नक्कली परीक्षार्थी प्रकरणः प्रहरी हिरासतमा प्रधानाध्यापक

निर्माण सञ्चार, जुम्ला । चैत ८ गते देखि सुरु भएको माध्यमिक शिक्षा परीक्षामा किर्ते गर्न सघाएर नक्कली परिक्षार्थी राख्न लगाउने जुम्लाका एक प्रधानाध्यापकलाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।

कालिका माध्यमिक विद्यालय वड्कीका प्रधानाध्यापक खड्कबहादुर शाहीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो ।

राहदेव मावि मोफ्ला केन्द्रमा हिमा गाउँपालिका उपाध्यक्ष हिमाली रोकायाको परीक्षा दिन आफ्नै विद्यालयको छात्रालाई नक्कली परीक्षार्थीका रुपमा राखेको उनीमाथि आरोप छ ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक डा. तपनकुमार दाहालले परीक्षाहलमा परीक्षार्थी शंकास्पद देखिएपछि सोधुपछ गर्दा प्रधानाध्यापक शाहीले नक्कली परीक्षार्थी नभएको र नियमित विद्यार्थी भएको अडान राखेका थिए । उनका अनुसार मुचुल्कामा झुटो भएमा कारबाही भोग्न तयार रहेको उल्लेख गरेका छन ।

उनले भने, ‘प्रधानाध्यापक माध्यमिक शिक्षा परीक्षा केन्द्रको केन्द्राध्यक्ष र गार्ड पनि होइन, किर्ते गर्ने र गर्न लगाउने उसको अधिकार क्षेत्र भित्र पर्दैन, त्यसैले परीक्षाको मर्यादा विपरित क्रियाकलाप गर्दा नियन्त्रणमा लिएर हिरासतमै राखेर अनुसन्धान सुरु गरेका छौँ ।’

हिमा गाउँपालिका ३ स्थित सो केन्द्रमा रहेको कन्ट्रोल लिष्ट, हाजिर रजिष्टर र परीक्षार्थीको विवरण र जिल्ला शिक्षा कार्यालय जुम्लामा पेस भएको विवरण तुलना गर्दा परीक्षा हलमा परीक्षा दिँदै गरेकी विमला बुढा नक्कली परीक्षार्थी भएको प्रमाणित भएको थियो ।

प्रवेश पत्रको जन्म मिति, नाम, ठेगाना र दस्तखतमा केरमेट गरेको भेटिएको थियो । प्रहरी नायव उपरीक्षक दाहालका अनुसार सक्कली परीक्षार्थीको जन्म मिति २०४४ भएकोमा केरमेट गरेर २०५४ बनाइएको छ ।

तैपनि प्रधानाध्यापकले नक्कली परीक्षार्थीको रुपमा सहभागीलाई आफ्नै परीक्षा भएको र सहयोगी परीक्षार्थी नभएको भनेपछि परीक्षा हलमा समावेश लगाइएको थियो ।

तर प्रहरीले विद्यालयलाई सम्बन्धित परीक्षार्थीको विवरण माग गर्दा प्रधानाध्यापक शाहीले नै परीक्षार्थीको नाम विमला बुढा नभै हिमाली रोकाया भएको स्पष्टिकरण सहितको पत्र पठाएपछि प्रहरीले नक्कली परीक्षार्थी र प्रधानाध्यापक शाहीलाई नियन्त्रणमा लिइएको हो ।

विद्यालयका लेखापाल धर्मराज शाही पनि नक्कली परीक्षार्थी बनाउन संलग्न रहेको खुलेकोले पक्राउ गर्न खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ ।

यो किर्ते काण्ड दबाव, प्रभाव र अभावको कारण भएको हुनसक्ने अनुमान गरिएको छ । नक्कली परीक्षार्थीको रुपमा भेटिएकी विमला बुढा कक्षा १० मा अध्ययनरत विद्यार्थी हुन ।

सहयोगी परीक्षार्थी राख्ने गाउँपालिका उपाध्यक्ष रोकायाको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

...


जुम्लाबाट सागर परियारको रिपोर्ट

बुधबार २१, चैत्र ०७४

प्रतिक्रिया

Related