पछिल्ला दिनमा बन्दुकधारीहरुले स्कुले बालबालिकालाई गोली हानी मार्न थालेपछि बन्दुक नियन्त्रणको मागसहित ५ लाख बढीले वाशिङ्टन डिसीमा प्रदर्शन गरेका छन् ।
विद्यार्थीहरुको अगुवाइमा देशैभर प्रदर्शन भइरहेका छन् । प्रदर्शनकारीहरुले ‘प्रोटेक्ट किड्स नट गन’ अर्थात् ‘बच्चाको रक्षा गर, बन्दुकको होइन’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका छन् ।
उनीहरुका कार्डमा ‘बन्दुकभन्दा विद्यार्थी महत्वपूर्ण छन्’ लेखिएका छन् । बन्दुक विरुद्ध यसरी पहिलो पटक अमेरिकामा विशाल प्रदर्शन भएको हो ।
अमेरिकामा सन् २०१६ मा ११ हजार व्यक्तिले बन्दुक आक्रमणबाट ज्यान गुमाएको तथ्यांक छ ।
‘मार्च फर आवर लाइभ्स’ नारासहित सबैभन्दा ठूलो प्रदर्शन राजधानी वाशिङ्टन डिसीमा भएको छ भने बिबिसी अनुसार यस्ता प्रदर्शन अमेरिका भर आठ सयभन्दा बढी स्थानमा भएका छन् ।
अमेरिकीहरु बन्दुक विरुद्ध कानुन बनाउन ट्रम्प सरकारलाई दबाब दिन चाहन्छन् । विद्यार्थीलाई साथ दिदै पेसाकर्मीहरु, आम नागरिक समाज बन्दुक विरुद्ध उत्रिएको हो ।
एडिनबर्ग, लण्डन, जेनेभा, सिड्नी र टोकियोमा समेत यस्तै प्रदर्शन भएका छन् ।
अमेरिकी जनताहरु यस प्रदर्शनमार्फत् बन्दुक नियन्त्रणसम्बन्धी कानून बनाउन नेताहरूलाई दबाव दिइरहेका छन् । तर, उनीहरुको विरोधलाई राष्ट्रपति ट्रम्पले नसुनेको उनीहरुको आरोप छ ।
विरोध प्रदर्शनमा उत्रिएका जनतालाई अघिल्लो दिन जवाफ दिदै राष्ट्रपति ट्रम्पले ‘विद्यार्थीको सुरक्षा भएन भने उनीहरुलाई पनि गन दिनू’ जस्तो उटपटाङ जवाफ दिएको भन्दै आलोचना भएको थियो ।
अमेरिकाको फ्लोरिडामा १७ स्कुले विद्यार्थीलाई एक बन्दुकधारीले अन्दाधुन्द गोली चलाएर मारेपछि बन्दुक नियन्त्रणको माग चर्को गरी उठेको हो । गएको वर्ष पनि लसभेगासमा बन्दुकधारीको आक्रमणबाट ५८ जनाले ज्यान गुमाएका थिए ।
...
आइतबार, ११ चैत, ०७४
प्रतिक्रिया