गुणस्तरीय निर्माणका लागि लोएस्ट विडिङ नै बाधक –ई.सञ्जीव प्रसाद शाह

वैदेशिक लगानी भित्र्याउनका लागि व्यवसायीमैत्री कर्मचारीतन्त्र आवश्यक
निर्माण सञ्चार,काठमाडौं । गोर्खा पुर्खाैली घर भएका सञ्जीव शाह काठमाडौंका स्थायी बासिन्दा हुन् । काठमाडौंको बूढानीलकण्ठ स्कूलबाट सन् १९८० मा एसएलसी सकेका शाहले जर्मनीबाट सिभिल इन्जिनियरिङमा स्नातक गरेका छन् । जर्मनीमा गएर स्नातक गरेका शाहलाई जर्मनीको विकास र सुविधाले तान्न सकेन ।

उनी आफूले सिकेको ज्ञान, सीप र क्षमतालाई आफ्नै देशमा गएर देश विकासमा योगदान पुर्याउँछु भन्ने सोंचले उनी सन् १९९० मा नेपाल फर्किए ।

नेपालमा आएपछि आफ्नो ज्ञान र सीपलाई सदुपयोग गर्नका लागि र नेपालको विकासको गतिलाई नजिकबाट बुझ्नका लागि एक इन्जिनियरिङ रिसर्च एण्ड कन्स्ल्टेन्सीमा काम सुरु गरेको बताउँछन् शाह ।

हालसम्म आइपुग्दा शाहले वल्र्ड ट्रेड विजनेस कन्सर्न प्रा.लि तथा त्रिपुरा कन्स्ट्रक्सन कम्पनी प्रा.लिका माध्यमबाट ठूलठूला भवन तथा स्कूलका भवनहरु निर्माण गरिसकेको बताउँछन् ।

उनै इन्जिनियर तथा निर्माण व्यवसायी सञ्जीवप्रसाद शाहसँग निर्माण सञ्चारले नेपालमा भौतिक पूर्वाधारको अवस्था, निर्माण क्षेत्रका समस्या र नीतिगत सुधारका पक्षका साथै उनको भावी योजनाका विषयमा छलफल गरेको छ । प्रस्तुत छ इन्जिनियर शाहसँग निर्माण सञ्चारले गरेको कुराकानीको सारसंक्षेपः

रिसर्च एण्ड कन्स्ल्टेन्सीमा काम गरिरहेको एक युवा इन्जिनियरलाई कसरी आफैं कम्पनी खोल्ने सोच आयो त ?

म उक्त रिसर्च सेन्टरमा नै काम गरिरहँदा एक व्यक्तिले मलाई जग्गा पनि किनिदिनु पर्ने र घर पनि बनाएर उहाँलाई हस्तान्तरण गर्नुपर्ने भन्ने प्रस्ताव लिएर आए । यो कुरा करिब वि.सं २०४६ सालमा हो ।

मैले उक्त प्रस्तावलाई स्वीकार गरें । उक्त समयमा जग्गाको मूल्य पनि सस्तो र काम गर्न पनि अलि सहज नै थियो । त्यसमा पनि म आफैं इन्जिनियर भएपछि मलाई काम गर्न रमाइलो नै लाग्यो त्यसपछि मैले आफैं व्यवसाय गर्ने निधो गरें । यो चाहिं मेरो जीवनको टर्नीङ प्वाइन्टका रुपमा मैले लिएको छु ।

तपाईंलाई उक्त घटनाले इन्जिनियर मात्र नभएर व्यवसायी पनि बन्न प्रेरित गर्यो । तर तपाईं आफैंले कम्पनी दर्ता गरेरै काम गर्ने अवस्था चाहिँ कहिले सिर्जना भयो ?

हो, इन्जिनियर भएर निर्माण क्षेत्रमा नै इन्जिनियर निर्माण व्यवसायी भएर काम गर्ने सर्वप्रथम हामी नै सुरु चरणका इन्जिनियरका रुपमा रहेका छौं ।

मैले काम गर्ने क्रममा साथी भाइसँग सहकार्य गरेर काम गरें तर साथीसँगको सहकार्यमा गरिएको कामकाजमा चित्त नबुझेपछि म आफैंले टाइपन इन्टरनेस्नलको दर्ता गरी आफ्नै कम्पनीको माध्यमबाट निर्माणका कार्यलाई निरन्तरता दिएँ ।

उक्त कम्पनीका माध्यमबाट हामीले त्यतिबेला ग्यालेक्सीको ४ वटा विल्डिङ, जेम्स स्कूल, होली भिजन, कान्तिपुर इन्जिनियरिङ कलेज लगायतका उपत्यकाका नाम चलेका शैक्षिक संस्थाका विल्डिङलगायत थुप्रै प्रोजेक्ट निर्माण गरिसकेका छौं ।

शैक्षिक संस्थाको निर्माण गर्नु र अन्य क्षेत्रको निर्माण गर्नुमा कस्तो अनुभव हुँदो रैछ त ?

