जुम्लाःऔद्योगिक क्षेत्रको सम्भाव्यताको अध्ययन सुरु, उत्साही उद्योगी

कर्णाली प्रदेशको विकासमा महत्वपूर्ण टेवा पुग्ने व्यवसायीको अपेक्षा
निर्माण सञ्चार, जुम्ला | कर्णाली प्रदेशमा औद्योगिक क्षेत्र निर्माणका लागि सम्भाव्यता अध्ययन सुरु गरिएको छ । सरकारले हरेक प्रदेशमा प्रादेशिक औद्योगिक क्षेत्र स्थापना गर्ने घोषणाअनुसार उद्योग मन्त्रालयले सुर्खेतको साटाखानीमा सम्भाव्यता अध्ययनको काम थालेको हो ।

औद्योगिक क्षेत्रका लागि प्रस्तावित लेकबेंसी नगरपालिकाको साटाखानीमा प्राविधिक टोलीले स्थलगत अवलोकन गरिसकेको छ । यो प्रदेश राजधानी वीरेन्द्रनगरसँगै जोडिएको नगरपालिका हो ।

औद्योगिक क्षेत्रका लागि यसअघि नै स्थानीय रानीचौतारी र खाँडदेवी सामुदायिक वनले जग्गा दिने निर्णय गरिसकेका थिए । सामुदायिक वनको जग्गामा औद्योगिक क्षेत्र स्थापनाका लागि सम्भाव्यता अध्ययनको काम थालिएको हो ।

जग्गा छनोट भएको करिब डेढ वर्षपछि अध्ययन सुरु गरिएको छ । प्रदेशस्तरीय औद्योगिक क्षेत्र स्थापना हुने भएपछि यहाँका उद्योगी र व्यवसायीहरू उत्साही छन् ।

यसले कर्णाली प्रदेशको विकासमा महत्त्वपूर्ण टेवा पुग्ने व्यवसायीको अपेक्षा छ ।

उद्योग मन्त्रालयको प्राविधिक टोलीले उक्त प्रस्तावित क्षेत्रको भौगर्भिक सम्भाव्यता अध्ययन गरिरहेको छ । प्राविधिक प्रतिवेदनका आधारमा सरकारले थप निर्णय लिनेछ ।

यो अध्ययन प्रतिवेदनपछि मात्र डीपीआरको प्रक्रिया अघि बढ्नेछ ।

केपी ओली नेतृत्वको पहिलो कार्यकालमा सरकारले हरेक प्रदेशमा औद्योगिक क्षेत्र निर्माण गर्न बजेट विनियोजन गरेको थियो ।

सामुदायिक वनहरूले औद्योगिक क्षेत्रका लागि आवश्यक एक हजार बिघा जग्गा उपलब्ध गराइसकेका छन् ।

पश्चिममा झुप्रा खोला, उत्तरमा भेडाबारी सडक, दक्षिणमा भेरी नदी र पूर्वमा चिङगाड खोलाको बीचमा रहेको जग्गा प्रस्ताव गरिएको छ ।

टोलीका सदस्यसमेत रहेका औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका इन्जिनियर अमृत शाहीले जग्गाको नापनक्सा, भौगोलिक संकेत, वातावरणीय क्षति र भौगर्भिक अध्ययन गर्न थालेको बताए । ग्रिन राजदेवी कन्सल्टेन्सी प्रालि काठमाडौंले सम्भाव्यता अध्ययन थालेको छ ।

वीरेन्द्रनगर औद्योगिक क्षेत्रका प्रमुख किशोरकुमार पाण्डेले सम्भाव्यता अध्ययनको प्रतिवेदन सकारात्मक आएको खण्डमा औद्योगिक क्षेत्र स्थापनाको बाँकी काम तीव्र रुपमा अघि बढ्ने बताए ।

‘सम्भाव्यता अध्ययनको काम सुरु भैसकेको छ, अब अन्य प्रक्रियाहरू पनि अगाडि बढ्छन्,’ उनले भने, ‘प्राविधिक प्रतिवेदनले उपयुक्त छ भनेमा प्रस्तावित क्षेत्रमै औद्योगिक क्षेत्र स्थापना गर्न सरकारलाई बाटो खुल्नेछ ।’ हाल सुर्खेतको वीरेन्द्रनगरमा सानो औद्योगिक क्षेत्र छ ।

पर्याप्त स्थान, विद्युत् र कच्चा पदार्थको कमीका कारण यसले गति लिन सकेको छैन ।

०३८ सालमा नेदरल्यान्ड सरकारको सहयोगमा सञ्चालित प्राइम मुभर्स इन्डस्ट्रिज प्रोजेक्ट केही वर्षपछि वीरेन्द्रनगर औद्योगिक क्षेत्रमा परिणत भएको थियो । नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको यो औद्योगिक क्षेत्र ९० रोपनीमा क्षेत्रफलमा फैलिएको छ ।

मुलुकका अन्य औद्योगिक क्षेत्रहरूमा विद्युत्को ‘सिंगल फिडर’ जडान छ । तर, वीरेन्द्रनगर औद्योगिक क्षेत्रमा प्राधिकरणले ‘सिंगल फिडर’ जडान गरेको छैन ।

त्यसले गर्दा पनि स्थानीय उद्योगीहरू संकटमा छन् । हाल सुर्खेतमा २५ उद्योग सञ्चालित छन् । ऊर्जा उपकरण, हस्तकलाका सामग्री, फर्निचर, सोयाबिन, खाद्य सामग्री, साबुन, कागजलगायतका वस्तुहरू उत्पादन गरिन्छ ।

यसअघि कर्णालीमा अर्गानिक एपी ब्रान्डी उद्योग, र्यासामिनिरल वाटर उद्योग, लगायत अन्य विभिन्न उद्योगहरु स्थापना भई संचालनमा रहेका छन् ।

जुम्लाबाट सागर परियारको रिपोर्ट

...

मंगलबार, ५ फागुन ०७४

प्रतिक्रिया

Related