवा बन्द हुँदा केन्द्र सरकारको यस विषयमा ध्यान केन्द्रित हुन सकेन ।

यस्तै, प्रदेश सरकार बनेको एक महिना बढी हुँदा पनि यसबारे ध्यान नदिएको भन्दै स्थानीय महेन्द्र कार्कीले गुनासो गरे ।

मन्त्रीहरु आफु आउँदा सरकारी हेलिकप्टर चढेर आउने तर सामान्य नागरिक आफ्नो गतव्य जाँदा घुमेर जानुपर्ने समस्यालाई मध्यनजर नगर्नु दुखद पक्ष भएको उनको ठम्याई छ ।

एक साताअघि गरिबी निवारण कोषले सुर्खेतमा आयोजना गरेको कार्यक्रममा सहभागी हुन गएका जनप्रतिनिधिहरू नेपालगन्ज हुँदै पुगेका थिए ।

यसबारे कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहिले प्रदेशभित्र आन्तरिक उडानका बारेमा चासो दिएका थिए ।

कर्णालीका सबै जिल्लाबाट सुर्खेतमा हेलिकप्टर सिधा आउनेजाने व्यवस्थापनका लागि चाडै छलफल थालिने टेलिफोनमार्फत मुख्यमन्त्रीको भनाईलाई उद्धित गर्दै उनका प्रमुख स्वकिय सचिव सुरेश कुँवरले बताए ।

उनले भने ‘पहिले सुर्खेतबाट कर्णालीका सबै जिल्लामा भर्दै आएको उडान के कति कारण रोकिएको हो यस विषयमा बुझी निष्कर्ष निकालिन्छ ।’ ‘प्रदेश सरकारले यस समस्यालाई गम्भीर रुपमा लिएको छ’ गृहमन्त्री नरेश भण्डारीले टेलिफोनमा भने ‘अब कर्णाली क्षेत्रका नागरिक सुर्खेत आउन नेपालगन्ज जानुपर्ने बाध्यात्मक समस्याबाट अहिलेको प्रदेश सरकारले छिटै उन्मुक्ति दिन्छ ।’

जुम्लाबाट सागर परियारको रिपोर्ट

 ...

बुधबार, ३० फागुन २०७४ 

प्रतिक्रिया

Related