डेढ करोड लगानीमा यस्तो बन्दैछ बेलहिया नाका

बुद्धत्व झल्किने प्रवेशद्वार
निर्माण सञ्चार, काठमाडौँ । रुपन्देहीको नेपाल–भारत सीमा नाका बेलहियामा नेपालको चिनारीसहित बुद्धत्व झल्कने आकर्षक प्रवेशद्वार बनाइने भएको छ ।

सिद्धार्थनगर नगरपालिकाले एक करोड ५० लाख लगानीमा प्रवेशद्वार बनाउन लागेको हो । सिद्धार्थनगरको बेलहिया नाका स्थलमार्ग हुँदै भारतबाट सबैभन्दा बढी पर्यटक भित्रिने नाका हो ।

यहाँ वीरगंज पछिको यो नेपालको दोस्रो ठूलो भन्सार कार्यालय पनि छ । यो नाका हुँदै भारतलगायत तेस्रो मुलुकका लाखौ पर्यटक लुम्बिनीमा भ्रमणमा आउँछन् ।

नगरप्रमुख हरिप्रसाद अधिकारीले भारत लगायत तेस्रो मुलुकबाट आउने पर्यटकलाई अब बेलहियामा आउँदा वित्तिकै बुद्ध नगरी सिद्धार्थनगर र बुद्ध जन्मस्थल लुम्बिनी प्रवेश गर्दैछौं भन्ने सन्देश दिन आकर्षक प्रवेश द्वार बनाउन लागिएको बताए ।

उनले भने, ‘हाम्रो उद्देश्य बुद्ध जन्मस्थलसँगै नगरपालिकाको प्रचार–प्रसार गर्नु हो ।’ उनले थपे, ‘यहाँ आउने लाखौं बौद्धमार्गीहरुले नेपाल प्रवेश गर्ने वित्तिकै बुद्धको सामिप्यतामा आएको महसुस गरी यहाँको सन्देश विश्वभरी फौलाउने छन् ।’

पर्यटकलाई भारतीय गाइडले नेपाल प्रवेश गरी बुद्धको जन्मस्थान हो भनी थाहै नदिइ लुम्बिनी घुमाएर एकै दिनमा पुनः भारत फर्काउने गरेका छन् । तर, अब प्रवेशद्वारमै बुद्ध जन्मस्थल प्रवेश गरेको थाहा पाउनेछन् ।

पर्यटकलाई बुद्ध जन्मस्थान हो भन्ने थाहा भएपछि यहाँ रात बिताउन लालायीत हुन्छन् । पर्यटक नेपालमा रोकिए भने पर्यटन क्षेत्र चलायमान हुने अपेक्षा होटल तथा रेष्टुरेन्ट व्यवसायी संगठन रुपन्देहीका अध्यक्ष गणेश बेल्बासेले गरेका छन् ।

बेलहियामा अहिले पुरानो प्रवेशद्वार छ । उक्त प्रवेशद्वार साँघुरो छ । सडक विस्तारसँगै उक्त प्रवेशद्वार हटाएर सडक विभागले सामान्य बनाउने तयारी थालेको थियो । तर, नगरपालिकाले आफ्नै लगानीबाट लुम्बिनी र बुद्धको पहिचान झल्कने सन्देशमूलक प्रवेशद्वार बनाउने भएको हो ।

प्रवेशद्वार ५० मिटर लम्बाई, २३ मिटर ८० सेन्टिमिटर चौडाई तथा सडकदेखि २९ मिटर अग्लो हुनेछ । प्रवेशद्वारलाई नेपालको चिनारी झल्कने कलात्मक वस्तु, स्वयम्भूको आँखासहितको बुद्ध चिनारी, अशोका,स्तूपा, विभिन्न १२ वटा बुद्ध मूर्ति, हर्निका, आर्च, स्पायर गजूर, हरियाली जोन, नेपालको राष्ट्रिय झण्डा, बुद्ध झण्डाले सिंगारिनेछ । यस्तै प्रवेशद्वारमा बौद्ध ध्वनी गुन्ज्यायमान पनि गराइने छ ।

पुरातत्वविद्, लुम्बिनीका जानकार, शान्तिका अभियन्ता, संस्कृतिविद्, समाजसेवी, बुद्धिजिवी, इन्जिनियर, जनप्रतिनिधि, परामर्शदाता, बौद्ध ज्ञाता र नगरबासीको छलफलमा प्रवेशद्वारको डिजाइन तयार पारिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका बरिष्ठ इन्जिनियर यमलाल पाण्डेले भने, ‘लामो समयको अध्ययन, सबै क्षेत्रको सल्लाह सुझावमा अन्तिम डिजाइन तयार पारिएको हो ।’ उनले थपे, ‘यसले नेपालको चिनारी र बुद्धको महत्वलाई बढावा दिने छ ।’

प्रवेशद्वारको डिजाइन तयार पार्न नगरपालिकाले नेस्ट डिजाइन आर्किटेक्ट कन्सल्टेन्सी जेभी काठमाडौंलाई छनौट गरेरको थियो । उक्त कन्सल्टेन्सीले नगरपालिकालाई प्रवेशद्वारको नमूना तयार पारी हस्तान्तरण गरिसकेको छ ।

अब टेन्डर आह्वान गरी डेढ महिनाभित्र निर्माण थालिने पाण्डेले बताए । उक्त प्रवेशद्वार २०७५ सालभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

...

शुक्रबार ३०, चैत्र ०७४

प्रतिक्रिया

Related