‘मानव बेचविखन गर्नेका अब दिन गए’– श्रममन्त्री विष्ट

निर्माण सञ्चार, काठमाडौँ । अवैधानिकरुपमा मानव बेचविखन गर्ने, यौन व्यवसायको लागि तेस्रो मुलुक हुँदै मानव पठाउने, तोकिएकोभन्दा बढी रकम लिएर विदेश पठाउनेजस्ता अवैधानिक काम गर्नेका दिन सकिएको श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले बताएका छन् ।

मंगलबार नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का पदाधिकारी तथा प्रतिनिधिलाई बधाई तथा शुभकामना दिन पुगेका विष्टले यस्तो कुरा बताएका हुन् । साथै, उनले स्वदेशमा नै रोजगारीको अवसर सिर्जना गर्नतर्फ आफूले प्राथामिकता दिने बताएका छन् ।

यसका लागि सरकार, रोजगारदाता र ट्रेड युनियन मिलेर अगाडी बढ्नुपर्ने बताए । विष्टले श्रमको क्षेत्रमा तत्काल केह िसुधार गरी सबैको सल्लाह लिएर उचित निर्णय गर्न सुझाव दिए ।

जिफन्टका सचिव रमेश बडालले श्रम ऐन बमोजिम केन्द्रिय श्रम सल्लाहकार समिति गठन गर्न तथा हाल कानुन मन्त्रालयमा पुगेको श्रम नियमावली छिटो पारित गर्न आग्रह गरे ।

यसैगरी उनले स्थाई न्युनतम पारिश्रमिक निर्धारण समिति गठन गरी काम सुरु गर्न सुझाव दिए । सामाजिक सुरक्षा कोषलाई निजामती कर्मचारीबाट नभई विज्ञ मार्फत नेतृत्व गर्न कार्यकारी निर्देशक, निर्देशकहरु र केही कर्मचारी तुरुन्त नियुक्ति गर्न आवश्यक रहेको भन्दै प्रत्येक प्रदेशमा सामाजिक सुरक्षा कार्यलय स्थापना र सञ्चालन तत्काल गर्न आवश्यक रहेको पनि सचिव बडालले जानकारी गराए ।

श्रमिक दर्ता गरी राष्ट्रिय परिचयपत्रसंग जोडेर वा तत्काल आफ्नौ सामाजिक सुरक्षामा रोजगारदाता र श्रमिक दर्ता हुने प्रणाली ऐन बमोजिम सुरु गर्नु आवश्यक रहेको बडालले बताए ।

...

बुधबार ७, चैत्र ०७४

प्रतिक्रिया

Related