निदाएको भारत ब्यूझियो अपर मर्स्याङ्दीमा, ५ वर्षपछि बल्ल थाल्यो काम

पीडीए प्रक्रिया ढिला गर्दा तोकिएको समयमा नबन्ने भयो आयोजना
निर्माण सञ्चार, काठमाडौँ | ६ सय मेगावटको अपर मर्स्याङ्दी–२ जलविद्युत् आयोजनाको निर्माण कार्यले बल्ल तीव्रता पाउन थालेको छ ।

२०६३ मै सर्भे अनुमतिपत्र (लाइसेन्स) लिएको भारतीय कम्पनी जीएमआरअन्तर्गतको हिमताल हाइड्रोपावरले वर्षौपछि काम तीव्रता दिएको हो ।

पाँच वर्ष अगाडी नै लगानी आयोजना विकास सम्झौता (पीडीए)का लागि लगानी बोर्डमा निवेदन दिएको कम्पनीले आयोजनाको काममा हालसम्म कुनै चासो देखाएको थिएन ।

कम्पनीले पीडीएका लागि निवेदन दिएलगत्तै प्रक्रिया अगाडी बढाउने निर्णय गरेको थियो ।

तर, पाँच वर्षसम्म कुनै सक्रियता नदेखाएको हिमताल हाइड्रोपावरले गत शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको तीन दिने भारत भ्रमणलाई ध्यानमा राखेर पीडीए प्रक्रिया अगाडी बढाएको टिप्पणी गर्न थालिएको छ ।

यो ठूला आयोजना भएकोले पीडीए नेगोसिएसनका लागि प्रतिमेगावाट १५ सय डलर शुल्क तोकेकोमा अपर मर्स्याङ्दी आयोजनाले आफूले पहिल्यै निवेदन दिइसकेको भन्दै शुल्क नतिर्ने बताउँदै आएको थियो ।

यता बोर्डले भने शुल्क नतिरी पीडीए अगाडि नबढाउने अडान लिँदै आएको थियो । आयोजनाले ५ वर्षपछि बल्ल प्रतिमेगावाट १५ सय डलर ( करिब ९ करोड ३० लाख) बोर्डलाई बुझाएको छ ।

यस आयोजनले पीडीए नेगोसिएसनका लागि शुल्क बुझाएकोले अब पीडीएको प्रक्रिया अघि बढाउने लगानी बोर्डका सहसचिव एवं प्रवक्ता उत्तम वाग्लेले जानकारी दिए ।

सो रकम बुझाएपछि बोर्डले कम्पनीसँगको वार्ता अघि बढाउनेछ ।

 कुन–कुन आयोजनासँग पीडीए गर्ने निर्णय ?

लगानी बोर्डले ९ सय मेगावाटको माथिल्लो कर्णाली र अरुण तेस्रोका साथै ६ सय ५० मेगावाटको तामाकोसी तेस्रो र अपर मस्र्याङ्दी जलविद्युत् आयोजनासँग पीडीए गर्ने निर्णय गरेको थियो । जसमध्ये माथिल्लो कर्णाली र अरुण तेस्रोसँग पीडीए भइसकेको छ ।

पीडीए गरेरै पनि माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनमा ढिलाइ भइरहेका अवस्थामा जीएमआर अर्को आयोजना अघि बढाउन सक्रिय भएको छ ।

कम्पनीले काम धेरै लिन खोज्ने तर समयमै निर्माण कार्यलाई पूर्णता दिन नसकेको देखिएको छ ।

२ हजार २ सय ८२ गिगावाट आवर विद्युत् उत्पादन हुने यस आयोजनाको सन् २०२६ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

भर्खरै मात्र पीडीए प्रक्रिया अघि बढ्न लागेको हुँदा तोकिएको समयमा निर्माण सम्पन्न नहुने देखिन्छ ।

....

मंगलबार, २७ चैत २०७४ 

प्रतिक्रिया

Related