इँटा उद्योगी व्यवसायीको प्रथम भेला– सरकारले आफूहरुलाई हेला गरेको आरोप

व्यवसायमा आधुनिकीकरणका लागि सरकारले व्यवसायीलाई सहयोग गर्नुपर्ने माग
निर्माण सञ्चार,बुटवल | प्रदेश नं ५ का इँटा उद्योगी व्यवसायीको प्रथम भेला बुधबार बुटवलमा सम्पन्न भएको छ ।

नेपाल इँटा उद्योगी व्यवसायी महासंघका अध्यक्ष महेन्द्र बहादुर चित्रकारको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त भेलामा प्रदेश नं ५ मा पर्ने विभिन्न जिल्लाका प्रतिनिधि व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

लुम्बिनी इँटा उद्योगी व्यवसायी संघका अध्यक्ष तथा कार्यक्रमका संयोजक थानेश्वर घिमिरेले भेलामा व्यवसायीका समस्याका बारेमा घनीभूत रुपमा छलफल भएको बताए ।

उनले निर्माण सञ्चारसँगको कुराकानीमा इँटा उद्योग भनेको पूर्ण रुपमा हस्तकलामा आधारित व्यवसाय भएको हुँदा सरकारले यस क्षेत्रलाई प्राथमिकतामा राखी अनुदान तथा सहुलियत समेत दिन जरुरी रहेको जिकिर गरे ।

कार्यक्रममा नाम नखुलाउने सर्तमा एक व्यवसायीले इँटा व्यवसायीलाई सरकारले सौताको सन्तानसरहको व्यवहार गरेको समेत बताए ।

त्यस्तै, व्यवसायीले नेपालमा ७०० को हारहारीमा इँटा उद्योग रहेको र यी उद्योगले २० हजार बढी व्यवसायीलाई रोजगारी दिएको बताए ।

तर, सरकारले गर्व गर्नु पर्नेमा उल्टै विभिन्न समस्यामा व्यवसायीलाई पारेको हुँदा व्यवसाय गर्न निकै नै कठिन बन्दै गएको व्यवसायीले गुनासो समेत गरे ।

कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष तथा प्रमुख अतिथि चित्रकारले सरकारले व्यवसायीलाई व्यवसाय गर्न सहयोग पुग्ने गरेर यस क्षेत्रको प्राविधिकको व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

प्राविधिकको अभाव र अदक्ष तथा अद्र्धशिक्षित व्यवसायीले चलाउँदै आएको यो व्यवसायमा आधुनिकीकरणका लागि सरकारले व्यवसायीलाई सहयोग गर्नुपर्ने बताए ।

कार्यक्रममा प्रदेश नं ५ का करिब ३०० इँटा उद्योगी व्यवसायीको उपस्थिति रहेको आयोजकले जनाएको छ ।

भेलाले थानेश्वर घिमिरेको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

...

बिहीबार १ चैत्र २०७४ 

 

प्रतिक्रिया

Related