‘गोल हान्न चुकेपछि फर्कन्छ र त्यही सेकेन्ड ? चुके अरु, अब अखिल हाँक्ने हाम्रो पालो’, आरसी लामिछाने

नवीनालाई बिदा गर्न नसक्ने गरी एकले अर्काेको खुट्टा तान्न थालेपछि अखिलभित्र परिस्थिति नयाँ मोडमा, महासचिव र उपाध्यक्षहरुलाई नेतृत्वको अवसर गुम्ने खतरा
निर्माण सञ्चार, काठमाडौं एमाले निकट युवा तथा विद्यार्थी संगठमा नेतृत्व छान्ने चटारो असार १५ भन्दा पनि बितिनसक्नुको छ । अखिलको सन्दर्भमा गएको फागुन महिनाको ‘डेड लाइन’ चुकेसँगै ‘आफ्नो कोर्टबाट बल’ खुस्किसकेको महसुस गरिरहेका छन् उपाध्यक्ष सहितको महासचिवको पंक्ति ।

जबकि, पार्टी शीर्ष तहबाटै महासचिव तथा उपाध्यक्षहरुलाई ‘आफूहरुबीचको सहमति’ लिएर आउन म्याद दिइएको थियो । तर, सहमति त परैको कुरा, आफू अध्यक्ष बन्न कसैमा पनि सहमति दिन कोही पनि तयार नदेखिएपछि ‘डेड लाइन’ घर्केसँगै महासचिव सहित उपाध्यक्षहरु पनि अखिलको नेतृत्वको अवसरबाट घर्किने खतराको सिकार बनेका छन् ।

चैत पनि सकिदै गर्दा परिस्थिति पनि बदलिएको संकेत देखिएको छ । अखिलको नेतृत्व अब सोचेभन्दा फरक कोणबाट पुस्तान्तर हुन सक्ने पनि जानकारहरुको बुझाइ छ ।

यद्यपि, एमाले र माओवादी दुई वामदलहरु एकता हुने हल्लाकै बीचमा दुवै अखिल एक हुँदा बखतको नेतृत्व समेत हाँक्न सक्ने ल्याकत भएको र विद्यार्थीको छवि पनि नधुमिलिएको नेता छान्ने कसरतमा एमाले नेतृत्वले आँखा सन्काइरहेको छ ।

यसै सन्दर्भमा ‘सदावहार विद्यार्थी नेता’ को छवि बनाएका अनेरास्ववियुका सचिव आरसी लामिछानेले नेतृत्वमाथि ‘धावा र दाबा’ एकैसाथ दिएका छन् ।

उनकै शब्दमा, ‘धावा यसर्थमा कि, नेतृत्वले आफ्नो क्षमता माथि नै प्रश्न उठ्ने गरी आफैंलाई पछि पारिसकेको छ । दाबा यसर्थमा कि, गोल गर्ने अवसर दुई पटक आउँदैन, ‘टाइम लाइन’ चुकाउने, आफू बन्न नपाए अरुलाई पनि रोक्ने र छेक्ने प्रवृत्ति बोक्नेहरुले विद्यार्थी जस्ता भर्साटाइलहरुको नेतृत्व क्षमता चिन्न सक्लान् ? यसरी आ–आफ्नै डम्फू बजाइरहने हो भने यत्रो विद्यार्थी पंत्ति त नेतृत्व विहीन हुने कुरै आउँदैन ।’

वैशाखको पहिलो हप्ता भित्रै अखिलले नयाँ मोड लिने उनको दाबी छ । ‘विद्यार्थी बहस’मा लामिछानेसँगको छलफलको सारसंक्षेप यहाँ प्रस्तुत गरिएको छ–

के गर्दै छ अनेरास्ववियु ?

एसइई परीक्षा सम्पन्न भएलगत्तै शैक्षिक बजारमा देखिएको अचाक्ली शुल्क वृद्धि, अस्वस्थ प्रतिस्पर्धा र शैक्षिक माफियाकरण विरुद्ध सबै संगठनका बीचमा साझा मोर्चा बनाएर आन्दोलनमा होमिएको छ ।

शिक्षा अधिकार हो भन्ने तपाईहरु साहस गरेर ‘प्राइभेटाइजेसन’ किन रोक्ने हिम्मत गर्नुहुन्न त ?

