कृषिमा आधुनिकीकरण नहुँदा समस्याः सयौँ रोपनी जग्गा बाँझै

जुम्लामा ४ ट्याक्टर वितरण, उत्पादन बढ्ने विश्वास
निर्माण सञ्चार, जुम्ला | कृषिमा आधुनिकीकरणको अभावले हिमाली क्षेत्रमा लक्ष्यअनुसारको उब्जनी हुँदैन । परम्परागत शैलीमा गरिने खेतीपातीले उत्पादकत्व ह्रास हुँदै गइरहेको अवस्था छ ।

खनजोतदेखि मलजलसम्मका विविध पक्षमा आवश्यक ज्ञान तथा साधन नहुँदा हिमाली जिल्लाको कृषि क्षेत्रमा निकै समस्या देखिएको छ ।

बढी बलौटे माटो रहेको हिमाली क्षेत्रमा नत कुनै आधुनिक औजारको प्रयोग हुन्छ । न त कृषिको लागि नयाँ ज्ञान नै छ । सबै पुरानै शैलीले गर्दा रैथाने बालीहरु विस्तापित हुँदै गएको कृषि विज्ञहरु बताउँछन् ।

समय अनुसारको खेतीपाती गर्न आवश्यक ज्ञान चाहिन्छ । बाली संरक्षण अधिकृत चन्द्रबहादुर बुढाले भने, मान्छेकै भर गर्दा सयौँ रोपनी जग्गाहरु बाझा हुन्छन् ।’ तर, सरोकारवालाहरुले किसानलाई आधुनिकीकरणतर्फ लान आवश्यक रहेको उनको बुझाइ छ ।

यसले गर्दा कर्णालीमा उत्पादन बढ्न सकोस भन्ने उनको अपेक्षा रहेको छ । तर, संघिय संरचनापछि केही कुरा पक्कै सहजता भएको नागरिकहरुको अनुभव छ । गाउँ गाउँमा सडक पुगेका छन् । खानेपानी शिक्षा, संचारमा पनि उत्तिकै प्रथामिकतामा परेको छ ।

तर, जुम्लाको पातारासी गाउँपालिकाले कृषि क्षेत्रको समृद्धिका लागि यहाँका व्यवसायीक किसानलाई आधुनिक हाते ट्याक्टर वितरण गरेको छ ।

पातारासी गाउँपालिका कृषि शाखाले झण्डै १८ समूहलाई ४ ओटा ट्याक्टर वितरण गरेको कृषि संयोजक लक्षिराम महतले बताए । उनकाअनुसार खनजोतमा सहजता ल्याउन, खनजोतकै अभावले बाँझा रहेका जग्गाहरु प्रयोगमा आउन भन्ने सोचले ट्याक्टर वितरण गरिएको हो ।

इन्धनमार्फत संचालन हुने आधुनिक ट्याक्टर लेक बेसीका खेतमा खनजोत गर्छ । महतले थपे ‘सबै जग्गा सदुपयोग भए उत्पादन अवश्य पनि बढ्ने धेरैको अनुमान छ ।’

कृषि शाखा पातारासीको लागतमा खरिद गरी वितरण गरिएको वरिष्ठ कृषि विकास अधिकृत भरत प्रसाद कँडेलले बताए ।

बाँझो जग्गामा अब उब्जनी

खनजोतको अभावमा बाँझै रहेको जग्गाबाट अब उब्जनी बढ्ने किसानहरुको आशा छ ।

घर नजिकैका खेतबारीमा मात्रै खनजोत गर्ने तर घर भन्दा टाढा रहेका जग्गामा खनजोत गर्न नसकि बाँझो रहेका जग्गा अब प्रयोगमा आउने टयाक्टर पाएका कृषक तारा बोहोराले बताए ।

अब सबै ठाउँमा खनजोत हुने भन्दै मलजल गरी उत्पादन बढाइने उनको भनाइ छ । पातारासीका १८ वटा समूहलाई लक्षित गरी ४ वटा ट्याक्टर वितरण गरिएको हो । कृषकले टयाक्टर पाएपछि निकै खुसी भएका छन् । ‘अब ढुक्क भएर कृषि खेतीपाती गरिने भइयो’ अर्का किसान पुष्पा बोहोराले भनिन् ।

कृषिलाई आधुनिकीकरण गर्न सघाउने निकायप्रति पनि उनले आभार व्यक्त गरेका छन् । विभिन्न गाउँका व्यवसायीक कृषकहरुलाई छनौट गरी वितरण गरिएको गाउँपालिका अध्यक्ष लक्षिमन बोहोराले जानकारी दिए । अहिले वितरण गरिएका हाते ट्याक्टरहरु समूहमा रहेका किसानहरुले मिलेर संचालन गर्नेछन् ।

एक घण्टामा एक लिटर इन्धन लाग्ने र एक रोपनी जग्गा जोत्न सकिने बताइएको छ । पातारासी क्षेत्रमा रहेको कृषि सम्भावनालाई मध्यनजर गरी ३ लाख ६० हजारको लागतमा खरिद गरी पुरै अनुदानमा कृषक समूहलाई वितरण गरिएको हो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको आर्थिक सहयोग तथा पातारासी गाउँपालिका कृषि शाखाको समन्वयमा ट्याक्टर वितरण गरिएको बताइएको छ ।

ट्याक्टरले पातारासी क्षेत्रमा रहेको विभिन्न ब्लक क्षेत्रलाई पनि सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।

...

शनिबार, १० फागुन ०७४ 

प्रतिक्रिया

Related