वीरगञ्जको एकीकृत भन्सार जाँच चौकीको दिल्लीबाटै उद्घाटन, के हो आइसिपी ? कसरी रोक्छ बोर्डर क्राइम ?

सुरक्षा संवेदनशीलता सम्बोधन गर्न भारतले १ अर्ब ३९ करोड लगानीमा बनाएको आइसिपी आजैबाट सञ्चालनमा
निर्माण सञ्चार, एजेन्सी । नेपाल र भारतको खुला सिमाना नियमन गरी अपराध समेत कम गर्न भन्दै भारतीय लगानीमा बनेको वीरगञ्जको एकीकृत भन्सार जाँच चौकी (आइसिपी) को दुवै देशको प्रधानमन्त्रीहरुले संयुक्त रुपमा दिल्लीबाटै उद्घाटन गरेका छन् ।

सम्झौता अनुसार सन् २०११ मा निर्माण सुरु भई २०१३ मै पूरा हुनु पर्ने उक्त आइसिपी झन्डै ५ वर्ष ढिला गरी निर्माण सम्पन्न भएको हो ।

भारत सरकारकै लागनी १ अर्ब ३९ करोड रुपियाँमा बनेको यो आइसिपी वीरगञ्जस्थित सिर्सिया खाल्वाटोला र अलौगाउँको बीचको भूभागमा बनेको छ ।

दुई देशबीचको सहमति अनुसार नेपाल सरकारले वीरगञ्ज महानगरपालिकाको सिर्सिया र अलौमा गरी ३१५ जना जग्गाधनीको ११५ बिगाहा क्षेत्रफल जग्गा अधिग्रहण गरी जाँच चौकीका लागि उपलब्ध गराएको थियो ।

अलौ भन्ने स्थानमा रहेको उक्त जाँच चौकी ७३० वर्ग मिटर क्षेत्रफलमा निर्माण भएको छ ।

जसमा ५ वटा ठूला गोदाम, २ ठूला सेड, कार्यालय सञ्चालन भवन, भन्सार कार्यालयको भवन, कर्मचारीको आवास भवन, उपचार केन्द्र भवन, खाजा तथा खाना घर, बैंक तथा वित्तीय संस्थाको भवन, सुरक्षाकर्मीको भवन, पर्खाल लगायत रहेका छन् ।

के हो आइसिपी अवधारणा ? कसरी रोक्छ ‘क्राइम’ ?

यो नयाँ अवधारणामा आधारित भन्सार जाँच चौकी हो । दुई मुलुकको सीमामा भन्सारसँग सम्बन्धित सबै सुविधा एकै ठाउँमा उपलब्ध गराउने अवधारणामा आधारित यो आधुनिक मोडेलमा बनेको छ ।

यसबाट दुई मुलुकबीचको व्यापार सहजीकरण हुने त छँदैछ, अधिकारीहरुका अनुसार दुवै देशका खुला नाकामा हुने आर्थिक चुहावट तथा आपराधिक गतिविधि नियन्त्रण हुने विश्वास छ ।

कम्प्लेक्सभित्र अध्यागमन, भन्सार, सुरक्षा, अतिरिक्त गोदाम, बैंक, होटेल, पशु र वनस्पति क्वारेन्टाइन, प्रयोगशाला, खाद्य प्रविधि र गुण नियन्त्रण कार्यालय समेत एकै स्थानमा रहने छ ।

जसले कुनै पनि वस्तुको गुणस्तर समेत भन्सारमै चेक गर्ने नयाँ परम्परा सुरु गर्ने छ ।

यसको सञ्चालनसँगै वीरगञ्ज र रक्सौल भन्सार नाकामा देखिएजस्तो मालवाहक सवारीसाधनको जाम र कमिसनको खेल घट्ने दुवै देशका अधिकारीले अनुमान गरेका छन् । उक्त आइसिपीलाई नै लक्षित गरेर वीरगञ्ज(पथलैया सडक ६ लेनको बन्ने क्रममा छ ।

गोदाम सानो, आवश्यक परे नेपालले बनाउनु पर्ने

तर उद्योगीहरु भने उक्त एकीकृत जाँचचौकीमा निर्माणाधीन गोदाम भने सानो हुने बताउँछन् । उनीहरु भविष्यमा आयात हुने मालवस्तुको चाप थेग्न उक्त गोदामले नसक्ने बताउँछन् ।

साँघुरो गोदामका कारण आइसिपी सञ्चालनमा आउनासाथ समस्या पनि सुरु हुने उनीहरुको गुनासो छ । भारतीय पक्षले नेपाल सरकारले आवश्यकता अनुसार गोदाम बनाउन सक्ने दाबी गरेको छ ।

गोदामको पर्याप्त क्षमता नहुँदा विदेशबाट आएको सामान आइसिपीमा अनलोड गनै असजिलो हुने र जाँचपछि राख्ने ठाउँ नहुँदा बाहिरै भण्डारण गर्नुपर्ने समस्या आउने देखिन्छ ।

जे होस्, अवैज्ञानिक भन्सार चलाउँदै आएको नेपालले यो भन्सारलाई आधुनिक तौर र प्रविधि सहित चलाउनु पर्ने छ ।

 

 

...

शनिबार, २४ चैत, ०७४

 

प्रतिक्रिया

Related