जुम्लाका १० प्रतिशत किशोरी अझै विद्यालय क्षेत्र बाहिर

विद्यालय बाहिर रहेका जुम्लाका ३ हजार बढी किशोरीमध्ये ७५ प्रतिशत दलित किशोरी
निर्माण सञ्चार, जुम्ला | नेपालमा अझैपनि छोराछोरी बिचको विभेद अन्त्यमा अपेक्षाअनुसार उपलब्धी हुन सकेको छैन ।

सरकारले छोराछोरीलाई स्वास्थ्य, शिक्षा, तथा विभिन्न अबसर सम्मान तरिकाले दिने नीति भने ल्याएको छ । शहरी क्षेत्रमा केही शिक्षित व्यक्तिहरुले छोराछोरीबिचको भेदभाव गरेको पाइदैँन ।

तर, दुर्गम कर्णाली क्षेत्रका ग्रामिण बस्तीहरुका किशोरीहरु अझै पनि शिक्षाको पहुँचबाट टाढा नै छैन ।

पराई घरमा जाने छोरीलाई पढाउनु हुँदैन छोरीहरु घरधन्दा मेलापातमा नै सहि छ, पढेर केनै गर्न सक्छन् लगयतका कुरा अझै मानसिकताबाट हट्न सकेको छैन, अधिकांश जुम्लाबासीको ।

छोराछोरीले हरेक क्षेत्रमा समान अबसर पाउनुपर्छ भनेर पछिल्लो समय सानै उमेरमा विबाह गर्ने, बसाई सर्ने, सामुदायिक विद्यालयबाट निजि विद्यालयमा जाने, कालापहाड जाने लगायत कारणले गर्दा जुम्ला सहित कर्णालीका प्राय किशोरीहरु विद्यालय क्षेत्रभन्दा बाहिर रहेका छन् ।

संख्याको हिसाबले विद्यालयमा छात्र भन्दा छात्राहरु बढि भएपनि एसईई दिएपछि किशोरिहरुको शंख्या घट्ने गरेको छ । प्राविदेखि माध्यमिकस्तरसम्म पुग्दा ६० प्रतिशतले किशोरी घट्ने गरेको पाइएको छ ।

किशोरीहरुलाई विद्यालय क्षेत्रसम्म पुराउने भनिएका विभिन्न कार्यक्रमहरुले पनि उपलब्धी हासिल गर्न सकेको अबस्था छैन ।

नेपाल सरकारले किशोरीहरुलाई शिक्षाको पहुँचमा ल्याउने, पुर्ण छात्रबृतिको व्यवस्था गर्ने लगायतका योजना राखे पनि परिणाम भने अर्कै देखिएको छ ।

 १० प्रतिशत किशोरी विद्यालय बाहिर

जुम्लाका १० प्रतिशत किशोरीहरु अहिले पनि विद्यालयको पहुँचमा छैनन् । माथि उल्लेख गरिए झै विभिन्न कारणले यहाँका किशोरी विद्यालय जानबाट बन्चित छन् ।

प्रावि, निमावी र माध्यमिक गरी जुम्लामा १ सय ६९ वटा विद्यालय छन् ।

जसमा जुम्लाका सामुदायिक विद्यालयमा मात्रै ३६ हजार १ सय ८३ जना विद्यार्थी अध्ययरत छन् । त्यसको १० प्रतिशत विद्यार्थी अर्थात ( ३ हजार ६ सय १८ ) जना किशोरीहरु विद्यालय क्षेत्र भन्दा बाहिर छन् ।

तर, यस विषयमा शिक्षासंग सरोकार राख्ने निकायहरुको भने कुनै चासो देखिदैन ।

प्रत्येक वर्षको शैक्षिक शत्रमा किशोरीहरुको संख्या बढाउने लक्ष्य राख्ने तर विद्यालय भर्ना हुँदै छोड्दै गरेकाहरुको विषयमा कुनै चासो नदिँदा विद्यालय बाहिर जाने किशोरीहरुको संख्या बढ्न थालेको भगवानी प्रावी तातोपानीका प्रधानाध्यापक अर्जुन बुढाले बताए ।

यस विषयमा अब गाउँ शिक्षा समितिले विशेष ध्यान दिनुपर्ने उनको भनाई छ । जुम्लामा प्रावि ९१, निमावी ३० र माध्यमिक विद्यालय ४८ वटा रहेका छन् ।

