युवा नेता ढुंगेल र विद्यार्थी नेता महर बने निशा र सुवासका अभिभावक, भर्ना अभियानमा जुटे प्रधानमन्त्रीदेखि मुख्यमन्त्रीसम्म

कुनै बेला भनिन्थ्यो ‘शिक्षाको उज्यालो घामबाट कोही वञ्चित हुनु नपरोस्’, तर आज भएको छ, ‘शिक्षाको तेजिलो रापले डँडाल्नो सेकिनबाट कोही उम्कन नपाओस्’
निर्माण सञ्चार, काठमाडौं । दुई वर्षभित्र निरक्षरता उन्मूलन गर्ने अभियानमा इँटा थप्दै युवा नेता तथा राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुंगेल असहाय विद्यार्थीको अभिभावक बनेका छन् ।

पत्नी सरिता दाहालसँगै बिहान साँढे १० बजे पशुपति मित्रमावि पुगेका युवा नेता ढुंगेल दम्पत्ती ९ वर्षीय असहाय बालक सुवास लामाको अभिभावक बनेका हुन् ।

सिन्धुपाल्चोक स्थायी घर भई अभिभावक नै गुमाएका असहाय बालक लामा बौद्धस्थित कुमारीगाल–७ मा बस्दै आएका छन् ।

त्यस्तै, सोही माविमा पढ्दै गरेकी निशा शेर्पाको अभिभावक बनेका छन् अनेरास्ववियुका महासचिव ऐन महर । झापा बुद्धशान्ति जोरपिप्ले स्थायी घर भई हाल कुमारीगाल बस्दै आएकी शेर्पा पनि टुहुरो बालिका हुन् ।

दुई नेताले असहाय बालबालिकाको अभिभावकत्व ग्रहण गर्दै देशैभर विद्यार्थी भर्ना अभियानले तीव्रता लिएको बताए ।

यस खाले बालबालिकाको अभिभावकत्व ग्रहण गर्न पाउँदा खुसी लागेको बताउँदै युवा नेता ढुंगेलले अभियानलाई सफल बनाउन विद्यालय परिवार सहित अभिभावकहरुलाई पनि आह्वान गरेका छन् ।

नेता ढुंगेलले राष्ट्रिय युवा परिषद् अन्तर्गत देशैभरका विभिन्न जिल्लामा विद्यार्थी भर्ना तथा स्वेच्छिक अभिभावकत्व ग्रहण गर्न गराउन जिल्ला परिषद्का युवाहरुलाई समेत अनुरोध गरेका छन् ।

देशैभर उत्साहजनक भर्नाः प्रमदेखि मुख्यमन्त्रीसम्म

बुधबार मात्रै देशका विभिन्न स्थानमा भर्ना हुने क्रममा असहाय बालबालिकाहरुले ठुल्ठूला ‘लिडर’हरुलाई आफ्नो अभिभावकका रुपमा पाएका छन् ।

सिरहामा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई बालबालिका दिनेशकुमार र कौशिलादेवी मण्डल (खत्वे) को अभिभावकत्व ग्रहण गरी विद्यालय भर्ना गराएका छन् भने रक्षामन्त्री तथा एमाले महासचिव ईश्वर पोखरेल, अर्थमन्त्री डा युवराज खतिडा तथा प्रदेश–३ का मुख्य मन्त्री डोरमणि पौडेल सहितले यही अभियान अन्तर्गत ५ बालबालिकाको अभिभावकत्व ग्रहण गरेका छन् ।

आधारभूत शिक्षाको अवसरबाट कुनै पनि बालबालिका नछुटून् भन्ने उद्देश्य सहित सरकारले नै घोषणा गरेको ‘असहाय बालबालिकाका लागि स्वैच्छिक अभिभावकत्व ग्रहण’ अभियानले वैशाख १ गतेदेखि यता हजार बढी बालबालिकालाई अभिभावकत्व दिलाएको छ ।

दुई वर्षभित्र निरक्षरता उन्मूलन गर्ने उद्देश्य राखेको यस अभियानको आरम्भ प्रधानमन्त्री ओलीले रारा पर्यटन उत्सवको घोषणा क्रममा वैशाख १ गते मुगुबाट गरेका थिए ।

सरकारले आधारभूत शिक्षा निःशुल्क गर्दै पाठयपुस्तक उपलब्ध गराउँदै आएको छ। शुल्क तिर्नुपर्दैन, पाठयपुस्तक किन्नुपर्दैन, तर पनि बालबालिका शिक्षाबाट बञ्चित हुँदै आएको अवस्थाको अन्त्यका लागि सरकारले यस्तो योजना ल्याएको हो ।

शिक्षाबाट वञ्चित गरिब, विपन्न, सीमान्तकृत, लोपोन्मुख समुदायका बालबालिकाको स्वैच्छिक अभिभावकत्व लिन अभियानसँगै सरकारले सबैमा आह्वान पनि गरेको छ।

पशुपति मित्र माविमा भएको उक्त भर्ना अभियानको संयोजन अनेरास्ववियु केन्द्रीय सदस्य सञ्जय दुवाडीले गरेका थिए ।

स्थानीय अभिभावकका रुपमा युवा संघका मानिस लिम्बु, अनेरास्ववियु आर्थिक विभाग सचिव राजकुमार महतारा, सम्पर्क विभागको सचिव सागर भट्ट, काठमाडौ जिल्ला कमिटीका नेता नारायण पाठक, युवा संघकै मनिस योङया र पशुपति क्याम्पसका नेता प्रकाश अधिकारी लगायत अभिभावकहरु उपस्थित थिए ।

विद्यार्थी भर्नालाई बुझ्दै प्रधानाध्यापक विष्णुप्रसाद अधिकारीले विद्यार्थी नेताहरुले नै भर्ना अभियान र अभिभावकत्व ग्रहण गर्दा देशैभर शिक्षा ग्रहण गर्न नयाँ रक्तसञ्चार भएको बताए ।

प्रधानाध्यापक अधिकारीले पञ्चायतकालमा तत्कालीन राजा वीरेन्द्रले ‘शिक्षाको उज्यालो घामबाट कोही वञ्चित हुनु नपरोस्’ भन्ने गरेको सन्दर्भ सम्झँदै आजकाल त्यसको ठिक उल्टो ‘शिक्षाको तेजिलो रापले डँडाल्नो सेकिनबाट कोही उम्कन नपाओस्’ जस्तो भएको गुनासो गरे ।

नभन्दै निजी स्कुलको शिक्षा महँगिएर अकास छोएको छ । महँगो शिक्षा विरुद्ध विद्यार्थी संगठनहरु यतिबेला आन्दोलनमा पनि छन् ।

 

 

 

 

 

...

बुधबार, ५ वैशाख, ०७५

 

प्रतिक्रिया

Related