‘महाधिवेशन अघि हुँदैन नेतृत्व परिवर्तन, नेतृत्व दोबाटोमा पसल थाप्ने वस्तु हो र ?’, लुइँटेल

स्वतन्त्र देशको सार्वभौमसत्ता दुवैका हकमा बराबर भन्ने पाठ जुन मोदीजीलाई नेपालको प्रधानमन्त्रीले सिकाउन सफल हुनु भएको छ, त्यसको उच्च मूल्यांकन यो वैठकले गर्ने छ
निर्माण सञ्चार, काठमाडौं देशकै शक्तिशाली युवा आन्दोलनको छाप बनाएको युवा संघ नेपाल फेरि केन्द्रीय कमिटी वैठकमा जुटेको छ । अध्यक्ष पहारीको उमेर हद मात्र नभई काश्की प्रदेश–२ बाट प्रदेश सभा सदस्य नै बनिसकेपछि बस्न लागेको यो वैठकले नेतृत्व परिवर्तन गर्ला कि भन्ने धेरैले अनुमान गरेका छन् । तर, परिस्थिति भने त्यस्तो देखिदैन ।

विगतका केही वैठकहरु हेर्दा, नेतृत्व जामले उकुसमुकुस भएपछि ‘कीर्ते हस्ताक्षर संकलन’ गरेरै भएपनि केक वैठक बसाउने संस्कृति बसिसकेको संघमा जब केक वैठक बस्छ, राज्यलक्ष्मी गोल्छाको ‘भूत’ जाग्ने गरेको छ । 

यो ‘भूत’ यतिबेला पनि जागिसकेको छ । यो ‘भूत’ प्रकरण सँगै एकखाले ‘एमाले युवा गण’ यसको शुद्धीकरण बेगर सुन्दर युवा संघको परिकल्पनै हुन नसक्ने भन्दै शुद्धीकरणको युद्धमा होमिएका छन् ।

अर्कोतिर, पार्टी शीर्ष नेतृत्वलाई सार्वजनिक सञ्जालबाटै ‘गलौज’ गर्नेदेखि ‘पद, प्रतिष्ठा र पजनी’का लागि जे गर्दा पनि हुने संस्कृतिको बाहक संघ बनेको आरोप पनि यतिबेला संगीन रुपले उठेको छ ।

नेतृत्व हत्याउन ‘अस्वस्थ खेल मैदान’ सरह बन्दै आएको छ संघ यतिबेला । विगत केही समयदेखि मोर्चाबन्दी र गुटबन्दीको खेलमा व्यस्त संघको गुट र मोर्चाको रुप र सार समेत बदलिएको अवस्था छ । ओली निकट भनिने युवाहरुकै गुट फरक फरकबाट सञ्चालित हुन थालेकै परिस्थितिमा सरकार बनेसँगै माधव नेपाल निकटस्थ युवाहरु मिसिएपछि ओली निकट एउटा समूहको यतिबेला पल्ला भारी देखिएको छ ।

एमाले नेतृत्वमा संघको सकस भने छुट्टै खाले देखिन्छ । स्थानीय तहदेखि प्रदेश र प्रतिनिधि सभा निर्वाचनसम्मले पनि ‘नेता व्यवस्थापन’ नभएपछि बाँकीको व्यवस्थापन उसको टाउको दुखाइको विषय हो ।

तर,भावी नेतृत्वमा आफ्नै लिगेसी (अर्थात् यस म्यान) दोहोर्याउन चाहने मध्ये एमालेका केही नेतादेखि पूर्व अध्यक्षहरु निरु पाल र महेश बस्नेतसम्म यी विवादहरुमा मुछिदै आएका छन् । एकातिर वर्तमान अध्यक्ष पहारी र अर्काेतिर ‘इमिडिएट’ अध्यक्षहरु बीचको तानातानमा ध्रवीकृत संघ माओवादी एकता भएमा आफ्नो पोजिसन के होला भन्ने त्रासले समेत गाँजिएको अवस्थामा देखिन्छ ।

नयाँ वर्षसँगै केन्द्रीय कमिटी वैठक (३, ४ वैशाख) तय गरेको संघले अब कस्तो बाटो लिँदै छ भन्नेबारे संघको भावी नेतृत्वका लागि सचिवको दाबी गरिरहेका केक सदस्य साथै मानव अधिकार तथा द्वन्द्व व्यवस्थापन विभाग प्रमुख फणीन्द्र लुइँटेलले भने सबै विषयमा फरक तर्क दर्ज गरेको दाबी गर्छन् । हेरौं उनीसँगको छलफलको सरांश—

यो वैठकको अजेन्डा के हो ?

