विश्व विख्यात ‘स्टाइनर वाल्डुफ’ शिक्षाः अब नेपालमा

बालबालिका जसरी बढ्दै जान्छन् त्यसरी नै सिकाइन्छ सीप र ज्ञान, कसरी ? हेरौं शब्दचित्रमा
निर्माण सञ्चार, शिक्षा । वर्तमान युग दिन पर दिन चनौतीपूर्ण र प्रतिस्पर्धी बन्दै गएको छ । चाहे शिक्षाको क्षेत्रमा होस वा रोजगारीको वा अन्य, हरेक क्षेत्रमा व्यक्तिले आफ्नो पहिचान र स्तरीयताको प्रदर्शन गर्न सक्ने हुनु पर्दछ ।

यसको निमिक्त व्यक्तिले विविध ज्ञानहरु आर्जन गरेर मात्र पुग्दैन, आफ्नो अभिक्षमतालाई बुझ्ने र आफूमा लुकेर बसेको सृजनशिलतालाई पहिचान गरि ठीक समयमा ठीक तरीकाले परिचालन गर्न जान्नु पर्दछ ।

यसको लागि निश्चय पनि सवै भन्दा महत्वपूर्ण आधार गुणस्तरीय शिक्षा नै हो । साथै यो गतिशिल विश्व धरातलमा हामीले आज दिएको ज्ञान भोलि सान्दर्भिक नहुन सक्छ । आज पढेको कुरा भोलि बिर्सन पनि सकिन्छ ।

कहिले काही आज सिकेको कुरा भोलि काम नलाग्ने पनि हुन सक्छ ।

त्यसैले हामीले विद्यार्थीहरुको आन्तरिक क्षमतालाई बाहिर ल्याई सिर्जनशिलताको विकास गराउन सकेमात्र उनिहरु भोलि जहां गएर पनि खुशीसाथ जिउन सक्दछन् ।

भनिन्छ, जग बलियो भयो भने घर बलियो हुन्छ । कुनै पनि व्यक्तिको जग भनेको उसको वाल्यवस्थालाई नै मानिन्छ ।

 

बालबालिकालाई कसरी हुर्काउने, कसरी सिकाउने ?

बाल्यवस्थामा उसको व्यक्तित्व तथा चरित्र निर्माणमा परिवारको त्यसमा पनि विशेष गरेर आमाबाबुको भूमिका ज्यादै नै महत्वपूर्ण हुने भएकाले उनीहरुले बालबालिकाहरुको उमेर अनुसारको व्यवहार र चरित्रलाई बुझ्न सक्नु पर्दछ ।

कुन समयमा के गर्न हुन्छ र के के गर्न हुदैन भन्ने सम्वन्धमा ज्ञाता हुनुपर्दछ ।

जस्तो केटाकेटीहरु करीब डेड दुई वर्षमा आफै हिड्न, खान र खेल्न खोज्दछन् तर त्यो कुरा उनीहरु भन्न सक्दैनन् तर झगडा गरेर प्रतिकार गर्दछन् ।

उनीहरु आफै खान खोज्दछन् तर आमाबाबुहरुले भने पोख्दछ भनेर उसलाई आफैले खुवाउन खोज्दछन् । आफै खान नपाएर केटाकेटीहरु नखाने र झगडा गर्ने गर्दछन् जसले उनीहरुमा आमाबाबुप्रतिको नकारात्मक धारणाको विकास हुने गर्दछ ।

जब केटाकेटीहरु विद्यालय जान थाल्दछन्, त्यसबेला आमाबाबुहरुले आफ्ना् दायित्व कम भएको ठान्नु हुदैन । किनभने केटाकेटीहरु विद्यालय जान थालेता पनि करिव ६ घण्टा विद्यालयमा बिताउदछन भने बांकी १८ घण्टा त घरमै बिताउदछन् ।

