कोरिया भाषा परीक्षाको आवेदन आजबाट, लाइन लाग्नुपर्ने पुरानै बाध्यता

ग्लोबल आइएमी बैंकमा रातिकाे ३ बजेदेखि लाइन, टाेकनकाे व्यवस्था नहुँदा सेवाग्राही मर्कामा
निर्माण सञ्चार, काठमाडौँ । कोरियामा रोजगारीका लागि जान चाहनेका लागि बिहीबारबाट रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षाको आवेदन खुलेको छ ।

भाषा परीक्षाको आवेदन अनलाइनमार्फत् भर्ने व्यवस्था छ । तर बैंकमा पैसा जम्मा गर्ने आवेदनकर्ताको लाइन लाग्नुपर्ने बाध्यता जस्ताको तस्तै छ ।

आवेदन गर्दा लाइन बस्ने झन्झट गत वर्षबाटै हटाइएको थियो । तर, बैंकमा शुल्क तिर्न भने लाइन बस्नुपर्ने बाध्यता कायमै छ ।

सेवाग्राही रातिको तिन बजेदेखि लाइनमा बसिरहेका छन् । बैंकले टोकनको व्यवस्था नगर्दा सेवाग्राहीलाई प्रत्यक्ष मार परेको छ ।

भुक्तानी प्रक्रिया कस्तो छ ?

आवेदन भर्दा २४ डलर शुल्क तोकिएको छ । यो शुल्क ग्लोबल आईएमई बैंकको जुनसुकै शाखाबाट जम्मा गराउन सकिन्छ । त्यसैले ग्लोबल आईएमई बैंकका शाखाहरुमा बैंक खुल्नुभन्दा अघिदेखि नै लामो लाइन लागेका छन् ।

वैदेशिक रोजगार विभागको ईपीएस कोरिया शाखाका अनुसार फारम भर्ने म्याद चैत १७ गतेसम्म छ । १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको (२०३४ साल चैत १० देखि २०५६ साल चैत ९ सम्म जन्मिएका) नेपाली नागरिकले भाषा परीक्षाको आवेदन दिन सक्नेछन् ।

परीक्षा मिति

भाषा परीक्षा जेठ २६ र २७ गते हुनेछ । आवेदन भर्दा पोखरा केन्द्र छनोट गर्ने पहिलो १२ हजारले मात्रै त्यहाँबाट परीक्षा दिन पाउनेछन् । अन्य सबैले काठमाडौंमा परीक्षा दिनुपर्नेछ ।

यसपटक कुल ७ हजार एकसय जना उत्तीर्ण गर्ने योजना छ । त्यसमध्ये उत्पादनमुलक क्षेत्रमा चार हजार ८ सय र कृषि क्षेत्रमा दुई हजार ३०० कोटा निर्धारण गरिएको ईपीएस कोरिया शाखाले जनाएको छ ।

...

बिहीबार ८, चैत्र ०७४

प्रतिक्रिया

Related