अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला वैशाख दोस्रो सातादेखि

ज्ञान र सीप आदान प्रदान गर्ने मेलाको मुख्य उद्देश्य– आयोजक
निर्माण सञ्चार, काठमाडौँ । वैशाख दोस्रो सातादेखि ‘१४ औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०७५’ भृकुटीमण्डपमा आयोजना हुने भएको छ ।

आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनका लागि लघु, घरेलु तथा साना उद्योगको विकास गर्ने उद्देश्यका साथ उक्त मेला हुने भएको हो ।

वैशाख १४ देखि १८ गतेसम्म प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप परिसरमा आयोजना हुने छ । मुलुकको समृद्धितर्फ लाग्नुपर्ने समयमा लघु, घरेलु तथा साना उद्योगहरुलाई प्रदर्शनीमार्फत प्रतिबिम्बित गरिने महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले बताए ।

नेपालजस्तो देशमा लघु, घरेलु तथा साना उद्योगहरू आर्थिक विकास र समृद्धिका संवाहकका रुपमा रहेका भएतापनि प्रविधि प्रयोग र अन्य क्षमता विकासका हिसाबले यस्ता उद्योगहरु प्रतिस्पर्धी बन्न नसकेको गिरीले बताए ।

प्रदर्शनीले उद्योगहरूको उत्पादनको प्रदर्शनी र व्यापार प्रवर्द्धन गर्न सहयोग गर्ने मेला संयोजक मोहन कटुवालले बताए ।

यसका साथै नेपालको उत्पादनलाई समावेश गरी बीटुबी, बीटुसी, बीटुजीजस्ता अन्तरक्रिया, छलफल, सांस्कृतिक कार्यक्रम र खाद्य महोत्सव आकर्षणका रुपमा रहने कटुवालले बताए ।

वैशाख १५ गते नेपाल चाइना कार्यकारी परिषदको सहकार्यमा नेपालमा चाइनिज लगानी प्रवर्धन गर्न चाइनिज लगानीकर्ता सम्मिलित ‘बेल्ट एण्ड रोड इनिसियटिभ’ को बीटुबी कार्यक्रम आयोजना गरिने महासंघले जनाएको छ ।

त्यसैगरी, सार्क मुलुकका उद्योगको पारस्परिक हित र सार्क स्तरीय नेटवर्क विस्तार गर्ने उद्देश्यले साउथ एसियन कन्ट्रिज एसएमइ फोरमको सम्मेलन वैशाख १६ गते आयोजना गरिएको महासंघले जनाएको छ ।

सम्मेलनमा नेपाल, भारत, श्रीलंका, भुटान, अफनिस्तान, पाकिस्तान, मालदिभ्स र बंगलादेश समेतका साना तथा मझौला उद्योगका छाता संस्थाका प्रतिनिधिहरु तथा छिमेकी राष्ट्र चीन पर्यवेक्षकको रुपमा सहभागी हुने बताइएको छ ।

प्रदर्शनीमा नेपालका ७५ वटै जिल्लाका उद्यमीहरू, उपयुक्त प्रविधि प्रयोगकर्ताहरू र भारत, पाकिस्तान, बंगलादेश लगायत सार्क मुलुक तथा चीनको सहभागिता रहने छ ।

२५० वटा स्टलको व्यवस्था हुने र पाँच दिनसम्म चल्ने प्रदर्शनीमा दुई लाख भन्दा बढी अवलोकनकर्ताहरूले मेलाको अवलोकन गर्ने र सात करोड भन्दा बढीको प्रत्यक्ष र १० करोड बराबरीको अप्रत्यक्ष कारोबार हुने प्रक्षेपण महासंघले गरेको छ ।

एक अर्काबाट सिक्न तथा ज्ञान र सीप आदान प्रदान गर्ने उद्देश्यका साथ लघु, घरेलु तथा साना उद्योगको छाता संस्था महासंघले धेरै अगाडि देखि नै नियमित रुपमा राष्ट्रिय तथा स्थानीयस्तरमा औद्योगिक प्रदर्शनीहरु आयोजना गर्दै आएको छ ।

यसभन्दा अघि नै १३ वटा राष्ट्रिय औद्योगिक प्रदर्शनी आयोजना भइसकेका छन् ।

...

सोमबार १९, चैत्र ०७४

प्रतिक्रिया

Related