विद्यार्थी नेताकै दोहोरो चरित्र छ भन्ने आरोप छ । अत्यन्त मार्मिक तितो यर्थाथ पनि कोट्याउनु भयो । नेपालमा यतिबेला शैक्षिक अधिकार व्यापारीकरण र माफियाकरणको जालो भित्र फसेको छ ।

त्यस्तो विकृतिको फन्दामा विद्यार्थी नेताका आवरणमा रहने तर गोरख धन्दा पनि नछाड्नेहरु पनि हुन सक्छन् । तर, हामीले त्यस्तो व्यक्ति वा प्रवृत्तिलाई पछिल्लाा दिनमा आन्दोलनमा ठाउँ नै दिएका छैनौं ।

जहाँसम्म निजीकरणलाई रोक्ने र सरकारीकरण गर्ने भन्ने सवाल छ, यो सुन्दा अति राम्रो तर व्यावहारिक कठिनाइ भएको विषय रहेछ ।
तर, सरकारलाई हामीले त शिक्षा र स्वास्थ्य माथिको यस्तो माफियाकरण रोक्न केही समय निजीकरण पनि रोक्ने हिम्मत गर भन्ने दबाब दिएका छौं ।

रक्त क्यान्सर भएको मानिसको ज्यानबाट एकपटक भएभरको रगत नफाली उसको पुनजीर्वनको कल्पना गर्न सकिन्छ र ? नेपालमा त निजीकरण कहाँ भएको छ त, निजीकरणका त खास खास चरित्र र सीमा पनि हुन्छ नि, निजी क्षेत्रलाई लिएर त सबै क्षेत्रको व्यावसायीकरण हुनु नराम्रो हो र ?

ठिक प्रश्न गर्नु भयो । र, यहाँ सन्दर्भ बाझिएजस्तो पनि लाग्न सक्छ ।

नीति र गन्तव्य फिक्स नभएको र्यान्डम बजारीकरणलाई हामी जस्तो सानो अर्थतन्त्र भएको देशले निजीकरणको संज्ञा दिएर वास्तवमा स्वास्थ्य र शिक्षा क्षेत्रमा माफियाकरण नै घुसाएको हो ।

वास्तवमा विकसित मुलुकमा त निजी क्षेत्रले देश विकासमा टेवा पुराइरहेका उदाहरण छन् । हामी कहाँ चाहिँ निजीकरण भनेकै लुट्ने र धुत्ने जसरी बुझिएको छ ।

भ्यास पनि त्यस्तै भएको छ ।

यो सत्य हो कि, रक्त क्यान्सर नै लागिसकेको बिरामीलाई कि त घाटमै लगरे सेलाउनुको विकल्प हुन्न । हैन भने, उसको रगतका हरेक कोष फेर्नै पर्छ ।

नेपाली शिक्षामा भइरहेको अन्तर्राष्ट्रिय गलत मक्सदको लागनी नरोक्ने हो भने माफियाकरण पनि कमजोर नहुने देखिन्छ । यसबारे सबै पक्षले आफू गम्भीर हुनु पर्ने देखिन्छ ।

अतिले खती गर्छ भनेजस्तै सरकारले यतिबेला यातायातको सिन्डिेकटबारे त हिम्मत गरेर कदम चालेको छ नि । हो यसैगरी शैक्षिक विकृति विरुद्ध पनि हामी यही तहबाट हस्तक्षेप गर्नै पर्ने गरी अघि बढ्नुको विकल्प म देख्दिनँ ।

चर्काे शुल्कविरुद्ध अभिभावकहरु नै सडकमा आउन विद्यार्थी नेताहरुले गरेको अपिल त पत्याएनन् नि जनताले ?

वास्तवमै अर्काे मार्मिक कुरा हो यो ।

नेपाली जनता र आम नागरिककै पक्षमा हामीले यसरी आह्वान गरेका छौं, तर खै किन हो नेपाली जनता यही अवस्थाकै निरन्तरता चाहन्छ र हो कि, वा आजको परिस्थितिबाट उम्कन नै नसक्ने गरी जाकिएको भएर हो, हाम्रो अपिल कसैले नसुने जस्तै बनेको छ ।

हामीले महानगरपालिकादेखि शिक्षामन्त्रीसम्मलाई दबाब दिएका छौं, शुल्क घटाउनेबारे सोचेजस्तो उपलब्धि हाता लागेको छैन ।

अब के गर्नुहुन्छ त ?