केटाकेटीहरु ७ वर्ष नपुगुन्जेल आमा बाबु तथा शिक्षक शिक्षिकाहरुले गर्ने हरेक कृयाकलापहरुको नक्कल गरेर खेलको माध्यमबाट सिक्ने भएकाले उपयुक्त घरयासी वातावरण, उपयुक्त विद्यालय वातावरण तथा उपयुक्त सिकाई विधि तथा सामाग्रीहरुको महत्वपूर्ण भूमिका हुने गर्दछ ।

उसको बंशानुगत गुण र यी तीन पक्षको अन्तरकृयाद्वारा नै कुनै पनि केटाकेटीहरुको व्यक्तित्व निर्माण हुने गर्दछ ।

उनीहरुले प्रत्येक कुरा नक्कल गरेर खेलको माध्यमबाट सिक्ने हुदा तिनीहरुलाई कस्तो कस्तो खेल खेल्न दिईन्छ त्यसले पनि व्यक्तित्व विकासमा ठूला असर पार्दछ ।

त्यतिमात्र हैन एउटा अवोध बालक जुन, तारा, घाम, बत्ती र चम्चा जस्ता हरेक बस्तुहरुसंग खेल्दछ र तिनीहरुलाई प्राप्त गर्न खोज्दछ ।

त्यस मध्ये केही प्राप्त गर्न सक्दछ र केही सक्दैन ।

यसरी उसले धैर्यता, संयम र अन्य वास्तविकताका बारेमा सिक्दै जान्छ जुन कुराको अनुभव प्रत्येक व्यक्तिमा हुन जरुरी छ ।

त्यसैले उसको वरिपरिको वातावरण, उसले खेल्ने खेलौनाहरु, उसले पढ्ने किताव, ऊ बस्ने कोठा तथा लगाउने लुगाको रंग, उसले सुन्ने आवाज, उसले गाउने गीतहरु भनेका नै उसको व्यक्तित्व विकासका आधारहरु हुन ।

त्यसैले व्यक्तित्व विकासका क्रममा शिक्षक तथा अभिभावक दुबैको भूमिका ज्यादै नै महत्वपूर्ण हुन्छ । आज हाम्रो देशमा पनि शिक्षा क्षेत्रमा थुप्रै लगानी भएका छन् ।

 

विद्यालय खोज्न होडबाजी हैन, सिकाउन गरौं होड

नयाँ नयाँ  विद्यालयहरु खोल्ने र अभिभावकहरु पनि सकेसम्म महगो र राम्रो विद्यालयमा पढाउने होडबाजी चलेको छ ।

यसको मुख्य कारण के हो भने अभिभावकहरु आफ्ना छोराछोरीहरुले सबै भन्दा राम्रो शिक्षा पाउन सकुन् भन्ने अपेक्षा राख्दछन् ।

तर राम्रो शिक्षा भनेको केहो र यसले केटाकेटीहरुको शारिरिक, मानसिक, सामाजिक तथा संवेगात्मक पक्षमा कस्तो परिवर्तन ल्याउदछ र ती परिवर्तनले भोलि कस्तो किसिमको सामाजिक संरचनाको विकास गर्दछ भन्ने कुरामा ध्यान दिनु अति नै जरुरी छ ।

मनावैज्ञानिक पक्षलाई ध्यान नदिई भौतिक सुविधा र पाठ्यक्रममात्र बढाउने आजको अस्वस्थ प्रतिस्पर्धाले राम्रा बिद्यालयमा अध्ययन गरेका विद्यार्थीहरुमा पनि थुप्रै किसिमका मनोबैज्ञानिक समस्याहरु देखा पर्न सक्दछन् जस्तो आत्मबलको कमी, सामान्य अवस्थामा पनि हडवडाउने, परिवार प्रतिको गलत धारणा, परिवार तथा समुहमा मिलेर बस्न नसक्ने आदि ।

