कर्णाली राजमार्गः कहिलेसम्म मृत्युमार्ग ?

५० किलोमिटरमा ५ घण्टाको यात्राः ५ वर्षमा ३३० सवारी दुर्घटना, ३०९ जनाको मृत्यु, ५५४ घाइते
दैलेखको तल्लो डुंग्गेश्वरदेखि ताडी सम्मको ५० किलोमिटर पार गर्न ५ घण्टा यात्रा गर्नु  पर्छ । कर्णाली राजमार्गलाई मुत्यु मार्गका नामबाट हटाउन सरकारको ध्यानकर्षण हुन जरुरी छ । 

कर्णाली राजमार्गको जोखिम हटाउन प्रदेश सरकारले चाडै कदम चाल्न आवश्यक छ । ट्राफिक चेकजाँचलाई औपचारिकताबाट विस्तापित गरी नियम सम्मान गरेर संस्कारको विकास गर्न आवश्यक देखिन्छ ।

________________

निर्माण सञ्चार, जुम्ला | मृत्युमार्गका रुपमा चिनिने कर्णाली प्रदेशको पूर्वमा पर्ने कर्णाली राजमार्गमा अहिले पनि ढुक्क भएर यात्रा गर्ने स्थिती छैन । पहाडको भिरालो बाटो । बेला–बेला डड्याङ डुडुङ गाडी । झसक्क मन । लाग्छ कि गन्तव्य नै पुरा नहोला कि !

एक लेनको साँघुरो भिरालो खाल्डाखुल्डी परेको सडक बसको झ्यालबाट हेर्दा आङ नै सिरिङ गर्ने त्यसैमाथि बसभित्र यात्रु कोचाकोच गाडीभित्र खुट्टा राख्नेसम्म ठाउँ छैन । ज्यानको जोखिम राखेर कर्णालीको यात्रा आखिर पहिलेदेखि अहिलेसम्म, अझ कहिलेसम्म होला ?

सबैको एउटै प्रश्न ।

प्रदेश राजधानी सुर्खेतदेखि जुम्ला मुगु पुगुन्जेलसम्म यस्ता जोखिमपूर्ण ठाउँ छन् । जहाँ अहिलेसम्म केन्द्रदेखि प्रदेश सरकारको आँखा जान सकेको छैन । जोखिम क्षेत्र अझै जोखिम बन्दै जाँदा ज्यानको बाजी राखेर यात्रा गर्नुपर्ने कर्णालीबासीको बाध्यता छ ।

‘हवाई यात्रा गर्न सामान्य आर्थिक अवस्था भएकाहरुले सक्दैनन्’, जुम्लाका मानदत्त रावल भन्छन्, ‘यही जोखिम यात्रा हाम्रा लागि सहि छ ।’

बाँचे परिवारसामु, मरे लास, सबै भरोसा दैब र डाईभरकै हात, गाडीभित्रै रहेका रावलले बताए । हवाई यात्रा गरौँ आर्थिकले भ्याउँदैन, गाडी चढौँ ढुक्क छैन, सामान्य नागरिकलाई रोगभोग गरिबीदेखि सवारी दुर्घटनाले पनि नछोड्ने डर, कर्णाली राजमार्गमा यात्रा गर्नुको दुखेसो पोखे अर्का यात्रु मुगुका नन्द रोकायाले ।

जहाँ निमार्ण अति आवश्यक छ, त्यहा सिन्को भाचिएको छैन यसकारण राजमार्गमा दुर्घटना हुनु केही नौलो जस्तो छैन ।

अझ कालिकोट जिल्लामा हवाई सेवा छैन, जुम्लामा सिधैँ सुर्खेतबाट सिडा उडान छैन । गाडीको यात्रा अरु विकल्प पनि छैन । कहिले अति आवश्यक काम भेटाउन तथा विरामीलाई उपचार गराउन पनि समयमै पुगिदैन ।

