दैनिक ६ घण्टाका दरले डेढ महिना नारायणगढ–मुग्लिन सडक खण्ड बन्द

१२ प्रतिशत काम हुन बाँकी
निर्माण सञ्चार, काठमाडौँ । नारायणगढ–मुग्लिन सडकखण्डको निर्माण कार्य अघि बढाउन अाइतबारदेखि पुनः दिउँसोको ६ घण्टा सडक आवतजावत बन्द गरिने भएको हो ।

निर्माण पूरा हुन १२ प्रतिशत काम बाँकी रहेको नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि पुनः दिउँसोमा ६ घण्टा बन्द गरिने भएको छ ।

आयोजनाले शनिबार एकदिन नयाँ वर्षका लागि भनेर दिनभर सडक खुल्ला गरेको थियो । आजदेखि पुनः बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सडक बन्द गरी निर्माणको कामलाई निरन्तरता दिइने आयोजनाले बताएको छ ।

बिहान १० बजेअघि जुगेडी पार गरिसकेका सवारी साधनलाई भने जान दिइनेछ । नारायणगढबाट जाने सवारी साधानलाई जुगेडी, भतेरीको जंगल रामनगर र आँपटारीमा रोकिने छ भने, मुग्लिनबाट आउने सवारी साधनलाई मुग्लिन, आँबुखैरहनीका विभिन्न क्षेत्रमा रोकिने छ ।

सडकको हालसम्म ८८ प्रतिशत काम सकिएको छ । आगामी जेठ १६ सम्म निर्माणको काम सकिसक्ने गरी अन्तिम समयावधि थप गरिएको छ ।

भरतपुरको आँपटारीबाट मुग्लिनसम्म ३३.२ किलोमिटर रहेको सडकको २८.५ किलोमिटर सडक पिच भइसकेको छ । दोस्रो तह २५ किलोमिटर र तेस्रो तह ५.५ किलोमिटर पिच भएको छ ।

...

आइतबार, २ वैशाख २०७५

प्रतिक्रिया

Related