समाज तथा आफ्नो संस्कृति प्रति नकरात्मक धारणा राख्ने प्रवृतिको त आजकाल अधिकतम विकास भएको पाईएको छ ।

यस किसिमका व्यवहारहरु निश्चय पनि हाम्रो शैक्षिक भविष्यका राम्रा लक्षणहरु होइनन् ।

साथै नेपाली आमावावुहरु ऋणपान गरेर भएपनि छोराछोरीका शिक्षामा खर्च गर्दछन् तर कथंकदाचित भोली आफ्ना सन्तान पढेलेखेर पनि बुढेसकालका सहारा बन्न सकेनन भने, संगोलमा मिलेर वस्न सकेनन् भने, समय परिस्थिति अनुसार चल्न सकेनन भने वा आफूले अध्ययन गरेको क्षेत्रमा रोजगारी वा स्वरोजगारी प्राप्त गर्न सकेनन् भने त्यस्तो शिक्षालाई गुणस्तरिय शिक्षा भन्न मिल्दैन ।

के हो स्टेइनर शिक्षा ?

विश्वविख्यात दार्शनिक, मनावैज्ञानिक तथा शिक्षाविद् डा रुडुफ वाल्डुफ स्टेइनरको दर्शन आजको २१ औ शताब्दीको परिवर्तित विश्वको परिप्रेक्षमा अति नै सान्दर्भिक र व्यवहारिक छ ।

उनको जन्म सन १८६४ मा अस्टियामा भएको थियो भने १९२५ मा उहाको निधन भएको थियो । सिर्जनशीलता तथा मानवता तर्फ उन्मुख स्टेइनर शिक्षा विश्वव्यापीरुपमा सबैभन्दा छिटो छिटो बृद्धि भईरहेको शैक्षिक अभियान पनि हो ।

हाल यो शैक्षिक अभियानको सञ्जाल नेपाल सहित ७० देशमा फैलिएको छ । नेपालमा पनि अहिले स्टाइनर एकेडेमी, सेन्ट पल इन्टरनेशनल स्कुल र गोल्डनगेट इन्टरनेसनल कलेजको सहकार्यमा पूर्वप्राथमिकदेखि प्राथमिक, माध्यामिक र उच्च माध्यामिक तहसम्म यो शिक्षालाई थप महत्वका साथ कार्यान्वयन गर्ने सहमति गरेका छन् ।

यसका साथै काठमाडौ, भक्तपुर र पोखरामा पनि यो शिक्षा पूर्व प्राथमिक तहमा सुरु भैसकेको छ । वास्तवमा रुख जति जति ढिलो बढ्छ उसमा त्यति त्यति अग्राख पलाउदै जान्छ ।

यो कुरा मान्छेमा पनि लागू हुन्छ । प्रत्येक केटाकेटीहरु झुसिलेकिरा जस्तै हुन जो पछि एक सुन्दर पुतलीमा परिणत हन्छन् ।

हामी यसलाई समातेर पखेटा बाहिर निकाल्न सक्दैनौ तर उसलाई कोकन बुनेर त्यस भित्र पूरा समय बस्न दिएपछि मात्र उ सुन्दर पुतली बनेर खुल्ला आकासमा उड्न सक्दछ ।

केटाकेटीहरुको पढाई पनि त्यस्तै हो ।

यदि हामीले बाल विकासको नियमलाई पालना गर्न सक्यौ उनिहरुलाई बाल्यवस्थाको भरपुर अनुभव गर्न दिएमा भने मात्र उनीहरु पनि कोकनबाट निस्केर एक स्वतन्त्र व्यक्तिका रुपमा आफ्ना पखेटा फैलाउदै आधुनिक युगको चुनौतिको सामना गर्न सक्दछन् ।

