होसियार ! गोजीमा छ सुर्ती ? नपाउनुहोला नि मन्त्रालय छिर्न !

‘सुर्तीजन्य पदार्थ लिएर प्रवेश निषेध गर्नु राम्रो काम हो’ – सर्वसाधरण
निर्माण सञ्चार, काठमाडौं । चुरोट, सुर्तीजन्य पदार्थ लिएर स्वास्थ्य मन्त्रालय प्रवेश गर्न निषेध गरिएको छ ।

गत चैत १२ गते स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले मन्त्रालयमा सुर्ती चुरोट लिएर आउनेले प्रवेश नपाउने घोषणा गरेपछि अहिले सुरक्षाकर्मीले गेटमा नै चेकजाँच गरेर मात्र प्रवेश गराउनु पर्ने व्यवस्था गरिएको छ ।

मन्त्रालयभित्र जानेले चुरोट, सुर्तीजन्य पदार्थ बोकेर गएको छ भने मन्त्रालयको मुल गेटमा रहेका सुरक्षाकर्मीले रोक्नेछन् । र, साथमा रहेका यस्ता पदार्थ गेटबाहिर राखिएको ‘चुरोट तथा सुर्तीजन्य पदार्थ मलाई’ लेखिएको डस्टवीनमा फाल्न लगाइ प्रवेश दिइनेछ ।

मन्त्रालयमा पुग्ने सबैलाई गेटमा रहेका सुरक्षाकर्मीले सुर्ती चुरोट कडा रुपमा खानतलासी गर्ने गरेको मुलगेट कमान्ड सम्हाल्दै आएका चन्द्रप्रसाद हमालले बताए । उनका अनुसार सुरु–सुरुमा मन्त्रालयको बाहिरी गेटमा बसेर नाम दर्ता गर्ने र आउनेहरुलाई मौखिक रुपमा सोध्ने गरेका प्रावधान थियो ।

यसरी खनतलासी गर्दा पैदल आउनेको मात्रै चुरोट सुर्ती फ्याँक्ने तर सवारी साधनमा आउने यस्तो प्रावधान बाट छुटकारा पाउने भएपछि बुधबारदेखि भित्रकै गेटमा शरीर खनतलासी गर्न थालिएको हो ।

यसरी खानतलासी गर्दा मन्त्रालय छिर्ने करिब २० देखि ३० जना कर्मचारी र सर्वसाधारणबाट सुर्तीजन्य पदार्थ बरामद गरिएको गेटमा खटिएका प्रहरी तेजबहादुर शाहीले बताए ।

बाहिरबाट आउनेले मात्र नभई मन्त्रालयमा काम गर्नेहरुले पनि चुरोट सुर्ती लैजान नपाउने उनले बताए । मन्त्रालयको मुलगेटमा दुईजना महिला र दुई पुरुष प्रहरी खटाईएको छ ।

महिला प्रहरीले महिलाहरुलाइ र पुरुषहरुलाई पुरुष प्रहरीले नै खानतलासी गर्ने गर्छन् । त्यस्तै मन्त्रालयमा स्वास्थ्य राज्यमन्त्रीलाई भेट्न विराटनगरबाट आएका रमेश राईले यो चुरोट तथा सुर्तीजन्य पदार्थ प्रवेशमा निषेध गर्नु राम्रो काम भएको बताए ।

उनले भने, ‘चुरोट, सुर्ती निषेध अभियान मन्त्रालयमा मात्र होइन, सातै प्रदेशका जनप्रतिधिलाई जिम्मा दिएर यसको प्रयोग सर्वत्र रोक्नुपर्छ ।’

सुर्तीजन्य पदार्थ निषेध गर्ने ऐन, २०६८ अनुसार नै मन्त्रालयमा प्रवेश गर्दा साथमा चुरोट तथा सुर्तीजन्य पदार्थ लान नपाउने प्रावधान ल्याइएको र देशैभरिका स्वास्थ्य संस्थामा यो नियम लागु गरिनुपर्ने स्वास्थ्य मन्त्रालयका अधिकारी बताए ।

मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले पहिले घोषणा भए पनि अहिले यसलाई कडाइका साथ लागु गरिएको बताए । सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन) गर्ने ऐन,२०६८ को दफा ४ मा सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको सेवन गर्न नपाइने व्यवस्था रहेको छ ।

...

आइतबार २५, चैत्र ०७४

प्रतिक्रिया

Related