संघियता कार्यान्वयनसंगै ५० प्रतिशतले घट्यो जुम्ला सदरमुकामको कारोबार !

सदरमुकामको व्यापार खुम्चिदैँ गएपछि सबै व्यापारी/उद्योगी गाउँ केन्द्रित
निर्माण सञ्चार, जुम्ला | देशमा धेरै लामो प्रयासपछि संघयितामा कार्यान्वयन हुन लागेको एक वर्ष पुग्न लागेको छ । अहिले क्रमिक रुपमा विभिन्न कामकाजहरु गाउँ केन्द्रित हुँदै जान थालेका छन् ।

कार्यालयदेखि उद्योगधन्दा, व्यवसायी, व्यापारीहरु तथा उद्योगीहरु गाउँ केन्द्रित हुँदैछन् ।

गत असारको मसान्ततिर नगर तथा गाउँसभा भएर आर्थिक वर्ष २०७४/७५ को नीति, बजेट तथा कार्यक्रम तर्जुमा भयो । त्यसको लगत्तै साउन १ गते नै सरकारले मुलुकभरिका सबै स्थानीय तहमा एक तिहाइ बजेट निकासा दियो ।

सरकारका जिल्ला तथा गाउँसम्म रहेका स्थानीय निकायहरु स्थानीय तहमा परिणत भइसकेपछि सदरमुकाम केन्द्रित सरकारी सेवाहरु पनि विकेन्द्रित भए ।

सरकारका विभिन्न मन्त्रालय र ती अन्तर्गतका क्षेत्र तथा जिल्लामा रहेका स्थानीय निकाय खारेज भई स्थानीय सरकारका एकाइका रुपमा स्थापना हुँदा अहिले जिल्ला सदरमुकाम तथा शहर केन्द्रित सरकारी कर्मचारी गाउँ केन्द्रित भएका छन् ।

यसबाट नागरिकले सिंहदरबारको अधिकार गाउँमा आएको महसुस गरेका छन् ।

कृषि, शिक्षा, स्वास्थ्य, पशु, खानेपानी, महिला, सिँचाइ, घरेलु तथा साना उद्योग र बैंकिङ कारोवारलगायत कार्यालयका सेवा आफ्नै गाउँघर नजिकबाट पाउन थालेपछि नागरिकलाई हिजोको जस्तै जिल्ला सदरमुकाम धाउनु परेको छैन ।

नागरिकता, नापी मालपोतबाहेक अन्य कामका लागि गाउँका जनता घर नजिकको सरकारबाट सेवा लिन थालेका छन् ।

जग्गा खरिद व्यापार, अन्य दैनिक उपभोग्य वस्तुको किनबेच, यातायात सेवा, सेवाका लागि उनीहरुलाई सदरमुकाम धाउनु परेको छैन ।

यहाँका सबै स्थानीय तह आफ्नो गाउँपालिकालाई कसरी आत्मनिर्भर बनाउने भन्ने उद्देश्यमा छन् । त्यसका लागि उनीहरुले स्थानीय तहमा कानून निर्माणमा पनि त्यत्तिकै जोड दिएको पाइन्छ ।

विगतमा व्यापार व्यवसायदेखि नीजि तथा सरकारी सेवा लिन बजारमा केन्द्रित हुने प्रणाली अन्त्य भएपछि अहिले सम्बन्धित तहका जनप्रतिनिधिसहित ग्रामीण जनता सबै आ–आफ्नै पालिका विकासमा लागेका छन् ।

केन्द्रिकृत विकास पद्धतीलाई राज्यले सेवा विकेन्द्रीकरण गर्दा हिजोका जिल्ला सदरमुकाम तथा सेवा सुविधा केन्द्रित क्षेत्रहरुमा आज नागरिक चाप घटेको छ ।

यसभन्दा अघि सदरमुकामका जुनसुकै क्षेत्रमा देखिने भिड आजभोलि कतै देखिदैनन् ।

यसले गर्दा जुम्ला जस्तै नेपालका सबै जिल्ला सदरमुकाम केन्द्रित बजार तथा शहरको दैनिक कारोबार ह्वात्तै घटेको पाइन्छ । त्यसको प्रत्यक्ष असर जुम्लामा धेरै परेको छ ।