यो नै स्टेइनर शिक्षाको मूल मन्त्र हो ।

यो शिक्षाको अर्को मान्यता भनेको शिक्षक शिक्षिकाहरु विद्यार्थीहरुसंग लामो समय सम्म संलग्न हुनु पर्दछ भन्ने हो जसले एकातिर विद्यार्थिहरुकाबारेमा धेरै जानकारी हुन्छ भने अर्कातिर शिक्षक र अभिभावकहरु बिचको सम्वन्ध पनि सुमधुर हुनजान्छ ।

साथै यसले शिक्षकहरुलाई खास विद्यार्थीलाई खास तरीकाले सिकाउन र कक्षाकोठा भित्र एक सुमधुर वातावरणको विकास गर्न सघाउ पुयाउदछ ।

स्टेइनर का अनुसार जब एउटा सानो बालक यो धर्तिमा आउ“दछ, उसले यहा“ एउटा स्वर्गको र सुन्दर संसारको आशा बोकेका हुन्छ ।

उसले यहां मूख्यत तीन कुराको आशा गरेको हुन्छ । यो धर्ती र यहांको जीवन असल हुन्छ, यो अति नै सुन्दर हुन्छ र यो अति नै सत्य पनि हुन्छ ।

तर दुर्भाग्यबस जब उनीहरुले सोचे जस्तो हुदैन तव उनीहरु अति निरास हुन पुग्छन् । उनीहरुले सोचेजस्तै असल, सुन्दर र सत्य सन्सार उनिहरुलाई दिने दायित्व हामी शिक्षक र अभिभावकहरुको हो ।

स्टेईनरका अनुसार पहिला सात बर्ष सम्म उनीहरुलाई असलको धेरै महत्व हुन्छ ।

उनीहरु हामीलाई हेर्दछन् उनिहरुको वरिपरिको सुन्दर र सृजनशील विश्वलाई हेर्दछन् र उनीहरुको हृदयमा यो असलको अनुभव गर्दछन् । सात वर्ष र चौध बर्षका बीचमा उनीहरु आफुभित्रै सुन्दरताको खोजी गर्दछन् ।

चित्र कोर्ने, गाउने, कविता भन्ने र यो सुन्दरताको आनन्द लिने गर्दछन् ।

 

उमेरसँगै शारीरिक विकास र मानसिक विकाससँगै शिक्षा सिकाइ

चौध र एक्काईस बर्षका बीचमा उनीहरु सत्यको खोजीमा हुन्छन् । उनीहरु यो विश्वलाई त्यही सत्यको सिद्धान्त तथा विचारबाट हेरिरहेका हुन्छन् ।

जब उनीहरु २१ बर्षमा प्रबेश गर्दछन् तव उनीहरु परिपक्वताको अवस्थामा आउदछन् जहा उनिहरुलाई अरुकालागि त्यही अशल, सुन्दरता र सत्यको सृजना गर्ने चुनौति हुन्छ ।

जब उनीहरु आफैले त्यो कुराको अनुभव गर्न पाउंदछन् तव मात्र उनिहरुलाई अरुका लागि काम गर्न सजिलो हुन्छ ।

स्टेइनर शिक्षामा सुरुका सात बर्षमा केटाकेटीहरुले नक्कल गरेर सिक्ने हुदां उनिहरुलाई पढ्ने लेख्ने भन्दा पनि घर तथा बगैचामा आधारित कृयाकलापहरुमा केन्द्रित गर्नुपर्ने हुन्छ जसमा पकाउने, खाने, सफाई गर्ने, बगैंचामा विरुवाहरु रोप्ने पानी हाल्ने तथा गोडमेल गर्ने, गाउने, नाच्ने, कथा सुन्ने, चित्रकोर्ने जस्ता कुरामा बढि जोड दिईन्छ ।

७ वर्ष देखि १४ बर्ष सम्ममा उनिहरु कल्पना गर्ने, आफुभित्रै हराउने र भावनाले सिक्ने गर्दछन् । यो उमेरमा उनीहरुको हृदय खुल्ला हुन्छ ।