एक त म जर्मनीमा गएर अध्ययन गरेको र त्यहाँको बस्तु स्थिति नियालेको इन्जिनियर । मेरो अनुभव र ज्ञान सीपले के भन्छ भने अन्य क्षेत्र भन्दा शैक्षिक क्षेत्र तथा स्वास्थ्य क्षेत्र अति संवेदनशील हुन्छ जहाँ बालबालिका तथा अभिभावक वा मानिसहरुको भीडभाड बढी हुने गर्दछ ।

त्यसैले यस्ता क्षेत्रमा निर्माणका कार्यको जिम्मा लिनु भनेको पेशालाई मुनाफामुखी मात्र नबनाएर सेवादायी भावना पनि राख्न जरुरी हुन्छ ।

किनभने भूकम्पलगायतका प्राकृतिक प्रकोपले यस्ता संरचनालाई क्षति पर्याएमा वा न्यून गुणस्तरका सामाग्री प्रयोग गरिएका कारण संरचनामा क्षति पुगेमा बालबालिका तथा हजारौं मानिसहरुको जीवनको कुरा जोडिएको हुन्छ । त्यसैले हामी पेशालाई मुनाफामुखी बनाउनुका साथै सेवामा पनि कुनै कन्जुस्याइ गर्दैनौं ।

काम गर्दै गर्दा लो विडिङमा गएर न्यून गुणस्तरका निर्माण सामाग्रीको प्रयोग गर्ने गरी हालसम्म हाम्रो कम्पनीले कुनै पनि काम लिएको छैन र अबका दिनमा पनि हामी मूल्यकम भन्दा पनि सेवा बेस्ट भन्ने पोलिसी अनुसार गाइडेड भएर अघि बढेका छौं । 

तपाईंले निर्माण क्षेत्रमा नीतिगत सुधार हुनुपर्ने पक्ष लोएस्ट विडिङलाई उठाउनुभयो ? के नेपालको निर्माण क्षेत्रको समस्या भनेकै लोएस्ट विडिङ हो त ?

हो, सार्वजनिक खरिद ऐनले हालसम्म नेपालमा अभ्यासमा ल्याएको लोएस्ट विडिङलाई मात्र सुधार गर्ने हो भने पनि ६० प्रतिशत भन्दा बढी निर्माणका कार्यमा क्वालिटी मेन्टेन हुन्छ ।

अहिलेको अवस्थाका बारेमा भन्ने हो भने त जो सँग राजनैतिक पावर तथा मिलेमतो गर्ने खुबी छ उसैले निर्माणका काम पाइरहेको छ ।

यसमा आर्थिक र प्राविधिक क्षमता भएका निर्माण कम्पनी,उनीहरुको जनशक्ति व्यवस्थापन तथा आधुनिक निर्माण औजारको वस्तुस्थिति र उक्त कम्पनीको परफर्मेन्सका आधारमा टेन्डर अवार्ड गर्ने सिस्टमको विकास गरिनु जरुरी छ ।

न कि काम गर्ने प्रोफेसनल निर्माण व्यवसायीले कामै नपाउने र मिलोमतो गर्न सक्ने निर्माण व्यवसायीले प्रोजेक्ट होल्ड गर्ने प्रवृत्तिको अन्त्य नभएसम्म यो मुलुकले छिटै समृद्धि हासिल गर्न सक्छ भन्ने मलाई लाग्दैन । 

तपाईंले जर्मनीलाई पनि नजिकबाट नियाल्नुभयो नेपालको विकास हुनका लागि र नेपालमा विदेशी लगानी भित्र्याउनका लागि सरकारले के गर्नुपर्छ भन्ने लाग्छ ?

हो, हामी नेपाली सधैं विदेशी लगानी भित्र्याउनुपर्छ भन्ने कुरा हल्लाखल्ला गर्ने गर्छौं तर साँच्चै विदेशी लगानीकर्ता नेपालमा नै आएर काम गर्न सकोस्, उसको अपेक्षा अनुसारको हामीले लगानी तथा काम गर्ने वातारवण सिर्जना गरिदिनुपर्छ तर के हामीले यस्तो वातावरणको सिर्जना गर्न सकेका छौं त ?