एक लेनको साँघुरो बाटोमा कहिले दुर्घटनाको जोखिम, कहिले गाडीजाम वर्षामा खोलानाले अबरुद्ध लगायतका कारण कर्णाली राजमार्गको यात्रा अहिले पनि सन्तोषजनक छैन ।

झण्डै ५ करोड लागतको पक्कीपुल एक वर्षमा निमार्ण गर्ने सम्झौता सात वर्ष पहिले भएको पाँचौ ठेकेदार  पूर्णप्रसाद उपाध्याय बताए । म पाँचौ ठेकेदार हुँ, म भन्दा अघि चार कम्पनी गए । 

संघिय सरकारपछि यसले केही मुहार फेरिन्छ कि ?  झिनो आशा कर्णाली बासीको अझै टुटेको छैन ।

 नाममात्रैको ट्राफिक चेकजाँच 

करिब २ सय ३२ किलोमिटरको यात्रा, एउटै गाडी, खचाखच भेडाबाख्रा खोरमा हुलेका झैँ यात्रु । त्यहीमाथि कोही वृद्ध, कोही अपांग, विरामी कोलियामै उभिएर सुर्खेत जुम्ला यात्रा गर्ने उनीहरुको आटीलो जर्मको ।

यी सबै दृष्यहरु म आफैँ कर्णाली राजमार्गमा आउँदा जाँदा देखेका हुँ । मलाई लाग्थ्यो ट्राफिक आएर जेकजाँच गरेपछि पक्कै केही गर्छ होला, तर आउने, हेर्ने जाने ट्राफिक प्रहरीको काम ।

मनबाटै आक्रोस व्यक्त गर्न मन लाग्थ्यो प्रहरीको मनपरीतन्त्र देखेर ।

जुम्लाबाट सुर्खेत जाँदा झण्डै ३० बढी चेकपोष्टहरु रहेका छन् । जो सबै औपचारिकता निभाउने मात्रै रहेछन् । साईनर्वोडमा अनिवार्य गाडी ईन्ट्री र चेकजाँच गराएरै मात्र जानु होला लेखिएको हुन्छ ।

ट्राफिक गाडीभित्र प्रवेश गरेर यति मान्छे किन हालेको हो भन्दै फर्किने मात्रै काम भएको राजमार्गमा पर्ने चौकी र ट्राफिकहरुको चेकजाँचको तरिका देखियो ।

यदि काहीकतै कुनै चौकीले नियमिविपरित धैरै यात्रु हालेको भन्ने औपचारिकता निभाए पनि अन्नत उसको कुराकानी चियापानीमा समाप्त हुने समस्या कर्णालीमा व्याप्त देखियो । जसले कर्णाली राजगर्माको ट्राफिक नियम पालानादेखि चेकजाँच निकै खस्केको अनुमान सजिलै गर्न सकिन्छ ।

गाडीका क्षमता भन्दा बढी यात्रु हाल्नु सरासर गलत हो । तर, प्रहरीले देख्छ केही बोल्दैन । प्रायः गाडीहरुले ट्राफिक नियम पूर्ण पालाना गरेको पाईदैँन ।

मोडहरुमा कहीले पछिल्लो सिटको मान्छे क्याविनमा आउने गरी  ब्रेक लगाउनु पर्ने जस्ता जटिल समस्या आउँछन् । कहाँ हर्न बजाउने, लाईट दिने भन्ने विषयमा ज्ञान भएर पनि वास्ता नगर्दा समस्या निम्तिने अबस्था छ ।

एकै आयोजनामा पाँच ठेकेदार: उपलब्धि शून्य 

नेपालको विकास निमार्णको गति हेर्दा यो प्रवृत्ति माथिदेखि तलसम्म बिग्रेको छ । कुनै पनि आयोजनाको निमार्ण कम्पनि प्रयागरी एउटै हुन्छन्, तर कर्णाली राजमार्ग अन्तर्गतको दैलख जिल्लाको झक्सीखोला पक्की पुल निमार्णका लागि हालसम्म पाँच जना ठेगेदार फेरिएको पाइएको छ ।

