कति महिनाका लागि भारतसँग नयाँ पिपिए ? कति मेगावट विद्युत आयात गर्दैछ प्राधिकरण ?

अहिलेकै दरमा विद्युत दिन प्राधिकरणको अडान, वर्तमान दरमा दिनै नसकिने भारतीय पक्षको दाबी
निर्माण सञ्चार, काठमाडौँ | नेपाल विद्युत प्राधिरणले भारतसँग फेरि नयाँ विद्युत खरिद सम्झौता (पिपिए) नविकरण गरेको छ ।

प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन हुँदै भारतबाट विद्युत किन्न १५ महिनाका पिपिए नविकरण गरेको छ ।

भारतको नयाँ दिल्लीमा बुधबार भएको सम्झौतामा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ र एनटिपिसी विद्युत व्यापार निगम (एनभिभिए)का प्रमुख कार्यकारी अधिकृत अरुणकुमार गर्गले हस्ताक्षर गरेका हुन् ।

प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीका अनुुसार पिपिए गर्नेबारे प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहितको टोली सोमबार दिल्ली पुगेको थियो ।

तीन दिने छलफलपछी मात्रै सम्झौता हुनसकेको प्रवक्ता अधिकारीले जानकारी दिए ।

उनले सन् २०१८, अप्रिलबाट लागू हुने गरी १५ महिनाका लागि सम्झौता भएको बताए ।

अन्तरदेशीय प्रसारण लाइनबाट किन्ने विद्युतको पिपिए अब सन् २०१९, जुन सम्म रहने प्रवक्ता अधिकारीको दाबी छ ।

यसअघि २७ डिसेम्बर २०१७ मा नविकरण भएको पिपिए १७ चैत (३१ मार्च) मा नसकिँदै प्राधिकरणले नयाँ पिपिए गरेको हो ।

अधिकारीका अनुसार पिपिए भएपछि ढल्केबर–मुजफ्फरपुरबाट १ सय २० मेगावाट विद्युत आयात गर्ने आधार सुनिश्चित भएको अधिकारीले बताए ।

वर्तमान दरमा नै विद्युत् दिन प्राधिकरणले अडान गरेता पनि भारतीय बजारमा मूलय बढेको बताउँदै भारतीय पक्षले हालको दरमा दिन नसकिने दाबी गरेको छ ।

‘प्राधिकरणले अहिलेकै दरमा विद्युत दिन अडान राख्यो, भारतीय बजारमा मूल्य बढेकाले वर्तमान दरमा दिनै नसकिने भारतीय पक्षको अडान रह्यो,’ प्रवक्ता अधिकारीले भने, ‘६ महिनासम्म प्रतियुनिट ३.९८ भारु (६.३६ रुपियाँ) र बाँकी अवधिका लागि उक्त मूल्यमा ५ प्रतिशत वृद्धि हुने गरी सम्झौता भएको छ ।’

यसअघि प्राधिकरणले प्रतियुनिट ३.६० भारु (५.७६ रुपियाँ) मा विद्युत खरिद गर्दै आएको थियो । अब भने प्राधिकरणले सन् २०१८ को अप्रिलदेखि ६ महिनासम्म प्रतियुनिट ३.९८ भारु (६.३६ रुपियाँ) मा किन्ने भएको छ ।

बाँकी ९ महिनाका लागि सम्झौता दरमा ५ रुपियाँ) मूल्यमा विद्युत किन्ने भएको हो ।

१ सय २० मेगावाट विद्युत १५ महिनासम्म निरन्तर आयात भइरहने हो भने सम्झौता मितिदेखि सुरु ६ महिनामा प्राधिकरणले ३ अर्ब २९ करोड ७० लाख रुपियाँ भुक्तानी गर्नुपर्ने प्रवक्ता अधिकारीले जानकारी दिए ।

यस्तै, बाँकी ९ महिनामा ५ अर्ब १९ करोड ४३ लाख रुपियाँ तिर्नुपर्ने उनको भनाई छ ।

हालको तुलनामा नयाँ दरमा विद्युत किन्दा प्राधिकरणलाई १ अर्ब २ करोड ६४ लाख रुपियाँभन्दा बढी आर्थिक भार थपिने भएको छ । गत वर्ष भारतबाट प्राधिकरणले २० अर्ब रुपियाँभन्दा बढीको विद्युत किनेको छ ।

सोही अवस्था हाबी हुँदा विद्युतमा भारतमाथिको निर्भरता बढ्दै जाने देखिन्छ ।

नेपाल–भारत सचिवस्तरीय विद्युत व्यापार संयन्त्रको बैठकको निर्णयअनुसार प्राधिकरणले अन्तरदेशीय लाइनबाट विद्युत किनिरहेको छ ।

वातावरण प्रदुषण कम गर्न भारतीय सर्वोच्च अदालतले न्यूनस्तरको इन्धन पेट्रोलियम कोक (पेट कोक) र फर्नेस आयलमा प्रतिबन्ध लगाउँदा त्यसबाट विद्युत उत्पादन गर्ने प्लान्ट बन्द भएका छन् ।

पेट कोकबाट कोइला प्रतिस्थापित हुँदा विद्युत उत्पादनमा प्रयोग हुने इन्धन मूल्य २४ देखि ३५ प्रतिशत बढी पर्ने भारतीय अधिकारीले बताएका छन् ।

सोही कारण भारतको विद्युत एक्सचेन्ज बजारमा मूल्य महँगो रहेको लगायतका कारण देखाउँदै भारतले प्राधिकरणले माग गरेअनुसार विद्युत दिन नसकेको प्रवक्ता अधिकारीले जानकारी दिए ।

...

बिहीबार १५, चैत्र ०७४ 

प्रतिक्रिया

Related