६ वर्षसम्म पनि बन्न नसकेको बुटवल–बेलहिया सडक ! अझै रोक्ने दाउ

घरधनीहरुले सडक क्षेत्र मिचेर बनाएका घर नहटाए आफैँले भत्काउने आयोजनाको चेतावनी
निर्माण सञ्चार, काठमाडौँ | बुटवल–बेलहिया सडकको निर्माण कार्य रोक्न स्थानीय घरधनीले फेरि कोसिस गरिरहेका छन् ।

व्यापारिक मार्गका रुपमा लिएको यस सडकको निर्माण सुरु भएको ६ वर्षसम्म पनि पूरा हुन सकेको छैन । तीन सय एघार वटा घर सडक क्षेत्र मिचर बनाइएको छ ।

सडक क्षेत्र मिचेर घर बनाएका झण्डै तीनसय बढी घरधनीहरु सडक विस्तार रोक्ने चलखेलमा तीव्र रुपमा लागेका छन् ।

सडक क्षेत्रमा बनेका संरचना तुरुन्त हटाउन भन्दै सडक विभागले १५ दिने सूचना जारी गरेलगत्तै व्यवसायीले त्यसलाई रोक्न लागि परेका हुन् ।

केही महिना अघि सर्वोच्च अदालतमा मुद्दा दायर गरेर सडक विस्तारलाई चुनावसम्म रोक्न सफल व्यवसायीहरु फेरी अगि बढ्न नदिने दाउमा छन् ।

सोमबार रुपन्देही २ का प्रतिनिधिसभा सदस्य एवं एमाले उपमहासचिव विष्णु पौडेललाई घरधनीहरुले सडक विस्तार रोक्न पहल गरिदिन माग गर्दै ज्ञापनपत्र बुझाएको छन् ।

केके छ ज्ञापनपत्रमा ?

ज्ञापनपत्रमा घरधनीहरुले २ दिन भित्र राजमार्ग छेउका घर भत्काउने कार्य नरोकिए थप आन्दोलन गर्ने बताइएको छ ।

त्यसैगरी, अहिलेको सडक संरचनाले १० देखि २० वर्षसम्म टिकाउ हुने हुदाँ तत्काल विस्तार आवश्यक नभएको उल्लेख गरिएको छ ।

यता आयोजनाका प्रमुख जिवेन्द्र मिश्रले भने घरधनीहरुले आफै सडक क्षेत्र मिचेर बनाएका घरका संरचना नहटाए आयोजनाले सरकारको सहयोगमा आफै हटाएर सडक विस्तार गर्ने बताए ।

कस्तो बन्नेछ सडक ?

हाल चौराहादेखि चिडियाखोलासम्म ४ लेनको मात्र सडक छ । यस सडकमा २ लेयर अर्थात १० सेन्टिमिटर बाक्लो कालोपत्रे थपिने आयोजनाको भनाई छ ।

दायाँ बायाँ १–१ लेनको सर्भिस लेन र नाली पनि बनाइने छ ।

आयोजनाका अनुसार कुल ५० मिटर सडक क्षेत्रमध्ये बीचमा डिभाइडर, दायाँ बायाँ साढे १०–साढे १० मिटर चौडाईको मुख्य लेन, त्यसबाहिर ६–६ मिटरको सर्भिस लेन हुनेछ ।

बाँकी फुटपाथ र नाली हुनेछ । उक्त सडक विस्तार ३० महिनामा सम्पन्न गर्नुपर्ने गरी निर्माण कम्पनीसँग सम्झौता भइसकेको छ ।

 लागत कति ?

आयोजनाको कुल लागत भने ४२ करोड रुपियाँ अनुमान गरिएको छ । आयोजनाका अनुसार बुटवल–बेलहिया ६ लेनको सडक निर्माण गर्न हालसम्म निर्माण व्यवसायीहरूलाई ३ अर्ब ७५ करोड रुपियाँ भुक्तानी दिइसकिएको छ ।

कति भयो काम ?

२०६८/६९ आवदेखि निर्माण थालिएको यो सडकको ११ किलोमिटर सडक मात्रै कालोपत्रे भएको छ । भण्डै १३ किलोमिटर सडक निर्माण हुन बाँकी छ ।

२०७०/७१ आवमा निर्माण पूरा गर्ने लक्ष्यसहित २०६९ सालदेखि बुटवल राजमार्ग चौराहादेखि बेलहिया नाकासम्म २४ किलोमिटर सडक निर्माण सुरु भएको थियो ।

त्यस्तै, व्यापारिक मार्ग विस्तार आयोजनाका लागि ३ अर्ब ३ करोड ८३ लाख रुपियाँमा ठेक्का दिइएको थियो ।

२०७३/७४ आवदेखि राजमार्ग चौराहादेखि चिडियाखोलासम्म साढे तीन किलोमिटर सडक आयोजनामा थपिएको हो ।

यससमेत गरी ५ अर्ब ८६ करोड रुपियाँ बुटवलदेखि बेलहिया नाकासम्मको साढे २७ किलोमिटर सडक ६ लेनको बनाइने आयोजनाको दाबी छ ।

....

मंगलबार, २७ चैत २०७४ 

प्रतिक्रिया

Related