झण्डै ५ करोड लागतको पक्कीपुल एक वर्षमा निमार्ण गर्ने सम्झौता सात वर्ष पहिले भएको पाँचौ ठेकेदार पुर्णप्रसाद उपाध्याय बताए ।म पाँचौ ठेकेदार हुँ, म भन्दा अघि चार कम्पनी गए । 

आर्थिक वर्ष ०६७/६८ देखि ०७३/७४ सम्ममा मात्रै ३३० सवारी दुर्घटनामा ३०९ जनाको मृत्यु र ५५४ जना घाइते भइसकेका छन् । ठेकेदार र सडक डिभिजनको लापरवाहीले राजमार्गमा बन्दै गरेका करिब दुई दर्जन पक्की पुल निर्माण अलपत्र पर्दा यात्रा झन् सकस बनिरहेको छ

समयमै रकम भुक्तानी नभएको कारण देखाउँदै अघिल्ला ठेगेदार भागेको उनको भनाई छ । सात वर्ष पहिले निमाण सुरु भएको झक्सीखोला पुलमा अहिले स्लाबहरु हालिएको छ ।

अगाडीका चार ठेगेदाहरुले कति भुत्तानी लिएका थिए, कति बाँकी थियो केही जानकारी नभएको उपाध्यायले बताए । काम गर्न गाह्रो हुनासाथ भाग्नेलाई सरकारले पनि छुटकारा दिएको देख्दा नीति नै नभएको जस्तो लाग्ने स्थानीयको गुनासो छ ।

एकै आयोजनामा महिनापिच्छे ठेकेदार फेरिने, सम्झौताअनुसार काम नगर्ने, नियमन गर्न नसक्ने देशमा कहिले मार्ला विकासले फड्कको । प्रदेश सरकार पनि सपना बाँड्दै त हिडेको छ । तर आशा/अपेक्षा भने कर्णालीबासीले त्यति गरेका छैनन ।

किनकी अहिलेसम्म कर्णालीमा अर्बौ बजेट खन्याए पनि अझै भगवान भरोसामा यात्रा गर्नेहरु कम छैनन्,  झयाक्सीखोला पुलको त एक उदाहरण हो, कर्णालीमा अहिलेसम्म निमार्ण सम्पन्न नभएका अलपत्र पक्की पुल थुप्रै छन् ।

खाल्डै खाल्डाको कर्णाली राजमार्ग

कर्णाली राजमार्गको ओटासिल छोटो समयमै उक्किदै जाने गरेको स्थानीयले बताउने गरेका छन् ।

गुणस्तरीहिन काम भएको र सडकमा पानी बग्ने, जम्ने र ढलनिकास नभएका कारण ओटासिल एक/डेढ बर्ष नपुग्दै उक्किदै जाने गरेको स्थानीय लोक बहादुर परियारलले बताए । निमार्णपछि मापदण्डअनुसार भए/नभएको हेर्ने निकाय हुँदा पनि किन कर्णालीमा विकास हुन नसकेको होला ।

गत वर्ष फागुन चैतमा गरेको कालो पत्रे एक वर्ष वित्न नपाउँदै उप्किदै जान थालेको छ । खाल्डै खाल्डाको कर्णाली राजमार्ग हुन थालेको छ ।

दैलेखको तल्लो डुंग्गेश्वरदेखि ताडीसम्मको ५० किलोमिटर पार गर्न ५ घण्टा यात्रा गर्नुपर्छ । खाल्डै खाल्डाहरुले जाखिम बढेपछि जाखिम मोल्दै गाडीहरु चल्छन् ।