विद्यार्थी आन्दोल वास्तवमै स्वार्थ रहित भएर हातमा मसाल बोक्ने दिन आउँदै छ जस्तो लागेको छ । किनकि हाम्रो विगतले पनि यही भन्छ, हामीले राँको लिने दिन आएपछि यी सबै विकृति आगोमा पुतली स्वाहा भएझैं ठेगान लाग्ने छन् ।

अखिलको नेतृत्वबारे चर्चा गर्दा, किन हो सभासद अध्यक्ष लामालाई सुखद बहिर्गमन नगराएको ?

हामीले नगराएको हैन । अनेरास्ववियुका आमकार्यकर्ताहरु उहाँ (नवीना लामा) को सुखद बहिर्गमनसँगै अर्काे सुखद इन्ट्रीको पनि प्रतीक्षा गरिरहेका छन् नयाँ नेतृत्वको पनि ।

तर, यसबारे फागुनसम्मको एउटा म्याद थियो दाबी गरिरहेको महासचिवदेखि उपाध्यक्षहरुसम्मको पोर्टफोलियोको ।

तर, म्याद गुजारेर साथीहरुले आफ्नो कुशलता, क्षमता माथि नै प्रश्न उठाइसक्नु भएको छ । उहाँहरु माथि आम कार्यकर्ताले देशैभरबाट प्रश्न उठाइसकेको अवस्था छ ।

किन हुन सकेको छैन त समयमै ‘डिसिजन’ ?

मैले अघि नै संकेत गरिसकें । आफूले नपाए कसैलाई नदिने मानसिक रोगबाट ग्रसित भएपछि एकले अर्काेको खुट्टा तान्दै हुनुहुन्छ कि हाम्रो नेतृत्व भन्ने लागिरहेको छ ।

आफ्नो कोर्टमा आएको बल उम्काएपछि फेरि गोल गर्न नसकेकोमा स्वीकारोक्ति छैन कि, अझै हाम्रो नेतृत्व आफ्नो कमजोरी ढाक्दै असफल हुने दिशातिर पो लम्किरहेका छन् कि जस्तो लागेको छ ।

तर पनि केही सकारात्मक संकेत पनि देखिएका छन् । नेतृत्वबारे नयाँ निर्णय हुने दिन अब पर छैन ।

यो भनेको के हो ? अलि स्पष्ट पार्ने हो कि ।

हामीले यस अघि केही मोडेल र खाकाहरुमा छलफल चलाइसकेका पनि छौं । हामीले नैतिक रुपले समर्थन गरेका दुई वाम दलहरु एक हुदा कसरी अघि बढ्ने ।

एक हुँदा पनि दुवै अखिलको सिंगो टिम र नेपालको शैक्षिक आन्दोलन हाँक्न सक्ने सबल, सक्षम, दूरदृष्टि भएको, सबैले पत्याउने र विद्यार्थी आन्दोलनकै छाप लागको नेतृत्व तयार गर्नेबारे घनिभूत कसरत भइरहे ।

सबै कमिटीका कमरेडहरुलाई सबैको एक तह स्तरोन्नति नै हुने र अध्यक्षको जिम्मेवारीबाट नवीनाजीलाई बिदाइ गर्दै गर्दाको नयाँ नेतृत्व पनि तयार गर्ने भन्ने जुन गृहकार्य र पार्टी नेतृत्वको आशामाथि तुषारापात भइसकेको अवस्था छ ।

अब के हुन्छ त ?

अब हस्तक्षेप हुन्छ । एक वाक्यमा यही बुझ्नुस । अनेरास्ववियु प्रतिभा, क्षमता, लगनशीलता र विद्यार्थी आन्दोलनको अगुवामा हुनु पर्ने धेरै गुणहरुले युक्त नेताहरुकै साझा फूलबारी भएकाले कसैलाई बन्नै नदिनेहरुको कहिलै नटुंगिने निर्णय अब कुरेर कोही बस्ला र ?

नवीना लामाको स्थानमा तपाईको दाबी हो त ?

स्वभाविक छ आरसी लामिछानेले त के अखिलका हजारौं कार्यकर्ताले अध्यक्ष लामाकै जिम्मेवारी एक न एक दिन सम्हाल्ने सपना देखेरै आफूलाई सुसज्जित गरेकै हुन्छन् ।

तर, यहाँ सबैभित्रबाट साझा र एक रानू छान्नु पर्ने हो कि । बेला घर्काएपछिको परिणाम अर्कै हुन पनि नसक्ला र ?

 

 

 

...

मंगलबार, २७ चैत, ०७४

 

प्रतिक्रिया

Related