२ वर्षमा निर्माण पूरा गर्नुपर्ने प्रसारण लाइन ८ वर्ष लम्बिँदा करोडौँको घाटा

१३२ केभीको सिंगटी–लामोसाँघु प्रसारण लाइन नबन्दा १४० मेगावाट विद्युत् प्रयोगविहीन
निर्माण सञ्चार, काठमाडौं । २ वर्षमा पूरा हुनुपर्ने सिंगटी–लामोसाँघु प्रसारण लाइनको निर्माण समय ८ वर्ष लम्बिँदा काम अलपत्र परेको छ ।

दुई वर्षमा पूरा गर्ने गरी आठ वर्षअघि ठेक्का सम्झौता भएको उक्त आयोजना अहिलेसम्म पूरा हुन नसक्दा अलपत्र अवस्थामा रहेको हो ।

प्रसारण लाइन नबन्दा सिप्रिङ खोला लगायतको बिजुली १४० मेगावाटभन्दा बढी खेरा गइरहेको छ भने यसबाट लगानीकर्ताले विगत पाँच वर्षदेखि करोडौं रुपियाँको वार्षिक घाटा व्यहोर्दै आएका छन् ।

सिंगटी–लामोसाँघु प्रसारण लाइन १३२ केभी क्षमताको हो । ठेकेदारको लापरबाही र सरकारको बेवास्ताले अहिलेसम्म निर्माण अलपत्र छ ।

प्रसारण लाइन निर्माणको जिम्मा पाएको भारतीय कम्पनी अरावली इन्फ्रा पावरले लिएको थियो । उक्त कम्पनिले आर्थिक संकटको कारण देखाउँदै काममा ढिलाइ गर्दै आएको छ ।

सुरुमा ठेक्का सम्झौता भएको मितिले दुई वर्षभित्र निर्माण पूरा गर्ने सम्झौता भएको थियो । तर, सम्झौता भएको अहिले आठ वर्ष बितिसक्ता पनि अझै प्रसारण लाइन कहिले बन्छ भन्ने अन्योलनै रहेको स्थानीयबासीले गुनासो गरेका छन् ।

एक स्थानीयबासीले भने, ‘ठेकेदारसँग प्राधिकरणले चार पटक सम्झौता नवीकरण गरिसकेको छ । चौंथो पटक थपिएको समयानुसार २०७५ जेठमा काम पूरा गरिसक्नु थियो । तर, उक्त समयमा पनि प्रसारण लाइन पूरा हुने संकेत देखिएको छैन ।’

विसं २०६७ बाट निर्माण थालिएको प्रसारण लाइन सुरुका दुई वर्ष तीव्र गतिमा अघि बढेको थियो । विसं २०६९ देखि २०७३ चैतसम्म आर्थिक संकट देखाउँदै ठेकेदारले पूर्णरूपमा निर्माण कार्य रोक्यो ।

यसबीचमा प्राधिकरणले ठेक्का सम्झौता तोडेर नयाँ ठेकेदार नियुक्त गर्ने तयारी थालेको पनि थियो तर नयाँ ठेक्कामा जाँदा लामो समय लाग्ने हुँदा थप ढिलो हुने कारण देखाउँदै त्यस क्षेत्रमा जलविद्युत् आयोजना निर्माण गर्ने निजी प्रवद्र्धकले पूरानै ठेक्कालाई निरन्तरता दिन आग्रह गरेका थिए ।

प्राधिकरण, निजी क्षेत्र र ठेकेदारबीच भएको साझदारी अनुसार गत वैशाखबाट ठेकेदारले प्रसारण लाइन निर्माणको काम पुनः सूचारु गरेको छ । ठेकेदारले निर्माण रोकेको समयमा जग्गा अधिग्रहण, मुआब्जा वितरणलगायत काम भने नरोकिएको प्राधिकरणले जनाएको छ ।

निर्माणको प्रगति सिंगटी–लामोसाँघु प्रसारण लाइनको ४० प्रतिशत काम पूरा भएको प्राधिकरणको दाबी छ । दोलखाको सिंगटीदेखि सिन्धुपाल्चोकको लामोसाँघु (४० किलोमिटर) सम्म एक सय २५ वटा टावर निर्माण गरिनेछ ।

टावर ठड्याउन ४० वटाको फाउण्डेसन तयार भएको आयोजनना प्रमुख राजन ढुङ्गेलले बताए । बाँकी टावरको फाउण्डेसन असारसम्म सकिने र टावर तार तान्ने काम एक वर्षमा पूरा हुने उनले बताए ।

आयोजनना प्रमुख ढुङ्गेलका अनुसार सिंगटी र लामोसाँघुमा दुई सवस्टेसन निर्माण हुनेछ । सामान आयातमा भन्सारको समस्याले पनि काममा ढिलाइ भइरहेको उनले बताए ।

भारतीय कम्पनीले भूकम्प, त्यसपछिको नाकाबन्दीको कारण निर्माण कार्य प्रभावित भएको भनेर बहाना बनाएको थियो । सिंगटीमा नयाँ सवस्टेसन निर्माण गर्ने र विद्यमान लामोसाँघु सवस्टेसनको स्तरोन्नति गर्ने योजना छ ।

आयोजनना प्रमुख ढुङ्गेलले भने ‘प्रसारण लाइनको कूल लागत रु ४२ करोड अनुमान गरिएको छ ।’

प्रसारण लाइन तयार भएपछि दोलखामा निर्माणाधीन ४० मेगावाटको खानीखोला–१, ३० मेगावाटको खानी खोला, २५ मेगावाटको सिंगटी, ११ मेगावाटको तल्लो खारेखोला, २४ दशमलव १ मेगावाटको खारेखोला, १० मेगावाटको सिप्रिङ खोलाको विद्युत् राष्ट्रिय प्रणालीमा जोडिनेछ ।

...

आइतबार २५, चैत्र ०७४

प्रतिक्रिया

Related