कहिले हुन्छ कर्णाली राजमार्गको गुणस्तरीय स्तरवृद्धि । प्रदेश सरकारले योजना मात्रै बनाउने कि अबस्था अनुसारको व्यवस्था गरी नागरिकलाई सेवा दिने स्थानीय प्रश्न गरिरहन्छन् ।

दुर्घटना कम गर्न यातायात व्यवसायीहरुले नाफाभन्दा सेवा भाव राख्नुपर्ने कर्णाली यातायात व्यवस्था संघ जुम्लाका अध्यक्ष मिनबहादुर थापाले बताए ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डा. तपनकुमार दाहालले यातायात व्यवसायीहरुले कर्णाली राजमार्गमा ट्राफिक नियम पालना नगरेको स्वीकार गर्दै यसलाई कडाईका साथ लिनुपर्ने अवस्था भएको बताए ।

उनले भने ‘दुर्घटना घटना न्यूनिकरणका लागि ट्राफिक नियम पालना गर्न र गराउन सबैले जोड दिनुपर्छ’ यसमा कडाई गर्न जिल्ला ट्राफिक कार्यालयलाई निर्देशन गरौँ ।’

यस विषयमा सबै जिल्लाका सुरक्षा प्रमुख बसेर आबश्यक निर्देशन दिने जुम्लाका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले बताए ।

कालिकोट प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले यातायातको सवारी साधनमा क्षमताभन्दा बढी लोड राख्ने गरेको बताउँदै यसमा ट्राफिक नियम पालना गर्ने गराउने कुरामा दत्तचित्त भएर लागी पर्ने बताए ।

उनले भने ‘कर्णाली राजमार्गमा बेलुका ८ बजे भन्दापछि गाडी छोड्ने गरेका छैनौँ । कर्णाली राजमार्गमा कमै मात्र सावारी साधान गुढ्ने गरेकाले पनि लोड बढी हुने गरेको छ ।

उन थपे ‘कर्णाली राजमार्गमा गुढ्ने गाडी सुर्खेत नेपालगञ्ज, जुम्ला मुगु सिधैँ गुड्ने गरेकाले र कालिकोटको लागि भनेर छुट्टै गाडी नछुट्ने भएकाले पनि बाटोमा भेटिएका यात्रुलाई सिटभन्दा बढी चढाउन र झार्ने पर्ने बाध्यता रहेको छ ।’

जिल्ला अधिकारी गौरेले यसलाई व्यवस्थापन चाडै गरिने बताए ।

‘सयौँ ठाउँमा कालोपत्रे गरेको अनुमान नै नहुने गरी सडक बिग्रिएको छ, धेरै ठाउँमा पहिरोले पिच पनि भत्काएको छ’, नागरिक समाजका सदस्य मानदत्त रावलले भने ।

उनले भने ‘कालोपत्रे गरेको दुई वर्षमै उक्किने गरी कसरी काम गरिएको हो, अब यसको जिम्मा कसले लिन्छ ? ठेकेदार र प्राविधिकलाई कारबाही हुनुपर्छ ।’

२०७२ असार मसान्तमा ओटासिल प्रविधिबाट कर्णाली राजमार्ग कालोपत्रे सम्पन्न भएको थियो । राजमार्गको राचुली, खल्लागाड, पिली भीर, मान्मको सुनार खोला, सेरिघाट, दैखोलाल र सुर्खेतका बड्डीचौरदेखिदैलेखको डुगेश्वरसम्मको ६० किलोमिटर खण्डमा कालोपत्रे उक्किएको छ ।


चालक नै डराउँछन् यात्रा गर्न

सुर्खेत जुम्ला खण्डमा वर्षौदेखि सवारी चलाउँदै आएका चालक पनि ठूला गाडी सञ्चालनका लागि राजमार्ग सुरक्षित नभएको तर्क गर्छन् ।

साघुँरो एक लेनको बटोका कारण सवारी ओहोर दोहोर गर्दा निकै समस्या हुने गरेको चालक जयलालल कठायतको अनुभव छ ।