जुम्ला सदरमुकाम खलंगामा व्यापार व्यवसाय तथा विभिन्न क्षेत्रको कारोवार प्रक्रिया ओरालो लागेको छ ।

समग्र क्षेत्रको व्यावसायिक कारोबारलाई हेर्दा ७० प्रतिशत घटेको उद्योग वाणिज्य संघ जुम्लाका अध्यक्ष रामदत्त रावलले जानकारी दिए । उनले सदरमुकामको दैनिक कारोवार निराशाजनक अवस्थामा पुगेको बताए ।

‘यसको प्रमुख कारण जुम्ला सदरमुका बिहीन र जनताका अधिकांश काम स्थानीय तहबाटै सम्पन्न हुनु हो’ उनले भने ।

उनले चन्दननाथ नगरपालिका रहेको सदरमुकाम खलंगाको समग्र क्षेत्रको कारोवार वृद्धि र आर्थिक समृद्धिका लागि यही वैशाख १३ देखि २३ गतेसम्म कृषि औद्योगिक पर्यटन महोत्सवको आयोजना गरिएको उल्लेख गरे ।

वैशाख १ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका ‘कर्णाली–रारा पर्यटन वर्ष २०७५’ लाई पनि टेवा पुग्ने उनको भनाई छ ।

क्षेत्रीय होटल संघ (हान) जुम्लाका अध्यक्ष दिलबहादुर महतले लजहरु केही हदसम्म चले पनि रेष्टुरेण्ट, कटेज तथा साना व्यवसायीको ७० प्रतिशत कारोवार घटेको बताए ।

उनले भने ‘स्थानीय निकाय नहुँदा समयमा सबै सेवा र कर्मचारी बजार केन्द्रित थिए ।’ त्यतिबेला व्यापार व्यवसाय अपेक्षाभन्दा राम्रोसँग चल्ने गथ्र्यो ।

स्थानीय सरकार गठनपछि कर्मचारी सबै गाउँ केन्द्रित भए र नागरिकको आवतजावत पनि दैनिक रुपमा घटेपछि बजार सुक्दै गएको अध्यक्ष महतले अवगत गराए ।

पूर्व शिक्षक तथा व्यापारी प्रयागदत्त उपाध्यायले संघीयता कार्यान्वयनले जिल्ला सदरमुकामको व्यापार खुम्चिँदै गएको बताए ।

मुलुकको केन्द्रिकृत व्यवस्था हुञ्जेलसम्म व्यापारीले आफ्नो व्यवसायमा एकाधिकार जमाए पनि अहिले व्यापार गर्नेहरुलाई १० प्रतिशत लिन मुस्किल परेको उनको बुझाई छ ।

उनका अनुसार सबैले आ–आफ्नै पालिकामा जग्गा कारोवारदेखि व्यापार व्यवसाय शुरु गर्न थालेका छन् ।

जिल्ला मालपोत कार्यालयका निमित्त मालपोत अधिकृत रामलाल प्याकुरेलले सदरमुकाम जुम्ला खलंगामा बैंकिङ कारोवार बढे पनि जग्गा कारोबार फाट्टफुट्ट भएको बताए ।

सदरमुकामको तुलनामा गाउँको जग्गा कारोवारमा वृद्धि भएका छ ।

उनले भने ‘अब आ–आफ्नो नगर तथा गाउँपालिकाको विकास निर्माण गरी आत्मनिर्भर हुने होड चलेकाले सदरमुकाम केन्द्रित उद्योगधन्दा तथा व्यापार व्यवसाय विस्थापित हुने क्रम बढेको छ ।

संघिय सरकार कार्यान्वय भएको एक वर्ष वित्न नपाउदै जुम्ला सदरमुकामको व्यापार खुम्चीदै गएपछि सबै व्यापारी उद्योगी गाउँ केन्द्रित हुन थालेका छन् ।

कर्णाली प्रदेशका निर्माण संवाददाता सागर परियार

...

बिहिबार, ६ वैशाख २०७४ 

प्रतिक्रिया

Related