यस वैठकमा समकालीन विषयहरु नै प्रधान रुपले उठ्ने छन् । ती मध्ये मुख्य अजेन्डामा– पहिलो हो विगतको समीक्षा, दोस्रोः गोल्छा आयोगको प्रतिवेदन, तेस्रो– कीर्ते हस्ताक्षर प्रकरण, चौथो– सरकारलाई सफल बनाउनेबारे संघको भूमिका, पाँचौं– बिदाइ तथा मनोनयन, छैठौं– वाम एकतापछि युवा संघ र वाइसिएल एकताबारे रणनीति तय र छैठौं– युवा स्वरोजगारबारे ओली सरकारले कस्तो कार्यक्रम ल्याउँछ र विविध विषयहरु रहने छन् ।

संघका केन्द्रीय कमिटी वैठकहरु त बस्नका लागि बस्ने तर चुरो काम त नहुने भन्ने आरोप छ नि ?

यस पटकको वैठक युवा संघभित्रको आफ्नै सन्दर्भमा मात्र बस्ने नभएकाले यो वैठक विगत भन्दा नितान्त फरक र सारसहितको हुने छ । यसले संघको भावी जिन्दगीमा दूरगामी प्रभाव पार्ने निर्णयहरु लिने छ ।

अझै पनि यो त पहारीकै आयु लम्ब्याउने वैठकको ‘रिहर्सल’ भन्दै छन् एकथरीले ?

तपाईले कडा प्रश्न गर्नुभयो । तर म शान्त भएरै जवाफ दिन चाहन्छु । कुनै पनि संगठनमा अध्यक्ष प्रमुख कुरा हो र खेलौना हैन भन्ने सबैलाई हेक्का हुनै पर्ने कुरा हो जस्तो लाग्छ ।

जहाँसम्म अध्यक्ष राजीव पहारीको आयुको कुराले जुन कुरालाई संकेत गर्नखोज्नु भएको छ, के अध्यक्ष पद दोबाटोमा हिँड्दै गरेको जो पायो त्यही बटुवालाई ‘लौ ला अध्यक्ष खा’ भन्ने विषय हो र ? त्यसको पनि त बाध्यता होला, समय होला, सीमा होला ।

कसैका पाखुरीमा बल र बगलीमा मल छ रे भन्दैमा यो दुनियाँ मैले जसो भन्यो त्यतै तिर हिँड्नु पर्छ भन्ने हो र ? डोनाल्ड ट्रम्पले सिरियामा आक्रमण गरेको २४ घन्टा नबित्दै त सैनिक फिर्ता गराउन हतार भयो ।

हेक्का रहोस्, केही मित्रहरु पाखुरा सुर्किरहेका छन्, केही फुर्किरहेका छन । यो कमरेड केपी ओलीको विरासतको कुरा हो ।

इतिहासमै दुई बाम दल एकता पछि नेपाली जनतालाई सुखी र समृद्ध बनाउने भन्ने सपना बोकेर हिडेको वर्तमान पार्टी र सरकारको नेतृत्वको सपना साकार पार्ने कुरा हो ।

त्यसैले लैनो गाई देखेर स्यालले र्याल काड्दैमा हुन्छ र ? पार्टी पंक्तिे आवश्यकता अनुसार जे भन्छ त्यही हुन्छ । शीर्ष नेतृत्वको इच्छा बेगर स्याल हुइँ्याँ गर्दै नहिडे हुन्छ । नेतृत्व महाधिवेशन अघि परिवर्तन हुँदैन । लेखेर राखे हुन्छ ।

अब पुरानोलाई फेर्ने र नयाँलाई हेर्ने बेला आएको हैन र ?

प्रदेश सभामा नेतृत्व जिम्मा पाइसकेपछि अध्यक्ष पहारीलाई बदल्नेबारे त अरुले किन ? सबैभन्दा पहिले मैले पनि फेरौं भनेकै त छु । तर फेर्ने र हेर्ने भन्ने कुरामात्र यहाँ कहाँ रह्यो र ?

उमेर पनि ४० कटिसकेको र संघको अधिवेशनको समय सीमालाई पनि हेर्दा अध्यक्ष पहारीलाई फेर्नेबारे उठेको तर्क पनि सम्मानयोग्य नै हो ।

तर, सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमाले र माओवदी बीच हुने भावी एकतालाई नै मध्यनजर गरेर पार्टी पंक्तिबाटै फेर्ने र हेर्ने कुरा रोकिएको कुरा त सबैलाई हेक्का होला नि हैन र !

त्यसैले सन्तान पनि समय आएपछि हुन्छ भन्ने प्राकृतिक विज्ञान बुझेका साथीहरुले वाम एकता र नेपाली कम्युनिस्ट क्रान्तिको भविष्यलाई हेरेर यसबारे बुद्धिमानी निर्णय लिने छन् भन्ने मलाई लागेको छ ।

उसो भए वाम एकताबारे यो वैठकले ठोस निर्णय गर्दै छ ?