राजमार्गलाई जोड्दै, सयौं स्थानमा काटिँदै गरेका नयाँ ग्रामीण कृषि सडकले दुर्घटनाको जोखिम निम्त्याएको उनीहरूको भनाई छ । सडक जथाभावी काटिएका छन् ।

विश्व बैंकको सहयोगमा नेपाल सरकारको रोड सेक्टर डेभलपमेन्ट प्रोजेक्टमार्फत् पहिलो चरणमा सुर्खेतबाट दैलेखको खिड्कीज्यूलासम्म १ सय ३० किलोमिटर र दोस्रो चरणमा खिड्कीज्यूलादेखि जुम्लासम्म बाँकी खण्ड विभिन्न सातवटा निर्माण कम्पनीमार्फत ओटासिल गरिएको थियो, जबकि ओटासिल  विश्वबाटै  हटाइ सकिएको  कामै नलाग्ने प्रविधि हो 

‘नयाँ सडक काट्दा राजमार्गमै माटो र ढुंगा थुपारिदिन्छन् । कति दिन बाटोमै बास बस्नुपर्छ’, कालिकोट घर भएका बस चालक मुनबहादुर शाहीले भने, ‘सडक प्रतिदिन जीर्ण बन्दै छ, समिति र साहुले गाडी हाल्न प्रतिस्पर्धा गर्छन् ।’ पेट पाल्न दुर्घटनाको जोखिम मोलेरै भएपनि गाडी चलाउनुपर्ने उनी बताउँछन् ।

क्षेत्रीय ट्राफिक कार्यालय, कोहलपुर बाँकेको तथ्यांकअनुसार यो बाटोमा आर्थिक वर्ष ०६७/६८ देखि ०७३/७४ सम्ममा मात्रै ३३० सवारी दुर्घटनामा ३०९ जनाको मृत्यु र ५५४ जना घाइते भइसकेका छन् ।

ठेकेदार र सडक डिभिजनको लापरवाहीले राजमार्गमा बन्दै गरेका करिब दुई दर्जन पक्की पुल निर्माण अलपत्र पर्दा यात्रा झन् सकस बनिरहेको छ ।

बाढी र ठूलो वर्षा हुँदा पुल बन्दै गरेको स्थान र खोलाछेउमा सवारी सञ्चालन गर्न धौँधौँ पर्छ भने ओटासिल गरेको दुई वर्ष नबित्दै कालोपत्रे पनि उप्किसकेको छ ।

राजमार्गमा विश्व बैंकको सहयोगमा नेपाल सरकारको रोड सेक्टर डेभलपमेन्ट प्रोजेक्टमार्फत् पहिलो चरणमा सुर्खेतबाट दैलेखको खिड्कीज्यूलासम्म १ सय ३० किलोमिटर र दोस्रो चरणमा खिड्कीज्यूलादेखि जुम्लासम्म बाँकी खण्ड विभिन्न सातवटा निर्माण कम्पनीमार्फत ओटासिल गरिएको थियो ।

राजमार्गमा यात्रा मर्ने हो कि छैन भर 

कर्णाली राजमार्ग एक लेनको साँघुरो भएका कारण गाडी ओहोरदोहोर गर्न मुस्किल पर्छ ।

अझै भत्केका सडक, खोलाबाट चलाउनु पर्ने र उकालोमा गाडी भेट भए पास हुन पर्ने, कतिपय ठाउँमा यात्रुले झरेरै हिँड्नुपर्ने लगायतका जटिल समस्या रहेका छन् ।

चन्दननाथ नगरपालिका–७, जुम्लाका गाडी चालक चन्द्रबहादुर कठायतले भने, ‘म जुम्ला–काठमाडौं गाडी चलाउँछु, एक लेनको साँघुरो सडकमा कुनै गाडी बाटोमै बिग्रियो भने रातभरि त्यहीँ बस्नुपर्ने हुन्छ ।’