उनीहरु यो सन्सारलाई भाषा, कला र साहित्यका माध्यमबाट सिक्न रुचाउदछन् । उनीहरुलाई कथा, हस्तकला, चित्रकला, नाटक, गीतका माध्यमबाट सिकाउनु पर्ने हुन्छ ।

साथै भाषा, कला र साहित्यको माध्यमबाट सिकाईलाई अति नै प्राकृतिक र जिवित बनाउन सकिन्छ ।

जब उनीहरु १४ बर्ष पूरा गर्दछन् तव उनीहरुको दिमाग बढी सकृय हुन्छ र उनीहरु सोच्ने र विश्लेशण गर्ने कार्यबाट सिक्ने गर्दछन् यो बेलामा उनीहरुलाई शैक्षिक विषयहरुमा बढि केन्द्रित गरी सिकाउनु पर्ने हुन्छ ।

यसबेला उनीहरु भावनामा बग्ने भन्दा आफ्नो धारणालाई श्यामश्वेत रुपमा प्रकट गर्न चाहन्छन् । जव उनीहरु १५ देखि १९ बर्षका बीचमा पुग्दछन् तव उनीहरुमा छुट्टै सोचको विकास हुन्छ ।

उनीहरुमा म को हु म के गरिरहेको छु र म यो सन्सारलाई के दिन सक्छु जस्ता कुराहरुलाई सोच्न थाल्दछन ।

यो वेला उनिहरु वाबुआमाले सानामा भनेका कथाहरु तथा अर्तिउपदेशहरु, शिक्षकहरुले किन्डरगार्टेनमा भनेका र सिकाएका कुराहरु सम्झन्छन् र जीवनप्रतिको आफ्नै खाले धारणाको विकास गर्दछन् अनि उनीहरु अगाडि सिकेका ज्ञान तथा सिपहरुको अनुभव गर्न थाल्दछन् ।

जब उनीहरु २१ बर्ष पूरा गर्दछन् तव उनिहरु परिपक्वताको अवस्थामा पुग्दछन् । उनीहरु आफ्नो विगतको सिकाई तथा अनुभवका माध्यमबाट सिक्न थाल्दछन् ।

यी माथिका तथ्यहरुलाई राम्ररी बुझेर पढाउन सकेमा मात्र उनीहरुलाई सही शिक्षा दिन सकिन्छ भन्ने स्टेइनरको मान्यता हो ।

त्यसैले यो शिक्षाले अभिभावक तथा शिक्षकहरुलाई सिकाईका मनोवैज्ञानिक पक्षहरुका वारेमा जानकारी गराई उपयुक्त वातावरणको सृजना गर्न सघाउ पुयाउने छ ।

आफ्ना छोराछोरीहरुलाई कसरी एक असल नागरिक बनाउन सकिन्छ भन्ने वारेमा आमावावुहरु पनि जानिफकार हुनुपर्दछ भन्ने यस शिक्षा को अर्को मान्यता हो ।

यस अभियानमा तपाईहरु सबैले पूर्ण सहयोग गर्नुहुनेछ भन्नेमा हामी विश्वस्त छौं ।

अन्तमा,

तपाई हामी सबैको चाहना भनेको हाम्रा केटाकेटीहरु अशल मान्छे बनुन् जसले अरुहरुको भलाईको काम गर्न सकुन, राम्रो सोचकर्ता बनुन जसले विद्यमान समस्याहरुको दीगो समामाधान गर्न सकुन र आफ्नो ज्ञान र सीपलाई व्यवहारमा उतार्न सक्ने पूर्ण मानव बनुन भन्ने नै भएकाले यस तर्फ सबै सम्वन्धित पक्ष सचेत र जिम्बेवार बन्नु जरुरी छ ।

 

 

...

मंगलबार, ११ वैशाख, ०७५

 

प्रतिक्रिया

Related