कर्णाली प्रदेशको आर्थिक विधेयक पारितः अब बजेट ल्याउन सहज

अन्य प्रदेश भन्दा चाडै बजेट ल्याउने कर्णाली प्रदेशको उद्देश्य
निर्माण सञ्चार, जुम्ला | कर्णाली प्रदेशसभाको मंगलबार बसेको बैठकले ‘कर्णाली प्रदेशसभा सञ्चालन नियमावली–२०७४’ संशोधनसहित पारित गरेको छ ।

नियमावली पारित भएपछि अन्तरिम कार्यविधिका भरमा काम गर्दै आइहरको प्रदेशसभा अब नियमावली बमोजिम विभिन्न कामकाजहरु सञ्चालन हुने भएको छ ।

मस्यौदा समितिका संयोजक सांसद सीता नेपालीले गत शुक्रबारको बैठकमा नियमावली छलफलका लागि संसदमा पेश गरेकी थिइन् ।

मंगलबार बसेको बैठकमा सांसदहरु गुलाबजंग शाह, पद्मा खड्का, देवी ओली, विन्दमान विष्टले नियमावली माथिका केही बुँदाहरु संशोधन गर्न सुझाएका थिए ।

सांसद खड्का र ओलीले नियमावली लैङ्गिक बन्न नसकेको बताउदै समितिका सभापति हटाएर अध्यक्ष राख्न प्रस्ताव समेत गरेका थिए ।

सांसदहरुको सुझावअनुसार संसदीय समितिका सभापतिलाई अब अध्यक्ष भनिनेछ ।

त्यस्तै, संशोधन प्रस्तावको समय ७२ घण्टा कायम गरिएको छ । मस्यौदा समितिका संयोजक सांसद नेपालीले पेश गरेको उक्त प्रस्ताव ध्वनी मतले पारित गरिएको थियो ।

यता, आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले पेश गरेको कर्णाली प्रदेशको आर्थिक कार्यविधि विधेयक–२०७४’ माथि सैद्धान्तिक छलफल मंगलबार नै सकिएको छ ।’

बैठकमा सांसदहरु चन्द्रबहादुर शाही, कुर्मराज शाही, दिनबन्धु श्रेष्ठ, धर्मराज रेग्मी, देवी ओलीले विधेयकमाथिको छलफलमा सहभागी भए ।

बैठकले आर्थिक कार्यविधिलाई बिहिबार पारित गर्ने कार्यतालिका रहेको संसद सचिवालयले जनाएको छ । बैठकमा अनिवार्य सबै सांसदहरुलाई उपस्थिती हुन समेत आग्रह गरिएको छ ।

अन्य प्रदेश भन्दा कर्णाली प्रदेशले चैत्र अन्त्यतिरै बजेट ल्याउने उद्देश्य अनुसार काम गरिरहेको छ ।

जुम्लाबाट सागर परियार

...

बिहिबार, २२ चैत २०७४ 

प्रतिक्रिया

Related