सडक विभागका सिनियर इन्जिनियर प्रमुख अंगलाल रोकायाका अनुसार दैलेखको खिड्कीज्यूलादेखि जुम्लासम्म एकदमै सस्तो ओटासिल प्रविधिको पिच भएकै कारण उप्किदैँ गएको छ ।

विश्व बैंकको ओटासिल प्रविधिको सर्तमा ऋण लिएर पिच भएकाले कालोपत्रे टिकाउ हुन नसकेपछि विभागले यो प्रविधि नै फेजआउट गरेको उनले बताए ।

कालिकोटको टाकुल्लाबाहेक राजमार्गमा निर्माणाधीन सबै पुल निर्माण असार मसान्तसम्म सम्पन्न हुने उनले दाबी गरेका छन् ।

‘टाकुल्ला पुल निर्माण ठेकेदारलाई विभागले कालोसूचीमा राखेको छ, ठेकेदारले उल्टै काम गर्न नदिएको भन्दै सर्वाेच्चमा उजुरी दिएकाले अदालतको फैसलापछि मात्र निर्माण हुनेछ, उनले भने, ‘राजमार्गमा निर्माणाधीन २३ पुलमध्ये पाँचवटा सरकारको १५ करोड लागतमा र १८ वटा विश्व बैंकको ६० करोड लागतमा बन्दै छन् । हामीले छिटो निर्माण गर्न ताकेता गरेका छौं ।’

रात्री सेवाको छैन भर: दिउसै त मर्ने डर 

कर्णाली सरकारले कर्णाली राजमार्गमा रात्री सेवा सुरु गर्ने निर्णय पनि गरेको थियो । कर्णाली राजमार्गको दुरदर्शा अझै नबदलिएको दृष्य हेर्दै नहेरी निर्णय गरेपछि सबत्र विरोध भयो ।

कर्णाली प्रदेशका गृहमन्त्रीले रात्री सेवा सुरु हुने निर्णय गरेपछि विभिन्न जिल्लाबाट ध्यानकर्षण भएपछि रोकिएको छ ।

साइरन जडान सुर्खेत गर्दैमा कर्णाली राजगर्मामा नपुग्ने भन्दै रात्री सेवा सुरु हुन अझै धेरै समय लाग्ने कर्णालीका बुद्धिजीविहरुको भनाई छ । दिनमै चल्न गाह्रो हुने सडकमा रात्री सेवा चलाउनुमा नागरिकहिको हित छैन् ।

चन्दननाथ नगरपालिका–७, जुम्लाका गाडी चालक चन्द्रबहादुर कठायतले भने, ‘म जुम्ला–काठमाडौं गाडी चलाउँछु, एक लेनको साँघुरो सडकमा कुनै गाडी बाटोमै बिग्रियो भने रातभरि त्यहीँ बस्नुपर्ने हुन्छ’

सबैको यो साझा बुझाई पनि हो, रात्री सेवा चलाउने निर्णय गर्नु पहिले दुई लेनको सडक बनाउने र राजमार्गाको जोखिम घटाउने निर्णय प्रदेश सरकारले गर्नु पर्ने सुझाब छ ।

कर्णाली राजमार्गका दर्जनौं पुल अधुरै

सरकारले यहाँ भएका विभिन्न अप्ठ्यारा सडक र पुलहरूलाई छिटो निर्माण सम्पन्न गरेर सहज यात्रा गराउनका लागि करोडौं रकम खर्च पनि गरेको छ ।

खर्च गरेका रकममध्ये कतिपय काम सम्पन्न भएर पनि गुणस्तरीय भएका छैनन् भने कतिपय काम निर्माण कम्पनीको लापरवाहीका कारण सम्पन्न हुन सकेका छैनन् ।

