अब देशभरका सडकमा रुट परमिट खुल्ला !

निर्देशन अटेर गरे कार्यालय प्रमुखलाई विभागीय कारवाही गरिने विभागको चेतावनी
निर्माण सञ्चार, काठमाडौँ | पछिल्लो पटक अरनिको राजमार्गमा सिन्डिकेट तोडेसँगै यातायात व्यवस्था विभागले सबै सडकमा रुट परमिट खुलाउन देशभरका यातायात कार्यालयहरुलाई निर्देशन दिएको छ ।

मयुर यातायातले काठमाडौं–बनेपा रुटमा सवारी चलाउन इजाजत पाएपछि ११ वटा समितिले विरोध गरेका थिए । ती समितिले सिन्डिकेट कायम राख्न सवारी नै बन्द गरेर आन्दोलन गरेका थिए ।

सरकारले भने थप कम्पनीलाई रुट अनुमति दिएपछि सिन्डिकेट तोडिएको छ ।

यसबाट हौसिएको विभागले यातायात व्यवस्था ऐनमा व्यवस्था गरिएको खुला प्रतिस्पर्धाको मर्मका आधारमा देशभरका सबै रुटहरुमा नयाँ सवारीलाई परमिट दिन निर्देशन दिएको हो ।

हाल पश्चिम नेपालका साथै पृथ्वी राजमार्ग र बटुवलबाट पश्चिम जाने रुटहरुमा सिन्डिकेट छ । छोटा दूरीका रुटहरुमा पनि सहजै नयाँ गाडीले प्रवेश पाउने अवस्था छैन ।

सिन्डीकेट विरुद्ध उभिएर नै विभागले मातहतका कार्यालयहरुलाई शुक्रबार परिपत्र गरी रुट परमिट खुलाउन निर्देशन दिइएको विभागका महानिर्देशक रुपनाराण भट्टराईले बताए ।

महानिर्देशक भट्टराईले भने, ‘यो ऐनमै भएको व्यवस्था हो । अब कुनै पनि रुटमा जो जान चाहे पनि रोकिने छैन, ‘स्वच्छ प्रतिस्पर्धाका लागि सबै रुटमा इजाजत खुला गर्न लागेका हौं, अब देशभर नै सिन्डिकेट तोड्नुपर्छ ।’

उनका अनुसार अब कुनै पनि रुटमा सवारी इजाजत जारी गर्न सरकारका पक्षबाट रोकिदैँन ।

निर्देशन अटेर गरे कार्यालय प्रमुखलाई विभागीय कारवाही गरिने विभागको चेतावनी छ ।

...

शुक्रबार, २३ चैत, ०७४ 

प्रतिक्रिया

Related