कामको सिजनमै बजेट अभावः कसरी हुन्छ देशको विकास ?

सडक र स्थानीय पुलमा समस्या बढी
निर्माण सञ्चार, काठमाडौँ । वर्षेनी कतिपय आयोजना सुरुवात हुन नसकेर बजेट फ्रिज भइ फिर्ता जाने गरेका छन् भने कतिपय आयोजनाहरु बजेट अभावले बिचमै रोकिने गरेका छन् ।

राजनैतिक दबाबमा पारेर विकास आयोजनाहरु सुरु गर्ने तर हातमा परिसकेपछि विभिन्न बहाना बनाउँदै आफ्नो जिम्मेवारीबाट पन्छिन खोज्ने परिपाटीले गर्दा देशका धेरैजसो निर्माण कार्य अधुरै रहेका छन् ।

यसैगरी, हिउँदको समय निर्माणको सिजन हो । तर सिजनमै बजेटको अभाव हुँदा सडक विभाग अन्तरगतका अधिकांश आयोजनाको काम रोकिएका छन् ।

सडक विभागलाई चालु आर्थिक वर्षमा लगभग ३५ अर्ब बराबरको बजेट अभाव भएको छ । सडक विभागले ८ अर्ब भुक्तानीको लागि बिल पेश गरेको छ तर उक्त बिलको अहिलेसम्म भुक्तानी हुन सकेको छैन ।

पुरा गरिसकेको कामको भुक्तानी नपाएको भन्दै निर्माण व्यावसायीले बिरोध गर्दै काम रोकेका छन् । यसै समस्यालाई आधार मान्दै नेपाल निर्माण व्यवसायी महासंघका कार्यबाहक अध्यक्ष विष्णुभाइ महर्जनले रमक नपाएपछि व्यवसायीले धेरै आयोजनाको काम अगाडि बढाउन नसकेको बताए ।

विभागले व्यवसायीको भुक्तानी गर्न नसक्दा सडक तथा पुल आयोजनाहरुका काम रोकिएको विभागका प्रवक्ता मुक्ति गौतमले स्वीकारेका छन् ।

गौतमले भने, ‘कामको सिजनमा आयोजना बजेट अभावमा अल्झिएको छ । पेश भएका बिलको भुक्तनी समयमा दिन सकिएन । यो समस्या कसरी सल्टाउने भन्ने अन्योलमा विभाग छ ।’

यस वर्षका लागि अर्थमन्त्रालयले ३५ अर्ब विभागलाई दिनुपर्ने हो तर अर्थमन्त्रीले ४ अर्ब मात्र भुक्तानी गरेको छ । व्यवसायीलाई दिने भुक्तानीमा समस्या आएको विभागका महानिर्देशक गोपाल सिग्देलले बताए ।

सिग्देलले भने, ‘हामीले मन्त्रालयमा यसको जानकारी दिइसकेकका छौं ।’ उनले थपे, ‘निर्माणको सिजनमै आयोजनामा प्रभाव गर्ने गरी बजेट रोक्दा पछि अनेकन समस्या आउन सक्छन् ।’

विभागले आयोजनाहरु बजेट अभावका कारण रोकिएको भन्दै तत्काल आवश्यक व्यवस्थापन गरिदिन माग गर्दै पटक–पटक अर्थ मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय समक्ष आग्रह गरेपनि सरकारी ढुकुटी रित्तिएको भन्द अर्थले रकम दिन आनाकानी गरिरहेको विभागको गुनासो छ ।

भौतिक पूर्वाधारमन्त्री रघुबीर महासेठले पनि निर्माण कम्पनीले काम गरेपछिको भुक्तानी रोक्न नमिल्ने भन्दै अर्थमन्त्रीलाई अनुरोध गरेको बताएका छन् ।

महासेठले भने, ‘मैले अर्थमन्त्रीसँग भेटेरै कामको भुक्तानीको बारेमा कुरा गरेको छु । भुक्तानी नरोकिदिन अनुरोध गरेको छु । अर्थमन्त्री यसमा सकारात्मक हुनुहुन्छ ।’

महासेठले भने, ‘ठेकेदारले भुक्तानी नपाए काम अघि बढाउन सक्दैन । आयोजनालाई समयमै सम्पन्न गर्न पनि समयमा भुक्तानी हुनु जरुरी छ ।’

पुलका आयोजनामा बजेटको चरम अभाव भएको भन्दै लगभग साँढे ५ अर्बभन्दा बढी भुक्तानी गर्न नसकिएका प्रवक्ता गौतमले बताए ।

गौतमले भने, ‘राजमार्गका रणीतिक पुलका शीर्षकमा बजेट भुक्तानी हुने गरेको छ । तर, स्थानीय पुलहरुमा बढी समस्या आयो ।’ उनले थपे, ‘स्थानीय पुलमा अब २० प्रतिशत मात्रै बजेट बाँकी छ । तर, बिल भने ५ अर्ब बढीको आइसक्यो ।’

अहिले विभागअन्तरगत देशभर झण्डै २ हजारभन्दा बढी पुल बन्दैछन् । यो वर्ष पुलका लागि ३ अर्ब मात्रै बजेट आएको थियो ।

अहिले झण्डै ७५ अर्ब भन्दा बढीको पुलहरुको निर्माण भइरहेको छ । पुल आयोजनाहरुमा वर्षमा १६ अर्बभन्दा बढी रकम आवश्यक हुन्छ ।

सडक विभागले भुक्तनी दिन नसकेपछि दैनिकजसो विभागमा रकम माग्न पुग्ने व्यवसायीको ताँती छ । यसले गर्दा दैनिक कार्यसम्पादनमा नै समस्या परेको विभागका अधिकारीहरुको गुनासो छ ।

विभागले यो वर्ष ७४ अर्ब बरारको बजेट पाएको थियो । जसमा वैदेशिक महाशाखा अन्तरगत खर्च हुन नकसकेको ८ अर्ब रुपैयाँ विभागले अर्थमन्त्रालयलाई फिर्ता दिइसकेको छ ।

तर, अन्य शीर्षकमा अर्थले आवश्यक थप ३५ देखि ४० अर्ब बजेट निकासा नदिए या वर्ष सडक र पुल आयोजनाको प्रगतिमा प्रभाव गर्ने प्रवक्ता गौतम बताउँछन् ।

...

शुक्रबार ३०, चैत्र ०७४

प्रतिक्रिया

Related