नुवाकोटका २० हजार भूकम्प पीडितले खाए अनुदान, बनाएनन् घर !

कूल लाभग्राहीमध्ये तोकिएको मापदण्डअनुसार दोस्रो किस्ता पाउने लाभग्राही ६५.१६ प्रतिशत, तेस्रो किस्ता पाउने ८.४३ प्रतिशत
निर्माण सञ्चार, नुवाकोट | ०७२ वैशाखको भूकम्पले क्षति पुगेको नुवाकोटका आवासको पुनर्निर्माण अझै हुन सकेको छैन ।

भूकम्प प्रभावितमध्ये ४४ हजार ४ सय ८५ परिवारले मात्रै जग हालेर घर निर्माण सुरु गरेका छन् । यो संख्या कुल क्षति घरमध्येको दुई तिहाइ हो ।

जिल्ला आयोजना कार्यान्वय इकाइकाअनुसार ६९ हजार २ सय ८९ परिवार लाभग्राहीमध्ये सरकारी अनुदान प्रक्रियामा समावेश हुन प्राविधिक सहयोग लिएर घर निर्माण गर्ने लाभग्राहीको संख्या दुई तिहाइभन्दा बढी रहेको छ ।

त्यस्तै, ४१ हजार ७९४ ले घरको जग तहसम्म निर्माण गरी दोस्रो किस्ता अनुदान लिन निवेदन दिएका छन् ।

जसमध्ये ४१ हजार २२५ परिवार मात्रै दोस्रो किस्ताका लागि योग्य ठहरिएका छन् ।

६४ हजार ५३ लाभग्राहीले भूकम्प प्रतिरोधात्मक आवास निर्माण गर्न सम्झौता गरी पहिलो किस्ताबापत ५० हजार अनुदान लिइसकेका छन् ।

इकाइ प्रमुख बिदुर खड्काले भने ‘घर बनाउन भनी पहिलो किस्ता लिएकामध्ये अझै २० हजार परिवारले घर बनाउन सुरु गरेका छैनन् ।’

पुननिर्माण प्राधिकरणले यही चैत मसान्तभित्र घरको जग तह निर्माण गर्नेलाई मात्र अनुदान उपलब्ध गराउने जनाएको छ ।

‘सरकारी निर्णयका आधारमा २० हजार परिवार अनुदान सुविधाबाट बञ्चित हुनसक्ने जोखिम देखिएको छ’, उनले भने ।

आवास निर्माणका लागि निर्माण सामग्री सहज नहुनु, दक्ष कामदारको अभाव, प्राविधिक जानकारी पाउन भन्झटिलो व्यवस्था, बजार क्षेत्रमा सडकले दायाँबायाँ ओगट्ने क्षेत्र स्पष्ट नहुँदा निजी आवास निर्माणमा अपेक्षाभन्दा ढिला भएको पुननिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालयका निमित्त प्रमुख वेदप्रसाद गौडेलले बताए ।

‘४१ हजार ७ सय ९४ परिवार दोस्रो किस्ता अनुदानका लागि सिफारिस भएका छन्’, गौडेलले भने, ‘आवास निर्माण सम्पन्न गरी तेस्रो किस्ताका लागि पाँच हजार ४ सय ८ परिवार मात्रै योग्य देखिएका छन् ।’

सरकारी तथ्यांकअनुसार कूल लाभग्राहीमध्ये तोकिएको मापदण्डअनुसार दोस्रो किस्ता पाउने लाभग्राही ६५.१६ प्रतिशत छ । तेस्रो किस्ता पाउने ८.४३ प्रतिशत मात्र रहेका छन् ।

निर्माण सम्पन्न भएका १२ हजार ६५२ घरले तोकिएको मापदण्ड पूरा नगर्दा अनुदान सिफारिस रोकिएको इकाइले जानकारी दियो ।

...

सनिबार, १७ चैत ०७४

प्रतिक्रिया

Related