वर्षातको समयमा कर्णाली राजमार्गको सहज यात्राका लागि सरकारले १० वर्षदेखि विभिन्न निर्माण कम्पनीलाई पक्की पुल निर्माणको जिम्मा दिएको भए पनि कम्पनीको लापरवाहीका कारण कर्णाली राजमार्गका एक दर्जन बढी पक्की पुल अधुरै रहेका छन् ।

दैलेख र कालिकोटको सिमानामा रहेको किट्टुभीर नजिक ४ करोड ५१ लाख लागतको घट्टेखोला पुल निर्माणका लागि २०६९ सालमा सम्झौता भए पनि अझै निर्माणाधिन अवस्थामा रहेको छ ।

सो पुल निर्माणका लागि १५ महिनाभित्र काम सक्ने भन्दै याक्थुमहार गोल्डेन जेभी काठमाडौंले जिम्मा लिएको थियो । तर, सो कम्पनीले अहिलेसम्म १० प्रतिशत पनि काम नसकेको र उल्टै सडक बिगारेको कारण यात्रु मर्कामा परेका स्थानीयको आरोप छ ।

राजमार्ग प्रयोग गर्दै आइरहेका आठबीस नगरपालिका दैलेखका नैनबहादुर शाहीले पुल अड्याउने फलामका रडहरूमा खिया लागिसकेको बताउँदै सम्बन्धित निकायहरूले चासो नदेखाएको गुनासो गरे ।

सरकारले योजना निर्माणको जिम्मा दिएपछि त्यसको अनुगमन, गुणस्तर मापन, कार्यविधि अनुसार सार्वजनिक सुनुवाइ, लेखापरीक्षण, जन श्रमदान लगायत कुरामा सुरुदेखि चासो नदेखाउने गरेकोले ठेकेदारहरूले लापरबाही गरेका छन् ।

अधिकांश स्थानीयले अलपत्र परेका निर्माणाधीन पुलको जिम्मा लिएका निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने र लाइसेन्स खारेज गर्नुपर्ने माग राख्दै आएका छन् ।

दैलेख खण्डमा पर्ने गोठखोला र कुमाले खोलामा ४ करोड बढी लागतमा पुल निर्माणको जिम्मा लिएको बिटी धर्मेन्द्र १४ जेभी निर्माण कम्पनीले कामै सम्पन्न नगरेपछि सडक डिभिजन कार्यालय सुर्खेतले सो कम्पनीलाई कालोसूचीमा राखिसकेको डिभिजन प्रमुख बेलबहादुर भुजेलले बताए ।

भुजेलले भने अहिले गोठखोला र कुमाले खोलामा नयाँ ठेकेदार कम्पनीले काम सुरु गरिरहेको छ ।

उनले भने ‘आफूहरूले अनुगमन सँगसँगै काम नगर्ने कम्पनीहरूलाई पत्राचार, सूचना प्रकाशन जस्ता काम थालेका छौं ।’ त्यस्तै, राजमार्गको दैलेख खण्डको जाक्सी खोलामा पुल निर्माणका लागि ढलान गर्न मात्र बाँकी राखेर अलपत्र छोडिएको छ ।

पुल निर्माणको जिम्मा लिएको सिरुवार सुनकोसी र कवीर जेभीलाई तत्काल काम सम्पन्न गर्न ताकेता गरेपछि एक साताभित्रै काम सुरु गर्ने सडक डिभिजन सुर्खेतले जनाएको छ ।

सो पुल निर्माणका लागि १५ महिनाभित्र काम सक्ने भन्दै याक्थुमहार गोल्डेन जेभी काठमाडौंले जिम्मा लिएको थियो । तर, सो कम्पनीले अहिलेसम्म १० प्रतिशत पनि काम नसकेको र उल्टै सडक बिगारेको कारण यात्रु मर्कामा परेका स्थानीयको आरोप छ

कर्णाली राजमार्ग अन्तर्गत दैलेख खण्डमा पर्ने पाँचभन्दा बढी पक्की पुलहरूमा राखिएका ५० प्रतिशत समेत काम नभई रोकिएको छ ।