ईसिडिमा २९५६, प्रावितहमा छात्र छात्रा गरी, १९ हजार २ सय ८४, निमावी तहमा ७ हजार ७ सय २९, माध्यमिक तहमा ४ हजार १ सय ४१ जना छात्रछात्राहरु अध्यायनरत रहेको जिल्ला शिक्षा कार्यालय जुम्लाका शाखा अधिकृत महेशदत्त देवकोटाले बताए ।

उनका अनुसार यसमा पनि सदरमुकाम क्षेत्र भन्दा ग्रामिण बस्तीका किशोरीहरु बढी विद्यालय क्षेत्र बाहिर छन् । यस विषयमा स्थानीय सरकारले अब विशेष ध्यान दिएर किशोरीमैत्री कार्यक्रम गर्न आबश्यक रहेको छ ।

विद्यालय छोड्ने दलित किशोरी बढी जुम्ला जिल्लाको तथ्यांक हेर्दा बिचमै पढाई छोडेर विद्यालय बाहिर जाने दलितका किशोरीहरु बढि रहेका छन् ।

विद्यालय बाहिर रहेका जुम्लाका ३ हजार बढी किशोरीमध्ये ७५ प्रतिशत दलित किशोरी रहेका छन् । अझै पनि कर्णालीका दलित समुदायले छोरीलाई पढाउनु पर्छ । छोरीले केही गर्न सक्छन् भन्ने मानसिकता छैन ।

जसले दलित समुदायका किशोरीहरु विद्यालय क्षेत्र भन्दा बाहिर छन् ।

‘बालबच्चा धेरै छन्, त्यसमा पनि छोरा पाउने भन्दा भन्दै ५ छोरी भए’ जुम्ला कुडारीका कर्ण सार्कीले भने, ‘कसलाई पढाउने कसलाई नपाढाउने घरमा राम्रो आयस्रोत पनि छैन ।’

त्यसैले कुनै छोरीलाई राम्रो शिक्षा दिन सकिएन’, सार्किले भने । सार्कि भन्छन् ‘दुई छोरीको विवाह भइसक्यो, ३ जना बाँकी छन्, यीनिहरले घरको काममा आमालाई सघाउँछन् ।’

उनीहरुले विद्यालय ४/५ कक्षा पढेर छाडेको सार्किले सुनाए ।

धेरैका कथाहरु यस्तै छन् जुम्लामा । उनीहरुको एकमात्रै आशा कुनै दाता तथा सरकारले निशुल्क पढाउन व्यवस्था गरिदिए राम्रो हुनेथियो ।

आर्थिक अभावले नपढाएपनि कसैले त अर्का घरमा जाने छोरीलाई पढाएर के काम भन्ने जस्ता मनसायका कारण दलित समुदायका किशोरी विद्यालय बाहिर बढी भएको विद्यालय निरिक्षक खडानन्द चौलागाईले बताए ।

दलित समुदाय लक्षित कार्यक्रम संचालनमा अबको स्थानीय सरकारले पहल गर्नुपर्ने उनको सुझाब छ । जसले विद्यालय बाहिर रहेका किशोरिलाई शिक्षाको पहुँचमा ल्याउन सकिन्छ ।

आर्थिक अबस्थाले भ्याएन पढ्न ‘सरकारले दलित छात्रबृत्तिका रुपमा दिने रकमले वर्षभरी कापी कलम पनि किन्न पुग्दैन तातोपानी गाउँपालिका २ की अनिता दमाईले भनिन्’, घरमा दुईजना दाई छन् । हामी सबै पढाउने खर्च धान्न सक्ने अबस्था छैन ।’

पढाई छोड्नु रहर नभई बाध्यता भएको उनको दुखेसो छ । अनिता दमाई एक प्रतिनिधि पात्र मात्रै हुन् । उनको जस्तै दुखेको जुम्लाका धेरै किशोरीहरुको छ ।

पढ्ने रहर हुँदा पनि आर्थिक अबस्था कमजोर भएपछि विद्यालय छोड्नुको विकल्प अरु छैन । नाम लेख्नेसम्म भए हामीलाई पुग्छ ।

तातोपानीकै माया नेपाली भन्छिन्, ‘उच्च शिक्षा पढाउन्जेलसम्म खर्च धान्न गाह्रो हुन्छ, छोरालाई लगानी गर्ने कि छोरीलाई आमा बाबु पनि दोधार हुन्छन् ।’

सोहीकारण विचमै आफुले पढाई छोडेको माया नेपालीले बताईन् ।

‘घरको अबस्था कमजोर भएकोले विहान बेलुका छाक जुटाउन मजदुरी गर्छु’ उनले भनिन् ।

विद्यालय जाने फुर्सद नभएको चन्नदनाथ नगरपालिका ३ की एशोदा सार्कीले बताईन् छात्रबृत्रिले न पोशाक किन्न पुग्यो नत कापी कलम किन्न पुग्थ्यो त्यसैले रहर हुँदा पनि पढाई छोड्नु बाध्यता जस्तै भएको सार्की आफ्नो दुख सुनाईन् ।