हो, गर्दैछ । यो वैठकले मुलुकका दुई ठुला वाम दलबाट एउटै ठूलो कम्युनिस्ट मूलधार बन्ने पार्टी एकतालाई स्वागत गर्ने छ । त्योसँगै युवा संघ र वाइसिएल बीचको एकता प्रक्रिया, विधिबारे कुनै संयन्त्र मार्फत् काम गर्ने नीति अख्तियार गर्ने छ ।

अनि यो कीर्ते हस्ताक्षर प्रकरणले त युवा संघलाई कहिलै नछाड्ने भो होगि ? के हुँदै छ यसपाला ?

हजुर । हामीले हिड्दै छ पाइला मेट्तै छ जस्तै इतिहासलाई सम्मान गर्न नजान्दा कीर्ते प्रकरण दोहोरिरहेका छन् । म यतिबेला यति मात्रै भन्न चाहन्छु, इतिहासमाथि गर्व गर्न नजानेका मित्रहरुलाई गर्व गर्न सिकाउने गरी कीर्तेबाटो हिड्नेलाई सही मार्गमा ल्याउन यो वैठक कामयाव हुने म ठान्दछु ।

राज्य लक्ष्मी गोल्छा रुपी ‘किचकन्ने’ त जागेको जागै हुने रहिछन्, यिनको समयमै संस्कार गरे त भूत जागिरहँदैन भन्ने मान्यता छ नि, के हुन्छ यो वैठकमा ?

अत्यन्तै लाक्षणिक पाराले प्रश्न उठाउनुभो । र, यो मार्मिक र गम्भीर मुद्दा बनिसकेको अवस्था छ । नेकपा एमालेमा समानुपातिक कोटाबाट सांसद समेत बनेको इतिहास गोल्छासँग छ ।

उहाँसँग जोडिएर युवा संघका केही कमरेडहरुको समेत नाम मुछिएपछि हामीले विरोध गर्यौं । फलस्वरुप, उपाध्यक्ष कमरेड चन्द्र लामाको संयोजकत्वमा छानबिन समिति पनि बन्यो ।

प्रतिवेदन अहिलेसम्म बाहिर आएको छैन । यो वैठकमा यो अजेन्डा हाम्रो जीवन मरणको सवाल बनेकाले घनिभूत रुपमा उठ्ने छ ।

भरखरैमात्र प्रधानमन्त्रीका रुपमा एमाले अध्यक्ष ओलीले भारत भ्रमण गर्नुभएको छ, यसबारे कुनै धारणा पनि ल्याउँछ कि ?

अवश्य पनि ल्याउने छ । यो वैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले भरखरै गर्नुभएको मित्रराष्ट्र भारतको ३ दिने राजकीय भ्रमणको सफलताको उच्च मूल्यांकन गर्ने छ ।

यो भ्रमणले भारतसँग रहेको उँचो वा निचो भन्ने कुभाव हटाउन ऐतिहासिक सफलता लिएको छ ।

विगतका जस्ता माग्ने प्रवृत्ति भन्दा बरु स्वतन्त्र देशको सार्वभौमसत्ता दुवैका हकमा बराबर भन्ने पाठ जुन मोदीजीलाई नेपालको प्रधानमन्त्रीले सिकाउन सफल हुनु भएको छ, त्यसको उच्च मूल्यांकन यो वैठकले गर्ने छ ।

र, भ्रमण पछिको न्यानो सम्बन्धलाई दुई देशकै हितमा अघि बढाउनेबारे पनि नेतृत्वलाई हामी उत्साही बनाउने छौं । दुई मुलुकको आपसी हितलाई ध्यानमा दिएर अघि बढ्न हामी प्रेरित भएको मलाई पनि अनुभूति भएको छ ।

नेपालको कूटनीतिक इतिहासमै राजा महेन्द्रको समयमा भन्दा पनि नयाँ आयाम र नयाँ उचाइ लिन सफल यो भ्रमणले दक्षिण एसियामै नेपाल र नेपालका प्रधानमन्त्री ओलीले छवि उचाइमा पुगेको हाम्रो बुझाइ छ ।

यो सम्मानित सञ्चारमाध्यमबाट म के पनि भन्न चाहन्छु भने, युवा संघले वर्तमान ओली नेतृत्वको सरकारलाई हरतरहले सफल बनाउन लाग्ने, युवामैत्री नीति र कार्यक्रम बनाउन सहयोगी भूमिका खेल्ने र युवा स्वरोजगार, युवा स्वावलम्बनका विषयमा पनि केन्द्रित भई कार्यक्रमहरु बनाउनेबारे छलफल गर्ने छ । 

 

...

सोमबार, ३ वैशाख, ०७५

 

प्रतिक्रिया

Related