दैलेख, कालिकोट र जुम्ला खण्डमा पक्की पुल निर्माणको जिम्मा लिएका विभिन्न दर्जन बढी कम्पनी निर्माण छाडेर बेखबर बनेका छन् ।

निर्माण कम्पनीले काम गरे/नगरेको नियमन गर्ने निकायको रूपमा रहेको सडक डिभिजन कार्यालय सुर्खेत, सडक डिभिजन अञ्चल कार्यालय जुम्ला र कामको गुणस्तर भए/नभएको अनुगमन गर्न खटिने प्राविधिकहरूको लापरबाहीका कारण पनि पुल निर्माणमा ढिलाइ भएको आठबीस नगरपालिका दैलेखका अर्जुन शाहीको आरोप छ ।

दैलेख, कालिकोट हुँदै जुम्लासम्म जोड्ने कर्णाली राजमार्ग अन्तर्गत घट्टेखोला, कालेखोला, टाकुल्ला खोला, छिडेना खोला, खल्लागाड, बालीगढ, सिम्ला खोलाको पुल निर्माणको जिम्मा लिएका ठेकेदारहरू फरार रहेको डिभिजन सडक कार्यलय जुम्लाले बताएको छ ।

आफूहरूले बारम्बार सम्पर्क र ताकेता गर्दा पनि उनीहरूले बेवास्ता गरेपछि निर्माणको जिम्मा लिएका कम्पनीहरूलाई पत्राचार गरेको सडक डिभिजन कार्यालय खलंगाका प्रमुख नारायणदत्त भण्डारीले बताए ।

बालीघाट, सिम्ले, छिडेना खोला, घट्टेखोला, कर्णाली पुल लगायतको जिम्मेवारी आफ्नो रहेका कारण ठेकेदार कम्पनीहरूलाई पत्र काटेको भण्डारीले बताए ।

अहिले यस क्षेत्रमा आरएसडीपी नामक संस्थाले काम थाल्ने भएको छ ।

आफ्नो क्षेत्राधिकारबाट हुने र गर्नुपर्ने सबै प्रक्रिया सुरु गरिसकेको भए पनि कतिपय निर्माण कम्पनीले राजनीतिक पहुँचका कारण अटेर गर्ने गरेको सडक डिभिजनका कर्मचारी बताउँछन् । घट्टेखोलामा पहिला कन्सल्टेन्टले बनाएको नक्सा फरक परेपछि निर्माण कार्यमा समस्या आएको कम्पनीले जनाएको छ ।

विश्व बैंकले यसवर्ष कर्णाली राजमार्गको यात्रा सहजताका लागि सानाठूला पुलहरू गरेर ७६ करोड रुपियाँ बराबरको निर्माणको काम कम्पनीलाई दिएको सडक डिभिजन सुर्खेतले बताएको छ ।

डिभिजन अञ्चल कार्यालय जुम्ला र कामको गुणस्तर भए/नभएको अनुगमन गर्न खटिने प्राविधिकहरूको लापरबाहीका कारण पनि पुल निर्माणमा ढिलाइ भएको आठबीस नगरपालिका दैलेखका अर्जुन शाहीको आरोप छ 

काम नगरेका कम्पनीहरूबाट रकम असुलीका लागि पनि पहल थालिएको छ । ५/७ वर्ष पहिले सम्झौता भएका पक्कीपुलहरु बल्ला बल्ला निमार्ण हुने सुरु गरेका छन् ।

___

निर्माण सञ्चारका लागि कर्णाली संवाददाता सागर परियारको सुर्खेतदेखि जुम्ला यात्रामा आधारित सामग्री

...

आइतबार, २५ फागुन २०७४  (२६ चैत, ०७४ बिहान १० बजे अद्यावधिक गरिएको)

 

प्रतिक्रिया

Related