करोडौँको लगानीमा स्थापना ‘हाइटेक’ नर्सरीः जुम्लामा ‘भाइरस फ्रि’ स्याउ उत्पादन

एक विरुवाको जराबाट नै २० वटा विरुवा उत्पादन दिनसक्ने क्षमता भएको ‘मदर पलान्ट’ र ‘रुट स्टक’ !
निर्माण सञ्चार, जुम्ला | जुम्लामा १ करोड १७ लाख ५९ हजार ७ सय ५० रकमको लागतमा हाईटेक नर्सरी स्थापना गरी उन्नत जातको स्याउको विरुवा उत्पादन गरिने भएको छ । स्याउ सुपरजोन कार्यक्रम जुम्लाको ८५ प्रतिशत आर्थिक सहयोग र नर्सरी धनीको १५ प्रतिशत लागतमा उक्त हाईटेक नर्सरी स्थापना भएको हो ।

चन्दननाथ नगरपालिका वडा नम्बर ९ उमगाडका दुई जना कृषकहरुले हाईटेक नर्सरी स्थापना गरेका छन् ।

जुम्लाका किसानका स्याउ बगैँचामा बेलाबेलामा रोग तथा किराले निराश वनाएका समयमा जुम्लामै ‘भाइरस फ्रि’ स्याउको विरुवा उत्पादन हुने भएको छ ।

जुम्लामा पाईने स्थानीय जातको स्याउको विरुवा भन्दा दोब्बर उत्पादन दिने मदर पलान्ट र रुट स्टक (विरुवाको जरा) भारतको सिम्लाबाट १० लाख रुपियाँको लागतमा चार सय स्याउको ‘भाइरस फ्रि’ विरुवा ल्याएर स्याउको विरुवा उत्पादन गरिने भएको छ ।

एक विरुवाको जराबाट नै २० वटा विरुवा उत्पादन दिनसक्ने क्षमता भएको उक्त विरुवाबाट पहिलेको विरुवा स्थानीय जातको विरुवा भन्दा छोटो समयमा नै धेरै नाफा लिन सक्ने भएकोले किसानहरुलाई राहत पुग्ने भएको छ ।

भारतबाट माउ(फिमेल) विरुवा ल्याएर जुम्लामा पहिलो पटक उत्पादन गर्न थालेको हाईटेक नर्सरी धनी रतनबहादुर रावतले बताए ।

स्थानीय स्याउको विरुवा भन्दा फरक जातको एम सेरिजको ११, एम सेरिजको ०८ र ०७ जातको स्याउको विरुवाले दोब्बर उत्पादन दिने भएकोले हाईटेक नर्सरीको स्थापना गरेको नर्सरी धनी रावतले बताए ।

जुन पहिले स्थानीय जातको स्याउको नर्सरी स्थापना गरेको ठाँउबाट नै तीन गुणा उत्पादनमा वृद्धि हुने भएकोले हाईटेक नर्सरी स्थापना गरेको उनले बताए ।

जिल्लामा दुई जना किसानले पहिलो पटक अलग–अलग रुपमा हाईटेक नर्सरी स्थापना गरेको रावतले भने ।

विरुवाको लागि टनेलभित्र आवश्यक पर्ने सबै उपकरणबाट उत्पादन हुने भएकोले पनि स्थानीय जातको नर्सरी भन्दा दोब्बर उत्पादन दिने क्षमता भएको उनले बताए । हाईटेक विरुवा जुम्लाको हावापानी अनुकल भएको जुम्लामा सजिलैसँग फलाउन सक्ने स्याउ सुपरजोन जुम्लाका स्याउ विज्ञ रामलाल श्रेष्ठले बताए ।

उनकाअनुसार उक्त स्याउको मदर पालान्ट र विरुवाको जराले वर्षमा दुई पटक विरुवा उत्पादन गर्ने क्षमता भएको र जुम्लाका किसानहरुलाई स्याउका विरुवा आफैँ उत्पादन गरि आत्मनिर्भर हुनको लागि पनि यो नयाँ प्रविधि हाईटेक विरुवा उत्पादन गर्न सहयोग र सल्लाह दिइएको छ ।

जिल्लाका स्याउका नर्सरी किसानहरुलाई पनि यो हाईटेक नर्सरी स्थापना गरि विरुवा उत्पादन गर्ने वातावरण स्याउ सुपरजोनले बनाउने लक्ष्य लिएको समेत श्रेष्ठले बताए । धेरै उत्पादन दिने तथा भाइरस फ्रि विरुवामा रोग लाग्ने सम्भावना कम हुने र यसले गर्दा जिल्लालाई स्याउमा आत्मनिर्भर बनाउन सक्ने स्याउ विज्ञ श्रेष्ठले बताए ।

एम सेरिजको ११, एम सेरिजको ०८ र ०७ जातको स्याउको विरुवाले दोब्बर उत्पादन दिने र भारतबाट स्याउका विरुवा ल्याउनुभन्दा मदर पलान्ट र रुट स्टक (स्याउको जरा) बाट स्याउका विरुवा उत्पादन गर्न उत्तम भएकाले जुम्लामा पहिले पटक हाईटेक नर्सरी स्थापना गरिएको स्याउ सुपरजोन कार्यक्रम जुम्लाका प्रमुख टिकाराम शर्माले बताए । जुम्लाका समय सुख्खा भईरहने भएकोले रोग तथा किरा लाग्ने सम्भावना कम भएको र जति सुख्खा हन्छ त्यति विरुवामा रोग तथा किरा कम लाग्ने समेत प्रमुख शर्माले बताए ।

पहिले नर्सरी किसानले नै हाईटेक विरुवाबाट स्याउ नमुना परिक्षण गरि मात्र आम किसानहरु सामु पुर्याउने प्रमुख शर्माले बताए ।

जुम्लाबाट सागर परियारको रिपोर्ट

...

सोमबार, ५ फागुन ०७४

प्रतिक्रिया

Related