कापी कलम किन्न पनि नपुग्ने छात्रबृति दिनु भन्दा सरकारले बरु आर्थिक अबस्था हेरेर निशुल्क पढ्ने व्यवस्था गर्नुपर्ने किशोरीहरुको माग छ ।

शिक्षा क्षेत्रमा स्थानीय सरकारको योजना

हरेक स्थानीय सरकारले गुणस्तरीय शिक्षा आर्जनका लागि लाखौँ बजेट छुटाएको बताईरहेका छन् । परिणामा ग्रामिण बस्तीका किशोरी बिचमै विद्यालय छोडर बाहिररहेका छन् । त्यस तर्फ स्थानीय सरकारले चासो दिएको छैन ।

नागरिक समाज जुम्लाका संयोजक राज बहादुर महतले भने, लाखौ बजेट छुटाउनु भन्दा किशोरी शिक्षा कार्यक्रमहरुलाई जोड दिनुपर्छ । जसले विद्यालय बाहिर रहेका किशोरिलाई शिक्षाको पहुँचमा ल्याउन सहज हुने उनको बुझाई छ ।

३६ हजार बढी जुम्लाका विद्यार्थी मध्ये ६० प्रतिशत किशोरी भएपनि १० प्रतिशत अहिले सम्म विद्यालय बाहिर हुनु दुखद पक्ष हो ।

चन्दननाथ नगरपालिकाकी मेयर कान्तिका सेजुवालले भनिन्, ‘सबै किशोरीको तथ्यांक संकलन गरी विद्यालयको पहुँचमा ल्याउन विशेष पहल गरिन्छ ।

शिक्षा क्षेत्रको विकासका लागि छुटाइएको बजेट किशोरी शिक्षामा लगानी गरे उपलब्धी हासिल गर्न सकिने उनको आशा छ । शिक्षा क्षेत्रको विकासका लागि योजना सबै स्थानीय तहले बनाएका छन् । यस भन्दा अगाडी केन्द्रिय सरकारले पनि शिक्षामा अर्बौ लगानी गरेको थियो तर उपलब्धि भने देखिएन ।

जिल्ला समन्वय समितिका प्रमुख लाल बहादुर सार्कीले भने, ‘अब किशोरी शिक्षा कार्यक्रममा जोड दिदैँ उनिहरुको इच्छाअनुसारको सिप सिकाउनु जस्ता कार्यक्रम गर्न स्थानीय तहलाई निर्देशन दिने बताए ।

 किशोरीमैत्री वाताबरण नहुनु

किशोरीहरु विद्यालयको पहुँचबाट बाहिरनुको अर्को मुख्य कारण विद्यालयमा उपयुक्त किशोरी मैत्री वाताबरण नहुनु पनि हो ।

छात्रछात्राको छुट्टाछुट्टै शौचालय नहुनु, महिनावारी हुँदा प्याड चेन्ज गर्ने ठाउँ नहुनु, महिनावारी हुँदा सहज तरिकाले कक्षामा बस्ने वाताबरण नहुनु लगायतका समस्याहरुले गर्दा जुम्लाका किशोरी पढ्दै विचमा विद्यालय छोड्ने गरेको चन्दननाथ माविकी शिक्षिका बविता शाहिले बताईन् ।

उनकाअनुसार विद्यालयमा पुर्ण रुपमा किशोरीमैत्री वाताबरण सृजना गर्नुपर्छ । भर्ना अभियनालाई झण्डा र नारामा मात्रै सिमित गर्नु हुँदैन ।

उनले थपिन् ‘बढि भन्दा बढि किशोरीलाई विद्यालयमा भित्राउने लक्ष्य गरी जनचेतना मुलक कार्यक्रम संचालन हुनपर्छ ।’

जुम्लामा किशोरी विद्यालय क्षेत्रभन्दा बाहिर जाने दरलाई रोक्न सबै सरोकारवालाहरुले किशोरी मैत्री शिक्षा संचालन गर्ने गाउँगाउँमा परामर्शका कार्यक्रमहरु गर्नुपर्ने शिक्षा प्रेमीहरुले बताएका छन् ।

कर्णाली प्रदेशका निर्माण संवाददाता सागर परियार

 ....

मंगलबार, ४ वैशाख २०७४

प्रतिक्रिया

Related