व्यापार तथा पारवहन सन्धि परिमार्जन गरी व्यापार घाटा न्यून गर्नुपर्नेमा वीरगन्ज उद्योगीको माग

रक्स्यौलमा वातावरण प्रदूषणको बहानामा क्लिङ्कर अनलोडको रोकावटले १३ वटा सिमेण्ट उद्योग संकटमा
निर्माण सञ्चार, काठमाडौँ | प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणमा नेपालमा आयात गर्ने क्लिङ्करमा देखिएको समस्या समाधान गर्न वीरगन्जका उद्योगी व्यवसायीहरूले माग गरेका छन् ।

यससँगै १९९६ को नेपाल भारतबीचको व्यापार तथा पारवहन सन्धि पुनरावलोकन गर्न समेत माग गरिएको छ ।

तीन दिने भारत भ्रमणमा गएका ओलिलाई उनीहरूले व्यापार तथा पारवहन सन्धिलाई समय सापेक्ष परिमार्जन गरी व्यापार घाटा न्यून गर्नुपर्नेमा जोड दिएका छन् ।

नेपाल र भारतबीच अन्य मुलुकसँग भन्दा छुट्टै खालको सम्बन्ध रहेको भन्दै नेपाल भारत मैत्री संघका अध्यक्ष एवं उद्योग वाणिज्य महासंघ २ नम्बर प्रदेश उपाध्यक्ष अशोक वैदले विगतमा भएको सन्धि सम्झौता कार्यान्वयन गराउनतर्फ नेपालले जोड दिनुपर्ने बताए ।

‘नेपाल भूपरिवेष्ठित देश हो, दुईदेशबीचको कनेक्टिभीटी महत्वपूर्ण छ ।’ उनले भने ‘हवाईमार्ग र रेलमार्गको सम्पर्कलाई पनि जोड दिनुपर्छ ।’

यसैगरी, रक्सोलमा वातावरण प्रदूषणको बहानामा क्लिङ्कर अनलोडमा लगाइएको रोकावटले नेपालका १३ वटा सिमेण्ट उद्योग संकटमा रहेकोले त्यसको समाधानका लागि पहल गर्नुपर्ने उद्योग व्यवसायीको आग्रह छ ।

‘रक्सोलको समस्या रेलवेको भएपनि पर्यावरणको बहानामा नेपालको सिमेन्ट उद्योगलाई संकटमा पारेको छ, उपाध्यक्ष वैद्यले भने ‘यो नेपालले गम्भीर रुपमा लिएर भारत सरकारसँग कुरा गर्नुपर्छ ।’

क्लिङ्कर आयातामा अवरोधका कारण हाल नेपालको सिमेण्ट उद्योगहरूमा ४१ प्रतिशत उत्पादन लागत बढेको वैद्यको दाबी छ ।

यसका साथै कोलकाताबाट हुने पारवहन सेवामा पनि ड्यामरेज (विलम्ब शुल्क), टिडेन्सन लगायतका शुल्क तिर्नुपर्ने बाध्यता रहेकोले कोलकतादेखि वीरगन्जसम्म ढुवानीका लागि बेग्लै रेलसेवाको माग गर्नुपर्ने उद्योगीको सुझाव छ ।

दुई देशबीचको व्यापारघाटा कम गर्न भन्सार राजस्व नीतिमा नै पुनरावलोकन गर्नुपर्ने वीरगन्ज उद्योग वाणिज्य संघका सदस्य सुरेशकुमार रुंगटाले बताए ।

...

शुक्रबार, २३ चैत, ०७४ 

प्रतिक्रिया

Related