हामीले हाम्रै देशमा रोजगारीको सिर्जना गर्न नसकेका कारण हाम्रा लाखौं दाजुभाइ विदेशमा गएर अत्यधिक तापक्रममा काम गर्नु पर्ने अवस्था छ ।

अत्यन्त रिस्की र तल्लोस्तरका कामगर्न बाध्य छन् । हामी अन्तराष्ट्रिय नेटवर्क बनाएका व्यक्तिले नेपालमा विदेशी लगानीकर्ता भित्र्याउन पहल कदमी गर्ने मात्र हो भने पनि नेपालमा विकास गर्न तथा रोजगारी सिर्जना गर्न सकिन्छ ।

हामी नेपालीले व्यवसायी नाफाका लागि नेपालमा आउने हो त्यसले नेपाल र उक्त विदेशी कम्पनी दुवैलाई फायदामा लग्न सहयोगी भूमिका खेल्छ भन्ने बुझ्न जरुरी छ ।

तर अहिलेको अवस्था हेर्ने हो भने हाम्रोमा विदेशी लगानीकर्तामैत्री कर्मचारीतन्त्र तथा पोलिसी नै मैले देखेको छैन ।

तपाईले सन् १९९० देखि नेपालको निर्माण क्षेत्रमा रहेर अनुभव पनि सँगाल्नुभएको छ । सन् १९९० देखि अहिलेसम्मको नेपालको विकासको गति कस्तो पाउनुभएको छ ?

हुन त यो समयमा नेपाल त्यति राजनैतिक रुपले स्थीर बन्न सकेन । विभिन्न राजनैतिक संक्रमणकालमा नै रह्यो तर पनि विकासमा केही गति भने पक्कै लिएको छ ।

मैले नै काम सुरु गरिरहँदा सन् १९९० तिर सिमेन्ट किन्नका लागि पनि सोर्सफोर्स तथा सिमाको कुरा थियो भने अहिले नेपालमा नै ४६–४७ वटा त सिमेन्ट फ्याक्ट्रीहरु छन् ।

निर्माण समाग्रीको माग बढेसँगै उत्पादनमा पनि वृद्धि भएको छ तर यो वृद्धिमा नै सन्तुष्ट भएर बस्ने अवस्था छैन ।

अब त झन् राज्य संघीय संरचनामा गएको छ । अबको पाँच वर्ष यो सरकारले काम गर्न पाउने अवस्था देखिएको छ जसले विकासको गतिलाई तीव्रता दिने कुरामा कुनै दुईमत छैन ।

निर्माण क्षेत्रमा नै करिब तीन दशक विताइसकेको एक व्यवसायिक इन्जिनियर शाहको भावी योजना चाहिँ के छन् त ?

नेपालमा विकास निर्माणले गति लिएसँगै हाइड्रो क्षेत्रको सम्भाव्यताका बारेमा पनि बहस हुँदै आएको छ । यो तीन दशकसम्मको अनुभवलाई मैले नियाल्दा मेरो अहिलेको व्यवसायलाई यथावत् राख्दै अब हाइड्रोपावरमा पनि प्रवेश गरौं कि भन्ने सोच्दै छु ।

मेरो उपस्थितिले नेपालीको उज्यालो नेपाल अभियानमा केही टेवा पुग्ने मैले ठानेको छु । हुनत मैले विगत एक महिना अघि देखि मात्रै पनि नयाँ सेवा नेपाली मार्केटमा दिन सुरु गरिसकेको छु ।

ठूला ठूला व्यापारिक भवन तथा होटलमा आवश्यक पर्ने लिफ्टको सेवा त्यसमा पनि विश्वमा नै उत्कृष्ट मानिएको अटोर्स ब्राण्डको लिफ्टको बिक्री वितरणको सेवा मेरो कम्पनीले दिँदै आएको छ ।

त्यसैले निर्माण क्षेत्रमा लगानीगर्दा लगानीकर्ता तथा निर्माण व्यवसायीले दिगो निर्माण हुने गरेर सोच्ने र गुणस्तरीय सामानको मात्र प्रयोग गर्ने बेला भैसकेको छ ।

समृद्ध नेपाल निर्माणका लागि तपाई हामी सबै एक अर्काका परिपूरक भएर दिगो निर्माण गर्न सुरु गर्यौं भने पक्कै पनि हामीले दोस्रो पुस्तालाई समृद्ध र समुन्न नेपाल हस्तान्तरण गर्न सक्नेछौं ।

...

सोमबार १९, चैत्र ०७४

प्रतिक्रिया

Related